राजनीति


ओली र मोदीको बैंकक भेट न्युयोर्कको भन्दा आत्मीय, न्यानोपनामा लैजाने आधार दियो- नीलाम्बर आचार्य

ओली र मोदीको बैंकक भेट न्युयोर्कको भन्दा आत्मीय, न्यानोपनामा लैजाने आधार दियो- नीलाम्बर आचार्य

निलाम्बर आचार्य


नेपालखबर
चैत २२, २०८१ शुक्रबार १८:०, काठमाडौँ

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले थाइल्यान्डको बैंककमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटले सम्बन्धको नयाँ बाटो खुला भएको बताएका छन्। 

दुई प्रधानमन्त्रीको भेटपछि नेपालखबरसँग कुरा गर्दै आचार्यले चिसोपनाका संकेत हटेर न्यानोपनाको बाटोमा लैजाने आधार दिएको बताएका हुन्। 

'हेर्दाखेरी दुई प्रधानमन्त्रीबीच राम्रै समय भेट भयो भन्ने छ। यसले धेरै अगाडिका निम्ति राम्रो बाटो खुलेको भन्ने लाग्छ,' उनले भने, 'चिसोपनाका संकेतहरू थिए। यस भेटघाटले न्यानोपनको बाटोमा लैजाने आधार दिएको छ।'

यसअघि गत असोजमा न्युयोर्कमा भएको भेटभन्दा आजको बैंककको भेट आत्मीय देखिएको आचार्यको बुझाइ छ। 
 

'आज उहाँहरूबीच भेटघाट भयो, विभिन्न विषयमा कुराकानी भयो,' उनले थपे, 'असोजमा न्युयोर्कमा भएको भेटभन्दा यो आत्मीय देखियो।'

ओली र मोदीको सामाजिक सञ्जालको पोस्टले र उनीहरूबीच देखिएको सहजताका हिसाबले पनि भेट आत्मीय देखिएको उनको भनाइ छ। 

‘ओली नेतृत्वको सरकारसँग भारतीय नेतृत्वमा असन्तोष देखिँदै आएको छ?’ भन्ने प्रश्नमा उनले भने, 'हाम्रो राजनीतिक प्रणाली हाम्रो हो। त्यसमा भारतले असन्तोष जनाउँदा केही हुँदैन।'

त्यस्तै हालै नेपालमा भएको राजावादीको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरले पनि तरंग पैदा भएको छ। भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले दिल्लीबाट लखनउ पुगेर केही दिनअघि मुख्यमन्त्री आदित्यनाथसँग भेटघाटसमेत गरेका छन्। 

यसको अर्थ र असर के हुन सक्छ त? 

आचार्य भन्छन्, 'अहिले जसरी सडकमा व्यवस्थाविरुद्ध आवाज उठेको छ, यसमा भारतको साथ छ भन्ने म पत्याउँदिन। डेमोक्रेसीमा भारतले जनतालाई नै साथ दिन्छ, दिएको छ।'

उनले केही विषयमा चिसोपना भए पनि नेपाल-भारत साझेदार राष्ट्र भएकाले प्रश्न उठे समाधान गर्दै जानुपर्ने बताए। 

'अरू केही विषयका सम्बन्धमा चिसोपना होला, दुई देशबीच धेरै विषयमा सहयोग बढेका छन्। त्यसलाई हेर्नुपर्छ। हाम्रो विकासमा साझेदार हो भारत,' उनले थप भने, 'केही प्रश्न छन्, समाधान हुँदै जानुपर्छ। ईपीजी (नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह) प्रतिवेदन पनि समाधान हुँदै जान्छ। यो मात्रै सम्बन्ध होइन नि।'

त्यस्तै उनले दुई देशबीच देखिएको तिक्तता एकै भेटले नटुंगिने र भेटको वातावरण बनिरहनुपर्ने पनि बताए। 

'दुई देशबीच गहन सम्बन्ध छ, नजिकका मित्र हुन्। यस्तो भेट र छलफल निरन्तर हुनुपर्छ,' उनले भने, 'एउटा भेटघाटले सबै कुरा टुंगिँदैन। भेट भइरहनुपर्छ। सम्भावना खोज्नुपर्छ।'

के मोदी सगरमाथा संवादमा आउन सक्लान् त?

उनले भने, 'सगरमाथा संवादबारे निम्तो त गएकै छ। भेटघाटमा पनि निम्तो गर्नुभएकै छ। निम्तो गर्नु एउटा कुरा हो, उहाँ आउन सक्ने नसक्ने अर्को कुरा भयो।' 

बैंककमा मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा दुवै देशका शीर्ष नेताबीच बिहीबार भेट भएको हो।

बिमस्टेक शिखर सम्मेलनमा गएका उनीहरूबीच करिब ४५ मिनेट एक्लाएक्लै वार्ता भएको छ। 

यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad