झापा जिल्ला समितिबाट निलम्बनको लागि सिफारिस भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन्।
सभापति खरेलविरुद्ध झापा जिल्ला समितिले नैतिक चरित्र र आर्थिक अनियमितको प्रश्न उठाएर केन्द्रमा निलम्बनको लागि सिफारिस गरेपछि उनले सभापति पदबाट राजीनामा दिए।
झापा जिल्ला पुगेकी रास्वपाका केन्द्रीय सदस्य निशा डाँगी मार्फत केन्द्रीय समितिलाई राजीनामा पठाएका हुन्। डाँगी मङ्गलवार झापामा थिइन्।
खरेललाई पार्टीभित्र नैतिक तथा आर्थिक हिनामिना गरेको आरोप लगाएर उजुरी परेको थियो। उजुरीका आधारमा केन्द्रीय अनुशासन आयोगले खरेलमाथि अनुसन्धान गरिरहेको जनाएको छ। खरेलले आफूमाथि आरोप लागेपछि केन्द्रीय समितिमा राजीनामा पठाएको डाँगीले बताइन्। राजीनामा पठाएको भए पनि उक्त राजीनामा केन्द्रीय समितिले स्वीकृत गरी नसकेको डाँगी बताउँछिन्।
आर्थिक र चारित्रिक विषयमा गम्भीर कुरा उठाएर तत्काल हटाउन माग गर्दै कोसी प्रदेश हुँदै केन्द्रीय कार्यालयमा पत्र पुगेको थियो। रास्वपा झापा जिल्लाका संस्थापक सभापति रहेका खरेलले २०७९ सालमा पार्टी स्थापना गरेका थिए।
एमाले र राप्रपाका केन्द्रीय अध्यक्ष तथा कांग्रेस महामन्त्री रहेको झापामा उनले रास्वपाको जरा गाड्ने काम गरेका थिए। उनको राजीनामासँगै झापामा रास्वपा धर्मराएको रास्वपाकै एक नेताले बताए।
‘रास्वपालाई झापामा स्थापित गराउने काम उहाँले गर्नु भएको थियो,’ ती नेताले भने, ‘जिल्लाकै साथीहरूले उहाँले गरेको कामको मूल्याङ्कन गर्न सक्नु भएन, अब रास्वपाले झापामा गति लिन सक्दैन।’
२०७९ असारमा पार्टी स्थापनासँगै खरेल सभापति चयन भएका थिए। पार्टी स्थापना भएसँगै पार्टीलाई स्वरूप दिनको लागि दिनरात लागेको खरेलले बताउने गरेका छन्। गत २०८१ पुस ७ गते रास्वपाको झापा जिल्ला भेलाको हल व्यवस्थापनको जिम्मेवारीमा रहेको बेला आर्थिक अपचलन गरेको आरोप उनीमाथि लगाइयो।
२०७९ सालको निर्वाचनमा सांसदहरूबाट उठाएको १ लाख ८० हजारको हिसाब सार्वजनिक नगरेको आरोप पनि उनीमाथि लगाएर निलम्बनको माग झापा जिल्ला समितिले गरेको थियो। उनी माथि नैतिक चरित्रको प्रश्न समेत उठाएर पार्टीमा उजुरी दिएपछि उनले पार्टी छाडेका हुन्।
पार्टी छाड्दै नेता
रास्वपा भित्र विभिन्न आरोपहरू लागेर नेताहरू कारबाही पर्ने क्रम बढ्दै छ। झापामा जिल्ला सभापतिले त राजीनामा नै दिई सकेका छन्। यसअघि तत्कालीन रास्वपाका महामन्त्री मुकुल ढकालको पक्षमा बोलेको भन्दै प्रदेश सभापति राजेश तिम्सिनालाई पार्टीले निलम्बन गरेको छ। पार्टीले प्रदेशमा कति जनालाई कारबाही गरेको हो भन्ने बारेमा समेत जानकारी दिन रास्वपाका कोसी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङ डराउँछन्।
उनले भने, ‘पार्टीमा ३ जना कारबाहीमा परेका छन्, एक जनाले राजीनामा दिएका छन्, एक जना निलम्बनमा रहेको र एक जना निलम्बनको तयारीमा रहेका छन्।’ कारबाहीमा पर्ने को को हुन् भनी नेपालखबरले सोधेको प्रश्नमा उनले भने, ‘तपाईँलाई म यो बारेमा जानकारी दिन सक्दिन, पार्टी भित्रको कुरालाई मैले केही राख्न सक्दिन।’
आफ्नो अभिव्यक्ति राखेकै आधारमा कारबाही हुने, कारबाही गर्दा तथ्य नबुझ्ने लगायतको काम भएको समेत आरोप पार्टीलाई लगाउने गरिएको छ।
‘रास्वपाका तत्कालीन प्रदेश प्रवक्ता कमलबाबु मैनाली पार्टीबाट निष्क्रिय भइसकेका छन्,’ रास्वपाका एक नेताले भने,‘राजेशजी जस्तो सक्रिय नेतालाई पार्टी सुदृढ गर्ने विषयमा आफ्ना भनाइहरू सार्वजनिक गर्दा कारबाहीको डन्डा चलाइयो, उहाँ निलम्बनमा हुनुहुन्छ, उहाँ पनि पार्टीमा फर्किने सम्भावना छैन।’
त्यस्तै मोरङ जिल्ला सभापति यादव प्रधानले पनि पार्टी छाडि सकेका छन्। गत भदौमा नै राजीनामा दिएको भए पनि झन्डै ३ महिनासम्म पार्टी भित्रैबाट फर्काउन लागेका थिए।
‘पार्टी सरकारमा थियो चित्त नबुझेपछि छाडिदिएको थिएँ,’ उनले भने, ‘पार्टी भित्र गुट भएको महसुस भयो मलाई चित बुझेन म बाहिर निस्किएँ, पछि मात्रै राजीनामा स्वीकृत भयो।’
यी सबै घटनाक्रमले रास्वपाभित्र पहिलो चरणमा पार्टी निर्माण गर्न आएका सभापतिहरू धमाधम कारबाही पर्ने वा छाड्ने क्रम बढेको स्पष्ट देखिन्छ।
सम्बन्धित खबर:
-
रास्वपा झापामा विद्रोह: सभापति खरेललाई कारबाही सिफारिस, आर्थिक र नैतिक चरित्रमा प्रश्न
-
रास्वपा सभापति खरेलमाथि आरोप- होटेलसँग मिलेर कमिसन, नेतृलाई ‘गल्फ्रेन्ड’ बन्न दबाब
Shares

प्रतिक्रिया