कोशी


ताप्लेजुङ घटनामा प्रदेश सरकारको जवाफ : प्रहरीमाथि आक्रमण हुन थालेपछि हवाइ फायर

ताप्लेजुङ घटनामा प्रदेश सरकारको जवाफ : प्रहरीमाथि आक्रमण हुन थालेपछि हवाइ फायर

नेपालखबर
माघ १३, २०८१ आइतबार १५:४३, विराटनगर

कोसी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङमा केबुलकार निर्माण पक्ष र सङ्घर्षरत पक्षलाई समस्या समाधानको लागि वार्तामा आउन आग्रह गरेका छन्।

पाथीभरा क्षेत्रमा घटेको घटनालाई लिएर सबै पक्षलाई शान्तिपूर्ण रूपमा वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न उनले आग्रह गरे। कोसी प्रदेश सभामा सांसदहरूले ताप्लेजुङको पाथीभरामा भएको घटनाको बारेमा सरकारको जवाफ माग गरेपछि उनले फुङलिङ नगरपालिकामा हिजो साँझ ५ बजेर ५० मिनेटमा प्रहरीमाथि साङ्घातिक आक्रमण भएपछि प्रहरीले आफ्नो प्रतिरक्षा गर्दा हवाई फायर गर्नु परेको सदनलाई जानकारी दिए।

घटनामा तेह्रथुमका ज्ञानबहादुर लिम्बु, सगुन लावती मध्ये एक जनालाई तिघ्रा र अर्को एक जनालाई कुममा गोली लागेर घाइते भएको जानकारी दिए। अर्का एक जना मङ्गल लावती भाग दौडमा घाइते भएको र प्रहरीतर्फ २१ जना घाइते भएकोमा प्रहरी निरीक्षक रोहित शर्मा गम्भीर घाइते भएको बताए। उनले ७ जना अहिले पनि अस्पतालमा रहेको सदनलाई जानकारी गराए।  

केबुलकार बन्न हुँदैन भन्ने सङ्घर्षरत घाइते मध्ये ३ जनालाई विराटनगर ल्याइएकोमा विराटनगरबाट काठमाडौँ पठाइएको जानकारी दिए।

‘कोसी प्रदेश सरकार यस विषयमा गम्भीर भएको छ’, उनले भने, ‘घटनाको विषयमा प्रदेश सरकार वार्ताको लागि तयार छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना संयोजक, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री सदस्य रहेको वार्ता समिति बनाइएको छ ।’

सुरुमा प्रहरीले आन्दोलनको नाममा धेरै मानिस जम्मा हुने, प्रहरीसँग भिडन्त गर्ने भन्ने बारेमा प्रहरी प्रशासनलाई जानकारी आएपछि त्यहाँ बाक्लो प्रहरी परिचालन गरिएको बताए। हातहतियार राखिएको, धेरै लाठी, खुकुरी र गुलेली प्रहरीले बरामद गरेका थिए।  

साँझ प्रहरीले खाना खाइरहेको अवस्थामा प्रहरीमाथि माथिबाट ढुङ्गा बर्साइएको सदनमा मन्त्रीको जवाफ थियो। अत्मसुरक्षाकोलागि प्रहरीतर्फ ठूलो क्षति हुने अवस्था आएपछि अश्रुग्यास, हवाई फायर गर्नु परेको दाबी गरे।

प्रहरी माथि साङ्घातिक हमलाको अवस्था सिर्जना भएपछि प्रतिरक्षा भएको सरकारको दाबी छ। त्यहाँ सशस्त्र र नेपाल प्रहरीका गरी ९० जना काफ्लेपाटीमा थिए।

‘पाथीभरामा केबुलकार बन्ने र नबनाउने भन्ने बारेको फरक मत छ’, उनले भने, ‘त्यहाँ द्वन्द्व, झगडा नहोस् भन्नकोलागि हामी लागेका छौँ, भोलीका दिनमा त्यस्ता गतिविधि नगर्न आन्दोलनरत सबै पक्षलाई आव्हान गर्दछौँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad