कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरणले नेपालको शक्ति सन्तुलन नै फेरिएको दाबी गरेका छन्।
शनिबार प्रेस चौतारी नेपाल मोरङको नवाैँ अधिवेशनलाई सम्बोधन गर्दै उनले अघिल्लो वर्षभन्दा यो वर्ष २० प्रतिशत राजस्व वृद्धि हुनुको मुख्य कारण सत्ता समीकरण नै भएको दाबी गरे। केन्द्रमा मात्र नभई प्रदेशमा पनि आन्तरिक आय २५ प्रतिशत बढेको उनले बताए।
चालु हिउँदे अधिवेशनबाट कोसी प्रदेश सरकारले अहिलेसम्मकै ऐतिहासिक ऐन पारित गर्ने दाबी मुख्यमन्त्री कार्कीले गरेका छन्।
उनले २ दर्जनभन्दा बढी ऐन आउने र यो वर्ष सञ्चार प्रतिष्ठान ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाए।
अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था भएको जिकिर गर्दै उनले यसलाई गलत रूपमा व्याख्या गरिएको टिप्पणी गरे।
मुख्यमन्त्री कार्कीले अध्यादेशबाट सरकारले काम-कारबाही गर्नु असंवैधानिक नभएको दाबी गरे।
अध्यादेश पनि संवैधानिक व्यवस्थाअनुसार नै ल्याइएको र यसले सरकारलाई काम-कारबाही गर्न सजिलो पार्ने उनले बताए।
`अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत दिन गरिएको काम हो, यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन, मुख्यमन्त्री कार्कीले भने, अध्यादेशले निरंकुशता हुन्छ भन्नु गलत हो। यो आरोप मात्र हो।´
नेकपा एमाले मोरङ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य जीवन घिमिरेले पत्रकारिताको अवस्था र रूप परिवर्तन भएको बताए।
`अब एआईको जमाना आएको छ, उनले भने, समयको यो रूप र गतिलाई आत्मसात् गर्दै अघि बढ्न पत्रकारले सक्नुपर्छ।´
Shares

प्रतिक्रिया