कञ्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ।
गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार साँझ डिउटीमै रहेका बेला आफूले बोकेको एसएलआर राइफलले आफैँलाई गोली हानेका थिए।
उनी हातहतियार राखिने स्थान सेन्ट्री कोत गारदमा खटिएका थिए। दाहिने कानभन्दा माथि गोली लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि महाकाली अस्पताल हुँदै धनगढी लगिएको थियो।
बझाङको वित्थडचिर गाउँपालिका-६ का विष्ट ६ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए।
घरमा उनका श्रीमती र दुई छोरी छन्।
प्रहरी जवान विष्टले आफैँलाई गोली हान्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन।
Shares

प्रतिक्रिया