विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश रात्रिकालीन व्यवसाय मापदण्डविरीत सञ्चालन भएको पाइएको छ।
महानगरद्वारा गठित अनुगमन समितिले सामान्य मापदण्ड पनि पूरा नगरेको देखाएको हो। रात्रिकालीन समयमा सञ्चालन हुने होटेल, गीत–गजल तथा रेस्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ। रात्रिकालीन होटेल, गीत गजल, दोहोरी साँझ र रेस्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो। समितिले २२ वटा रात्रिकालीन होटेल, गीत गजल, दोहोरी साँझ र रेस्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो।
अनुगमन गरेका होटेल, गीत गजल, दोहोरी साँझ र रेस्टुरेन्टमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ। १० वटाले पनि ध्वनि प्रदूषण नियन्त्रणका उपायहरू अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन १३ वटाले नगरेको, १८ वटाले पोसाकको व्यवस्थापन नगरेको, सुरक्षा गार्डको व्यवस्थापन १७ वटाले नगरेको, आवासको व्यवस्थापन ४ वटाले नगरेको, अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ।
अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ। व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औँल्याइएको छ।
अनुगमन गरेका २२ रात्रिकालीन होटेल व्यवसायमा ३१९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।
अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ। गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरूको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो।
समितिमा महानगरको राजस्व शाखाका कर्मचारी वासुदेव भण्डारी, रात्रिकालीन होटेल व्यवसायी सङ्घका अध्यक्ष सुरज श्रेष्ठ, होटेल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य रहेका थिए।
उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतम लगायतको उपस्थितमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो।
Shares

प्रतिक्रिया