राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश सभापति निलम्बनमा परेका छन्। पूर्व महामन्त्री डा. मुकुल ढकालको पक्षमा बोल्दै आएका रास्वपाको केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोसी प्रदेश सभापति राजेश तिम्सिना निलम्बनमा परेका हुन्।
पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन तिम्सिनाले माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए।
सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो।
तिम्सिनालाई कारबाहीको लागि भन्दै इटहरीमा बसेको बैठकले कारबाही गर्न नसकेपछि केन्द्रीय समितिले अनुशासनको कारबाही गरेको हो।
रास्वपाको अनुशासन समितिका संयोजक डा. भरतमणि देवकोटाले तिम्सिनालाई निलम्बन गरेको पत्र पठाएका हुन्। आफूमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको देवकोटाले पठाएको निलम्बन सम्बन्धी पत्रमा उल्लेख गरिएको तिम्सिनाले जानकारी दिए।
शुक्रबार पत्र प्राप्त भएको बताएका तिम्सिनाले नेपाल खबरलाई जानकारी दिए।
माघ ४ गतेको निर्णयले यस पार्टीको कोसी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईँलाई निलम्बन गरिएको भन्ने ब्यहोराको पत्र तिम्सिनालाई दिइएको छ।
यसअघि तिम्सिनामाथि बैठकबाटै कारबाही गर्ने गरी अनुशासन समितिका संयोजक देवकोटा इटहरी आएर बैठकबाट नै कारबाही गर्न दबाब दिएको रास्वपा श्रोतले जनाएको छ।
स्रोतका अनुसार, उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका १३ जना मात्रै सहभागी भएपछि कोसी प्रदेश समितिको बैठक नै रोकिएको थियो।
Shares

प्रतिक्रिया