विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्कसहित उत्कृष्ट नतिजा कायम राखेको छ।
लैससास परीक्षण दिग्दर्शन २०७८ अनुसार, एक सय वटा सूचकहरूको तोकिएको आधारमा स्व–मूल्याङ्कन गर्दा राम्रो अवस्थालाई १ अङ्क, मध्यम अवस्थालाई ०।५ अङ्क र अति कमजोर अवस्थालाई ० अङ्क दिइएको छ। पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा, विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ।
आव २०७७/०७८ मा प्राप्ताङ्क ५४ थियो भने, आव २०७८/०७९ मा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्दा एक सय वटा सूचकमा ७०.५ अङ्क प्राप्त भएको थियो। त्यसै गरी आव २०७९/०८० मा एक सय सूचकहरूमा कुल ७४.५ अङ्क प्राप्त भएकोमा आव २०८०/०८१ मा सो प्राप्ताङ्क ७८ पुगेको हो।
मूल्याङ्कनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु–सरोकारको विषय मात्र होइन अन्तर शाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको अनुभव लैससास परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक डा चन्द्र उपाध्याय तिम्सिनाको निष्कर्ष प्रस्तुत गरेका थिए।
डा तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभरि गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ। यद्यपि लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण सम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्याङ्कको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीय करण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ।
महानगर मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताए। ‘सर्वोत्तम स्थान प्राप्त गर्न हामी कहाँ चुकेका रहेछौँ, त्यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘लैससास परीक्षण कार्यशालामा उठेका सवालहरूलाई सम्बोधन गर्दै महानगरलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैले पहल र प्रयास गर्नुपर्छ।’
लैससास परीक्षण कार्यदलको संयोजकसमेत रहेकी उपमेयर कार्कीले लैससास परीक्षण कार्यशालामा निकै गहन छलफल भएको बताइन्।
‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा हामी हिजो कुन अवस्थामा थियौँ र आज कहाँ पुगेका छौँ भन्ने थाहा भयो,’ उपमेयर कार्कीले भनिन्, ‘प्रायः प्रमाणहरू जुटाउने प्रयास भए। हामीले लैससाससम्बन्धी कार्यक्रमहरूको निरन्तर अनुगमन र मूल्याङ्कन गर्दै सम्पन्न गरिएका सबै कार्यक्रमहरूको प्रमाणहरू सुरक्षित राख्नुपर्छ। यसका लागि अन्तर महाशाखा समन्वय अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेसमेत देखिएको छ। आगामी दिनमा थप जिम्मेवार बन्दै सबै शाखा–महाशाखाले लैससास अनुरूप कामहरू गर्दै जानेछौँ।’
लैससास परीक्षणको सम्पूर्ण पक्रियामा सक्रिय सहभागितासहित लैससास परीक्षणका प्रत्येक सूचकमा आफूले चासो राखेको उनले बताइन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलका अनुसार विगतका वर्षहरूको तुलनामा आ व २०८०/८१ लैससास को क्षेत्रमा विराटनगर महानगरपालिकाको थप प्रगति देखिएको छ।
‘लैससासको क्षेत्रमा एक सय प्रतिशत अङ्क प्राप्त गर्न हामीले सोहीअनुरूप काम गर्नका लागि जोड दिनुपर्छ, सबै यसमा लागिपरेर योजना तथा बजेट निर्माण गरी कार्यान्वयन गर्नुपर्छ,’ ढुङ्गेलले भने, ‘कार्यशाला सहभागितामूलक रहेको र सबै सहभागी भएर विराटनगर महानगरपालिकाले कसरी काम गरिरहेको रहेछ र हामी कुन अवस्थामा रहेछौँ भन्ने कुराको पूर्ण ज्ञान भएकाले स्वतन्त्र विज्ञको विश्लेषणले औँल्याएका कमीकमजोरीहरूलाई क्रमशः सुधार गर्दै लानुपर्छ।’
Shares

प्रतिक्रिया