कोसी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने भएको छ।
आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्ने र त्यसको काम कर्तव्य तथा अधिकार टुंग्याउने गरी निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापनसहितका १० वटा निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै कोसी प्रदेश वन ऐन २०७७ संशोधन गर्न बनेको विधेयक र कोसी प्रदेश वातावरण संरक्षण ऐन २०७६ संशोधन गर्न बनेको विधेयक कोसी प्रदेश सभा सचिवालयमा पेस गर्ने निर्णय गरेको छ।
पाथीभारा क्षेत्र विकास समिति, बृहत् वराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ स्वीकृत गर्ने र कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा ब्याज अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए।
Shares

प्रतिक्रिया