ad ad

कोशी


धरानका मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगे दलहरू

उपमहानगरको कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ
धरानका मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगे दलहरू

नेपालखबर
पुस १७, २०८० मंगलबार १४:१७, काठमाडौँ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएपछि तनाव उत्पन्न भएको छ।

यही पुस १२ गते मेयर साम्पाङले संघीय सरकारले असहयोग गरेको भन्दै दुवैजनाको तस्बिर हटाइदिएका थिए।

त्यसको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिएका थिए।

तर उनले अटेरी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका छन्।

दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

दलहरूले मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने घोषणा गरेपछि धरान उपमहानगरपालिका कार्यलयक्षेत्र तनावग्रस्त बनेको हो। 

धरान उपमहानगरपालिकाको मुख्य द्वारमा सुरक्षाकर्मी राखेर कर्मचारीबाहेक अरुलाई प्रवेश गर्न दिइएको छैन। 

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेपछि दलहरुले आपति जनाएका थिए।

नेपाली कांग्रेसका नेता श्याम पोखरेलले यलम्बर राजाको तस्बिर राख्दा आपत्ति नभएको बताए। तर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउनु जनमतको अपमान भएको उनले बताए। 

‘सरकार प्रमुखले आफ्नोमर्यादा र भूमिका बिर्सिएर धरान उपमहानगरपालिकामा केही दिनअघि उनको कार्यालयमा राखिएको तस्बिर हटाएका थिए। त्यसको विरोधमा विज्ञप्तिमा पनि जारी गरेका थियौँ’, उनले भने,  ‘यलम्बरको फोटोमा सम्मान छ तर अटेर गरेकाले ५/६ वटा दलका युवा तथा विद्यार्थीले अनुशासित भएर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न गएका छौँ।’

उनले धरान उपमहानगरपालिका कसैलाई पाँच वर्षका लागि नबेचेको बताए। ‘प्रमुखको कार्यालयमा तस्बिर पुन:स्थापित गर्न जाँदैछौँ। तर त्यहाँ प्रहरी तैनाथ छ। हामी द्वन्द्व सिर्जना गर्ने पक्षमा छैनौँ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .