ad ad

कोशी


चर्को आलोचनापछि मुख्यमन्त्री कार्कीको शुभकामनामा फर्कियो ‘कोशी’

चर्को आलोचनापछि मुख्यमन्त्री कार्कीको शुभकामनामा फर्कियो ‘कोशी’

नेपालखबर
पुस १५, २०८० आइतबार १४:१०, काठमाडौँ

आइतबार नै जन्मदिन मनाइरहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिहान दुईवटा शुभकामना सन्देश सार्वजनिक गरे। 

पहिलो उनको पर्सनल फेसबुक एकाउन्टमा थियो। जहाँ तमु ल्होसारका अवसरमा दिइएको शुभकामना सन्देशको अन्तिममा कोशी प्रदेश यथावत थियो।

आफ्नो हस्ताक्षरसहित फेसबुकमा हालेको शुभकामना सन्देशको अन्तिममा कोशी प्रदेश लेख्न नभुलेका उनैले मुख्यमन्त्रीको कार्यालयबाट जारी सन्देशमा भने त्यसलाई गायब बनाइदिए।

कोशी नामाकरणलाई लिएर किरात राईसहित असन्तुष्ट रहेका बेला कार्कीको औपचारिक शुभकाना सन्देश पत्रमा उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने नै खुल्दैनथ्यो। 

जम्बो सचिवालय पालिरहेका मुख्यमन्त्री कार्कीले किन यस्तो लापरबाही गरे? आखिर पहिचानवादीको डर या गम्भीर लापरबाही। सचिवालयमा तीनजना पत्रकारलाई जागिर दिइरहेका कार्की तमु ल्होसारम लेखिएको शुभकामना सन्देशमै प्रदेशको नाम नलेखेकाले आइतबार आलोचित हुनुपर्‍यो।

गत असोज २७ गते एमालेको साथ लिएर मुख्यमन्त्री भएका कार्कीको सचिवालय पनि जम्बो छ। कार्कीको जनसम्पर्क सल्लाहकारमा कांग्रेसनिकट पत्रकार लिलाबल्लभ घिमिरे छन्। उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्षसमेत हुन्।

कार्कीले प्रेस सल्लाहकारमा पत्रकार देवनारायण साहलाई नियुक्त गरेका छन्। इञ्जिनियर खगेन्द्र कर्ण प्राविधिक सल्लाहकार छन्। प्रमुख स्वकीय सचिवमा कृतिभुषण बस्नेत छन्। 

कार्कीले अर्का पत्रकार खेमराज सापकोटालाई सूचना प्रविधि सहायक बनाएका छन्। स्वकीय सचिव दिवश राजवंशी छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीको सचिवालयतर्फ आवास तथा कार्यालय सहयोगीसहित ९ जना रहेको जनाएको छ।

अहिले कार्कीले जन्मदिनको शुभकामनासँगै आलोचना पनि खेप्नुपरेको छ। चर्को आलोचनापछि उनले मुख्यमन्त्रीको कार्यालयको पत्रमा समावेश नगरिएको कोशीलाई फेरि राखेर नयाँ सन्देश जारी गरिसकेका छन्। 

‘विराटनगर नेपाल’ मात्रै लेखेर प्रदेशको नाम गायब गर्दै शुभकामना दिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने अवस्था आएको थियो।

नाम गायब गरेका उनै मुख्यमन्त्रीले प्रदेश नामाकरण हुँदा ‘कोशी’ को पक्षमा भोट पनि हाले। तर पछिल्लो समय कोशीविरुद्ध आवाज उठिरहेका बेला त्यसैको बहकाउमा कार्की परेको आँकलन पनि हुँदैछ।

चर्को आलोचना खेपेपछि मुख्यमन्त्रीको सचिवालयले अर्को शुभकामना सन्देश सार्वजनिक गर्‍यो। नयाँ शुभकामना सन्देशमा ‘कोशी प्रदेश विराटनगर नेपाल’ राखिएको छ।

एकै दिन दुईटा शुभकामना सन्देश जारी भएपछि  मुख्यमन्त्रीको सचिवालय पनि पन्छिरहेको छ। सचिवालयका सदस्य र कर्मचारीहरू यसको दोष एकअर्कालाई दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .