ad ad

कोशी


मोरङमा ‘लोडसेडिङ’, समस्यामा उद्योग

मोरङमा ‘लोडसेडिङ’, समस्यामा उद्योग

ध्रुव भट्टराई
बैशाख ९, २०८० शनिबार ९:५६, विराटनगर

पछिल्ला केही दिनयता मोरङमा अघोषित लोडसेडिङ हुँदा सर्वसाधारण समस्यामा परेका छन्। बिनाजानकारी दैनिक विद्युत कटौती हुने गरेकाले कोशी प्रदेशकै ठूलो सुनसरी/मोरङ औद्योगिक क्षेत्र पनि प्रभावित भएको छ। नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतले विद्युत् आपूर्ति तत्काल नियमित गराउन माग गरेका छन्। 

उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले केही दिनदेखि औद्योगिक क्षेत्रमा बिनासूचना लगातार विद्युत् अवरुद्ध भइरहेको बताए। ‘बिना पूर्वजानकारी लगातार विद्युत् आपूर्तिमा भइरहेको अवरोधका कारण उत्पादनमा समस्या हुने गरेको छ र हजारौं कामदार बिनाकाम बस्नु परेको छ’, घिमिरेले भने, ‘प्रशोधनका प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुन गई उद्योगको लागत खर्च बढिरहेको छ।’

उनले औद्योगिक करिडोरमा भइरहेको विद्युत् अवरोधप्रति विद्युत् प्राधिकरणसहित सरकारका सम्बन्धित पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। ‘नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाका सिकार बन्न गई मुलुकको आर्थिक अवस्था तहसनहस भइसकेको छ’, घिमिरेले भने, ‘बैंकको आफूखुसी ब्याजदरले डुब्न लागेको औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुनु अर्को वज्रपात परेको छ।’ उनले यो समस्याको समाधान खोज्न माग गरेका छन्।

यस्तै मोरङ व्यापार संघले विद्युत् आपूर्तिको समस्या निराकरणका लागि अनुरोध गरेको छ। व्यापार संघका अध्यक्ष नवीन रिजालले विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उमेशकुमार झालाई भेटेर विद्युत् आपूर्ति समस्या समाधानका लागि अनुरोध गरेका हुन्। अध्यक्ष  रिजालले पनि विद्युत आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेज र ट्रिपिङजस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्युत कटौतीका कारण उद्योग सञ्चालनमा असर पर्न गएको बताए।

विद्युत कटाैतीका कारण कच्चा पदार्थ नष्ट हुने, मिल-मेसिनरी बिग्रने तथा कामदार/श्रमिकको कार्य अवरोध हुनेलगायत समस्या उत्पन्न भई उद्योगको लागत खर्च वृद्धि हुने परिस्थति सिर्जना भएको गुनासो रिजालले गरे। यसले स्वदेशी लगानी र मुलुकको औद्योगिकीकरण नै जोखिममा पर्ने उनको भनाइ छ। 

विद्युत् प्राधिकरणले भारतसँग विद्युत खरिद गरेर भए पनि समस्या समाधान गर्नुपर्ने रिजालले बताए। साथै उनले औद्योगिक क्षेत्रप्रति उत्तरदायी हुन पनि प्राधिकरणलाई आग्रह गरेका छन्।

उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विद्युत कटौतीका कारण उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको बताए। विद्युत नियमित नहुँदा खर्च बढ्न गई उद्योगको उत्पादन लागत बढेको र प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको उनको भनाइ छ। 

उनले नियमित विद्युत् आपूर्तिका लागि विद्युतको वितरण प्रणालीमा केही नीतिगत सुधार गरी निजी क्षेत्रले उत्पादन गरेको विद्युत, प्राधिकरणको प्रसारण लाइन प्रयोग गरी सीधै निजी उद्योगले खरिद गर्न पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए। 

नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उमेशकुमार झाले भने लोडसेडिङ कतै नभएको दाबी गरे। उनले गर्मीसँगै विद्युतको माग ह्वातै बढेकाले लोड थाम्न नसकेका कारण सिस्टममा समस्या आएको बताए। यसको चाँडै निराकरण गरी विद्युत् नियमित गरिने उनको भनाइ छ। 

केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुसार कोशी प्रदेशमा १२ हजार उद्योग प्रतिष्ठानमा एक खर्ब ३३ अर्ब लगानी छ। जसमा ७३ हजार मजदुर संलग्न छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .