ad ad

कोशी


तीन महिनासम्म कोशी प्रदेश सरकारले पाएन पूर्णता, सम्बन्धित मन्त्री नहुँदा बजेट तयारीमा ढिलाइ

तीन महिनासम्म कोशी प्रदेश सरकारले पाएन पूर्णता, सम्बन्धित मन्त्री नहुँदा बजेट तयारीमा ढिलाइ

ध्रुव भट्टराई
बैशाख ४, २०८० सोमबार ११:३८, विराटनगर

कोशी प्रदेश सरकार गठन भएको ९० दिन पुग्न लाग्दा समेत सरकारले पूर्णता पाउन सकेको छैन।

प्रदेश मन्त्रिमण्डलमा अझै २ मन्त्रालय रिक्त छन्। शक्तिशाली दूई मन्त्रालय आर्थिक मार्मिला तथा योजना र आन्तरीक मामिला तथा कानून मन्त्रालय मन्त्रीविहीन छन्।

ती दुवै मन्त्रालय मुख्यमन्त्री हिक्मत कार्की आफैँले राखेका छन्।

नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा पुस २५ गते कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

सोही दिन कार्कीले तीन मन्त्री नियुक्त गरे। त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थपिए। दुई साता मुख्यमन्त्री कार्यालयका सानातिना कोठामा नामप्लेट राखेर बसेका उनीहरूले कुनै जिम्मेवारी भने पाएका थिएनन्।

माघ ६ गते उनीहरूलाई जिम्मेवारी दिइयो।

जसअनुसार बुद्धिकुमार राजभण्डारी सामाजिक विकास, निर्मला लिम्बू स्वास्थ्य, दुर्गाप्रसाद चापागाईं सडक पूर्वाधार तथा शहरी विकास, तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिंचाई तथा ऊर्जा, जीवन आचार्यपर्यटन, वन तथा वातावरण र भक्ति सिटौला उद्योग, कृषि तथा सहकारी मन्त्री बने।

तर अझैँ पनि दुई मन्त्रालय रिक्त छन्। नवगठित सरकारले संशोधन गरेको नियमावली अनुसार पहिले कायम रहेका ४ वटा मन्त्रालय अन्य मन्त्रालयमा गाभिएको छ ।

नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउने निर्णय गरेको थियो । 

९ मन्त्रालयमध्ये हालसम्म माओवादीले २, राप्रपा र जसपाले १–१ मन्त्रालय पाएको छ । एमालेले भने मुख्यमन्त्रीसहित ३ पाएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेशका मुख्यमन्त्री  कार्कीको मातहतमा छन्।

शक्तिशाली मन्त्रालय आफ्नो मातहतमा राखेर ‘साधन स्रोत’माथि कब्जा जमाउने प्रयास मुख्यमन्त्रीले गरेको सत्ताघटक दलहरूको आरोप छ।

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षको बजेट आफ्नै नेतृत्वमा ल्याउन चाहेकाले दुवै मन्त्रालयमा मन्त्री नियुक्त गर्न जानाजान ढिलाइ गरेको माओवादीबाट सरकारमा सहभागी एक मन्त्रीले बताए।

सरकार गठनको प्रारम्भमा पूर्वशर्त अनुसार माओवादीले थप एक मन्त्री पाउनुपर्नेमा सरकार परिवर्तन हुनसक्ने भएकाले कार्कीले मन्त्री नियुक्तिमा ढिलाइ गरेको आरोप उनको छ।

मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्ना १ सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलले न्यूनतम साझा कार्यक्रम सरकारलाई बुझाइसकेको छ। तर, सोही कार्यक्रम अनुसार सरकारले आधिकारिक आफ्नो कार्यक्रम कस्तो हुने भन्ने विषय अहिलेसम्म ठोस गरेको छैन । 

बजेट निर्माणको तयारीमा ढिलाइ

यसैबीच आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने समय भइसक्दा पनि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री अझै नियुक्तिमा अलमल हुदा स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वानुमान गर्ने काम समेत अघि बढन सकेको छैन ।

आर्थिक मामिला मन्त्रालयले एक सातायता आगामी बजेट निर्माणको प्रक्रियाबारे छलफल आरम्भ गरेपनि सरोकारवाला मन्त्री नहुँदा छलफलको चरण नै प्रभावित हुने गरेको छ। मुख्यमन्त्रीको व्यस्तताका कारण अझै बजेट निर्माणमा पर्याप्त समय दिन पाएका छैनन्।

तर मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारी बजेट निर्माणको प्रक्रिया सुरु भएको दाबी गर्छन्।

‘बजेट निर्माणको तयारी स्वरुप हामी छलफलमा जुटेका छौं, राजस्व परामर्श समिति गठन भएको छ। स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वानुमान हुँदैछ,’ उनले भने। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ को उपदफा १० मा स्रोत अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

जसमा ‘आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वानुमान चालू आर्थिक वर्षको चैत १५ गतेभित्र गरिसक्नु पर्नेछ’ भन्ने उल्लेख छ। तर, संघबाट अनुदान तथा राजस्व बाँडफाँडको सीमा तोकिएको समयभन्दा ढिला प्राप्त भएर चैत १५ गते सम्ममा स्रोत अनुमान गर्न नसकिने अवस्था भएमा त्यस्तो सीमा प्राप्त भएको मितिले सात दिनभित्र स्रोत अनुमान र खर्चको सीमा निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भने आगामी आर्थिक वर्ष २०८०–०८१ को अनुदान तथा राजस्व बाँडफाँडको सीमा प्रदेश सरकारलाई पठाइसकेको बताइएको छ। ‘समयमै पठाएको हो, तर, यहाँ अलमल भएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसमा कोशी प्रदेशले वित्तीय समानीकरण अनुदानमार्फत २ अर्ब ६९ करोड १५ लाख रुपैयाँ, सूत्रमा आधारित ५ अर्ब ६१ करोड २५ लाख र कार्यसम्पादनमा आधारित ४७ करोड ९८ लाख गरी जम्मा ८ अर्ब ७८ करोड ३८ लाख पाउने छ ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ को उपदफा २ मा भने उपदफा (१) को प्रयोजनका लागि आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण समिति रहने उल्लेख छ।

तर, भर्खरै राजस्व परामर्श समिति गठन भएको कारण तत्काल यो समिति बनेपनि कामविहीन बन्ने देखिन्छ।

यसैबीच प्रदेश सरकारका अन्य मन्त्रालयहरूले भने बजेटको तयारी धमाधम गरिरहेका छन् । गत चैत २२ गते सबै मन्त्रालयलाई बजेटको अनुमानित सिलिङ पठाएर ७ दिनभित्र मातहतका कार्यालयलाई पनि सिलिङ पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्देशन दिएको थियो । सबै मन्त्रालयले बजेटको सिलिङको आधारमा योजनाहरू छनोट गरी मुख्यमन्त्री कार्यालयलाई वैशाख २५ गतेसम्ममा पठाइसक्नु पर्नेछ ।

‘वैशाख २५ गतेपछि मन्त्रालयगत छलफल सुरु हुने तय भएको छ,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता केशव प्रसाद अर्यालले भने ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट कार्यान्वयन गरिरहेको छ । तर, चालु आर्थिक वर्षको ९ महिना सकिन केही दिन बाँकी छँदा अनुमानित आय लक्ष्य अनुसार पुग्न नसक्ने देखिएको हो ।

कोशी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांक अनुसार प्रदेश सरकारको कुल बजेटमध्ये चैत १९ गतेसम्ममा जम्मा १९ अर्ब २२ करोड ४३ लाख ९ हजार ४६७ रुपैयाँ आम्दानी गरेको छ । जुन बजेट अनुमानको ४८ दशमलव ३७ प्रतिशतमात्रै हो । जसका कारण ३९ अर्ब ७३ करोड ८३ लाख अनुमानित आय भेट्टाउन अझै २० अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुनुपर्छ ।

संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसक्नु पर्ने प्रावधान छ । यस्तै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्नेछ । बजेट निर्माण प्रक्रियालाई बेवास्ता गरेर हतारमा बजेट निर्माण गर्दा व्यवस्थित बजेट नआउने अर्थविद्हरू बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .