पहिचान पक्षधर र प्रहरीबीच आज विराटनगरमा भएको झडपमा १८ प्रहरी सहित २४ जना घाइते भएको छन्।
प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरी र नेपाली प्रहरीका १८ जना घाइते भएका हुन् भने आन्दोनकारीतर्फ ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए।
मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्ने क्रममा २९ राउण्ड हवाई फायर गरेको छ। ४४ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले हानेको ढुंगा लागि ति प्रहरी घाइते भएको बताइएको छ।
प्रहरीले भिडलाई तितरबितर पार्ने क्रममा भागदौड हुँदा प्रदर्शनकारी घाइते भएको प्रहरी उपरीक्षक पोखरलेले बताए। घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडपमा परिणत भएको थियो। सो क्रममा आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
झडपपछि आन्दोलनकारी फर्किएका छन्। अहिले स्थिति सामान्य हुँदै गएको छ। गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो।
पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामांकन संयुक्त स.घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो। कोशी प्रदेश खारेजीको माग राख्दै प्रर्दशनका क्रममा स्थिति असामान्य बने गरेको छ।
प्रतिक्रिया