ad ad

कोशी


धरहराभन्दा अग्लो दमक भ्यूटावर (फोटोफिचर)

लागत १ अर्ब ७६ करोड, असोजसम्म निर्माण हुने
धरहराभन्दा अग्लो दमक भ्यूटावर (फोटोफिचर)

ध्रुव भट्टराई
चैत १४, २०७९ मंगलबार १०:१२, विराटनगर

राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढाइएको दमक भ्यूटावरको निर्माण कार्य आगामी असोज महिनासम्म सम्पन्न हुने भएको छ।

पछिल्लो समय थपिएको म्यादअनुसार चालु आवको यही आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्ने भनिए पनि थप तीन महिनापछि मात्र भ्यूटावरको काम सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनी आशिष ओम साइराम जेभीका परियोजना प्रवन्धक सजन बिडारीले भ्यूटावर आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि अबको दुई महिनापछि वैशाखबाट बर्खाको समय सुरु हुने भएकाले तोकिएको समयमा निर्माणको काम पूरा नहुने बताए।

‘भ्यूटावर निर्माणको अहिलेसम्म ७५ प्रतिशत पुरा भएको छ,’ बिडारीले भने, ‘बर्खाको समयमा काम अगाडि बढाउन कठिन हुन्छ। जसकारण निर्माण सम्पन्न गर्ने काम असोजसम्म लम्बिनेछ।’ 

परियोजना प्रवन्धक बिडारीका अनुसार कुल पाँच विघा क्षेत्रफलमा निर्माण हुने १ सय मिटर उचाइको भ्यूटावरको अहिलेसम्म क्रंक्रिटको १८ तल्ले भवन निर्माण भइसकेको छ। अब त्यसमाथि थप बन्ने २८ मिटर अग्लो मेटल टावर निर्माणको काम भइरहेको छ।

भ्यूटावर दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो। ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआईआईसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए।

कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलियो। त्यसपछि थप गरिएको समयमा भ्यूटावरको निर्माणको काम पूरा नहुने देखिएको हो। भ्यूटावरको काम लम्बिँदै जाँदा लागत पनि बढ्दै गएको छ।

भ्यूटावरको निर्माणमा रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि लागत बढेर कूल लागत भ्याटसहित रु एक अर्ब ७६ करोड रूपैयाँ पुगेको छ। राष्ट्रिय गौरवको आयोजना भएकाले यसको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको छ। 

धरहराभन्दा अग्लो 

नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको दमक भ्यूटावरको उचाइ अनुसार १८ तलाको भवन निर्माण भइसकेको छ। आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रंक्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो मेटल टावर निर्माण भइरहेको छ।  

भ्यूटावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो हुनेछ। यो काठमाडौंको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो। हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ।

टावरको हरेक तला चार मिटर उचाइको छ। टावरभित्र भाडामा प्रयोग गर्न मिल्ने व्यवसायिक स्थल हुनेछन्। निर्माण कम्पनीका अनुसार त्यहाँ पसल, अफिस, रेष्टुराँ र क्याफे सञ्चालन हुनेछन्।

फराकिलो खाली स्थानको तल्लो तलामा पसलका लागि मुख्य स्थानहरू हुनेछन्। त्यसैगरी, बीचको तलाहरू कार्यालय र रेष्टुराँका लागि उपयुक्त हुने छ। साथै, माथिल्लो तलाहरू साना क्याफे र अवलोकनका लागि प्रयोग गर्न सकिनेछ। विभागले तल्लो भुइँ तला कर्पोरेट पार्किङ स्थलको रूपमा निर्माण गर्दैछ।

तल्लो भुइँ तलामा कर्पोरेट पार्किङ, भुइँ तलादेखि तेस्रो तलामा पसल, ४ देखि ९ तलामा कर्पोरेट कार्यालय, १० देखि १३ तलामा ग्यालरी तथा प्रदर्शनी कक्ष, १४ देखि १५ तला रेष्टुरेन्ट क्याफे, १६ देखि १७ तला अवलोकन भ्यू डेक र १८ तलाका कौसीको व्यवस्था हुनेछ।

एकपटकमा टावरको करिब १ हजार जनाले अवलोकन गर्न सक्नेछन्। भ्यूटावरमा बेसमेन्ट पार्किङको क्षेत्रफल २३ सय ४७ वर्गमिटर रहेको छ भने भुइँ तला साझा हलको क्षेत्रफल ९ सय २७ वर्गमिटर क्षेत्रफल रहनेछ।

निर्माणको चरणमा रहेको भ्यूटावरको तलाअनुसार निर्माण क्षेत्रफल फरक तोकिएको छ। जसमा ४ सय ५४ वर्गमिटरदेखि ९ सय २७ वर्गमिटर क्षेत्रफल रहेको छ। त्यसैगरी भ्यूटावरमा ९० प्रतिशत खुल्ला क्षेत्र, ६७ वटा चार पाङ्ग्रे र ७५ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने पार्किङको व्यवस्था हुनेछ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यूटावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको दाबी निर्माण कम्पनीको छ। चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ। स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैँ थाहा पाउने र आफैँ पानी हालेर निभाउने प्रविधि हो।

भवनका सबै तलामा पिउने पानी पुर्‍याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिन्छ। 

तस्वीरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .