ad ad

कोशी


सहमतिको सरकार बन्ने सम्भावना टरेपछि कोसी सरकारबाट बाहिरियो माओवादी

सहमतिको सरकार बन्ने सम्भावना टरेपछि कोसी सरकारबाट बाहिरियो माओवादी

मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाउँदै नेकपा माओवादी केन्द्रका मन्त्रीहरू


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १९:१७, काठमाडौँ

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँग प्रदेश सरकारहरू पनि धमाधम फेरिन थालेका छन्। यसैबीच शुक्रबार कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। 

माओवादीबाट मन्त्री बनेकाहरू गणेश उप्रेती (भौतिक पूर्वाधार), राजेन्द्र कार्की (स्वास्थ्य), नारायण बुर्जामगर (पर्यटन वन तथा वातावरण) र बन्दना झागड (वन पर्यटन तथा वातावरण) राज्यमन्त्री थिइन्। 

रिक्त यी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री हिक्मत कार्कीले नै लिने भएका छन्। 

केन्द्रमा सरकार परिवर्तन भएको दुई हप्तासम्म पनि कोसीमा भने माओवादी सरकारमै थियो। नेकपा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार, मुख्यमन्त्री कार्कीकै अनुरोधमा माओवादीले सरकार छाडेको थिएन्। 

‘सहमतिको सरकार’ बनाउने कार्कीको आश्वासनले सरकारमै बसेको भए पनि अन्तिम समयमा एमाले केन्द्रबाट आएको निर्देशनका कारण माओवादीले सरकार छाडेको आङ्बोले बताए। 

‘मुख्यमन्त्रीले सहमतिको सरकार बनाउछु भन्नुभएको थियो। त्यही आग्रह अनुसार केन्द्र सरकार ढले पनि हामी सरकारमै थियौँ,’ उनले नेपालखबरसँग भने, ‘तर, पार्टी केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग उहाँ (हिक्मत कार्की) ले कुरा गरेर आएपछि सहमतिको सरकार बनाउन नसकिने भयो, नेताहरूलाई मनाउन नसकिने भयो भन्नुभयो।’

सहमतिको सरकार बन्न नसक्ने भएपछि सरकारमा बस्नु उपयुक्त नहुने भन्दै शुक्रबार मन्त्रीहरूले राजीनामा दिएको उनले बताए। 

‘उहाँ (हिक्मत कार्की) कै आग्रहमा बसेका थियौँ, सहमतिको सरकार बनाउन नसक्ने भएपछि हामी बस्न उपयुक्त हुँदैन भनेर बाहिरिएका हौँ,’ उनले थप प्रष्ट पार्दै भने। 

आफूहरूले कठिन परिस्थितिमा साथ दिँदै कार्कीलाई मुख्यमन्त्री बनाएको बताउँदै मुख्यमन्त्री कार्कीले माओवादीसहितको सरकार बनाउने पहल गरेको उनको भनाइ थियो। 

‘मुख्यमनत्रीलाई कठिन परिस्थितिमा साथ दिएका थियौँ। उहाँले आफैँ हटाउन चाहनु भएन। सहमतिको सरकार नबन्ने भएपछि हामीले मार्गप्रशस्त गर्यौँ। अब सरकारमा बसिरहनु कुनै अर्थ भएन,’ उनले भने। 

माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता गरिसकेको छैन। आङ्बोका अनुसार, अब बस्ने प्रदेशसभा बैठकअघि आफ्ना सबै सांसदहरू भेला भएर समर्थन फिर्ताको निर्णय लिनेछ। 

‘व्यक्ति र दलले दिएको समर्थन हो। संसद् चल्ने बेलासम्म सबै सांसद भेला भएर औपचारिक निर्णय गर्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .