कोशी


विराटनगरमा ‘विराट एक्स्पो’ सुरु, राष्ट्रपति भण्डारीबाट उद्घाटन (तस्बिर)

विराटनगरमा ‘विराट एक्स्पो’ सुरु, राष्ट्रपति भण्डारीबाट उद्घाटन (तस्बिर)

ध्रुव भट्टराई
मंसिर २९, २०७९ बिहिबार १८:५०, विराटनगर

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ बिहीबारबाट विराट एक्स्पो सुरू भएको छ। मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा शुरु भएको विराट एक्स्पोको सातौं संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

उद्योग संगठन मोरङको आयोजनामा हप्ता दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहेका छन्। आयोजक संस्था उद्योग संगठन मोरङका अनुसार पेभिलियनका ४ वटा स्टल प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलक परिसरका ७५, नाडा र अटोमोबाइल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहेका छन्।

एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था पनि गरिएको छ। माउन्टेन फ्लाइटबाट हिमाल दर्शन गरेको ११ हजार ९९९ रुपैयाँ रहेको छ। फ्लाइटबाट ताप्लेजुङ्गको पाथिभरा दर्शन पनि गराइने भएको छ। एक्स्पो अवधिभरी तीन वटा फ्लाइट गर्ने तयारी गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए। माउन्टेन फ्लाइटको बुकिङ पनि भइसकेको उनले बताए।

एक्स्पोको मुख्य आकर्षण आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए। त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ। थ्रीडी भर्चुअल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ।

यस बाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ। साथै, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको समेत सहभागिता हुनेछ। एक्स्पोमा फेशन शो र विराट एक्स्पो सिंगिङ आइडल प्रतियोगिता पनि हुने भएको छ। उक्त प्रतियोगिताको लागि मंसिर २२ गतेबाट अडिसन सुरु गरिएको छ। यो प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी रहेकी छन्।

एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ। एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ। एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ। एक्स्पोमा साढे ३ करोड रुपैयाँ खर्च हुने संयोजक दुलालले बताए। 

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .