ad ad

कोशी


धनकुटामा गाँजाखेतीबाट जनतालाई धनी बनाउँछौँ : राजेन्द्र राई, एमाले नेता

हेमराज र रकमसँग प्रतिस्पर्धा गर्न पाए खुसी हुन्छु, सुनील थापाको कुरा नगरौँ
धनकुटामा गाँजाखेतीबाट जनतालाई धनी बनाउँछौँ : राजेन्द्र राई, एमाले नेता

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १०:४६, काठमाडौँ

चुनावको मुखमा धनकुटा जिल्ला खास चर्चामा छ। चर्चामा आउने मुख्य कारण चारवटा छन् :

एक– पूर्वप्रधानमन्त्री सूूर्यबहादुर थापाको विरासत जोगाउनुपर्ने कांग्रेस नेता सुनीलबहादुर थापामा चिन्ता छ।

दुई– २०७४ को चुनावमा जिल्लाका तीनै तह ‘क्लिन स्वीप’ गरेको नेकपा एमालेलाई आफ्नो विगतको प्रतिष्ठा जोगाउनुपर्ने चुनौती छ।

तीन–  एमालेका पूर्वसांसद रकम चेम्जोङ अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलमा छन्। जिल्लाका पुराना वामपन्थी नेता एवं पूर्वमन्त्री चेम्जोङले पनि धनुकटाबाट प्रतिनिधिसभामा चुनाव लड्न चाहेका छन्।

चार– माओवादीका पूर्वसभासद एवं युवा नेता हेमराज भण्डारी आफ्नो पार्टीको भोट बैंक जोगाउने गृहकार्यमा छन्। पार्टीले उनको नाम जिल्लाबाट सिफारिस गरेको छ। 

केन्द्रीय नेताहरु सुनील थापा, रकम चेम्जोङ र हेमराज भण्डारीको आ–आफ्नै दाबीका कारण धनकुटामा सत्ता गठबन्धनबीचमै तालमेल हुन सकिरहेको छैन। र, सत्तापक्षको अन्तरविरोधबाट फाइदा लिने दाउमा छन् एमालेका वर्तमान सांसद राजेन्द्र राई।   

नेकपा एमालेले २०७४ मा तीनै तहका निर्वाचनमा विपक्षीलाई हराउँदै ‘क्लिन स्विप’ गरेको थियो। त्यसबेलाको जितको पहिलो हकदार थिए एमाले नेता राजेन्द्र राई।

भिडिओ

तीनै तह क्लिन स्विप गर्दै ०७४ मा प्रतिनिधिसभामा विजयी भएका सांसद राईलाई एमालेले ‘म्यान अफ दि इलेक्सन’ भनेको थियो। तथापि ‘यी म्यान अफ दि इलेक्सन’ले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बन्न पाएनन्।

गत वैशाखको स्थानीय  तह निर्वाचनसँगै धनकुटाको समीकरण केही फेरिएको छ। एमाले पनि दुई दलमा विभाजित भएको अवस्थामा धनकुटामा केही क्षति व्यहोर्नुपरेको छ।

यसबीचमा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको छ। तर, एमालेका अन्य नेताहरु गठबन्धनविरुद्ध लड्न आँट नगरिरहेका बेला २०७४ का उनै म्यान अफ दि इलेक्सन धनकुटाबाट फेरि प्रतिनिधिसभामा आउने तयारीमा छन्।

कांग्रेसबाट सुनीलबहादुर थापा, जनता समाजवादीबाट रकम चेम्जोङ अथवा माओवादीबाट हेमराज भण्डारी प्रतिनिधिसभामा उठे पनि आफू विजयी हुने एमाले नेता राईको दाबी छ।

आखिर २०७४ मा माओवादीको साथ लिएर जितेका राईले यो पटक गठबन्धनविरुद्ध कसरी जित निकाल्लान्? एमाले, धनकुटाका चुुनावी एजेण्डा के–के छन् ? यिनै विषयमा केन्द्रित रहेर एमाले सांसद राजेन्द्र राईसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

२०७४ सालमा धनकुटाका सबै स्थानीय तह, प्रदेश र संघ जितेपछि अध्यक्ष केपी शर्मा ओलीले तपाईंलाई के भन्नुभएको थियो ?
सबैभन्दा राम्रो, सबैभन्दा खुबी भएको मान्छे भन्नुभएको थियो। सबैभन्दा होनहार, जनताका बीचमा भिज्न सक्ने मान्छे, परिणाम निकाल्न सक्ने नेता भनेर अध्यक्षले टिप्पणी गर्नु भएको थियो।

तर, धनकुटामा गत स्थानीय चुनावमा त एमाले खस्क्यो नि, क्लिन स्वीप पनि भएन....
क्लिन स्विप भएन तर एमालेको भोट बढेको छ। धनकुटामा एमाले खस्किएको छैन, भोटको रेसियो यथावत छ। प्राविधिक कारणले केही पद तलमाथि भयो। प्राविधिक कारणले केही सिट गुमाए पनि एमाले धनकुटामा झन् बलियो भएको छ।

यसपालि गठबन्धनविरुद्ध उठ्ने तपाईं नै हो ?
हो, मै हो। यसमा कुनै द्विविधा छैन। धनकुटाबाट प्रतिनिधिसभामा मेरो मात्रै एकल नाम सर्वसम्मत केन्द्रमा सिफारिस भएको छ।

यो पटकको चुनावमा तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ?
अहिले गठबन्धनको उम्मेदवार को हुन्छ, त्यहीसँग हुने प्रतिष्पर्धा हो। मलाई के लाग्छ भने अहिलेसम्मको अवस्था हेर्दा जसपाका रकम चेम्जोङ र माओवादीका हेमराज भण्डारीसँग प्रतिस्पर्धा हुन सक्छ।

कांग्रेसका सुनील थापा नि?
सुनील थापा तलका भइगए, उनीसँग कसरी प्रतिस्पर्धा हुन्छ?

तर, सुनील थापालाई कांग्रेसले जिताउने भनेर पार्टीमा प्रवेश गराएको होइन र?
बाहिर कुरा के भयो म जान्दिनँ। तर, सुनील थापालाई कांग्रेसले उम्मेदवार बनाउँछ भन्ने मलाई लाग्दैन। हिजो,  सामाजिक परिवर्तन र लोकतन्त्रका लागि भीमनारायण श्रेष्ठले संघर्ष गर्दा फासी दिने सूर्यबहादुर थापाका छोरालाई कांग्रेसले टिकट देला भन्ने मलाई लाग्दैन। म यो कुरा कल्पना नै गर्न सक्दिनँ, यो सम्भव छैन।

०७० मा सुनील थापासँग तपाईं हारेको पनि हो नि?
त्यसबेला उनले गठबन्धन भएर जितेको हो। एकखालका सबै मान्छेले मोर्चाबन्दी गर्दा उनले २२६ भोटले जितेको हो।

अहिले पनि त सबै दल मिल्दैछन् नि!
अहिले र पहिलेमा धेरै फरक छ। अहिले मिल्ने कुरामा म सम्भावना नै देख्दिनँ। माओवादीका नेता हेमराज भण्डारी, जो क्रान्तिले  खारिएका छन्। रकम चेम्जोङ अनुभवी छन्। उनीहरुले सुनील थापालाई कसरी छाड्न सक्छन्? गठबन्धन मिल्न सक्दैन। गठबन्धन आफैँ तीनतिर छ। कांग्रेस एकातिर, माओवादी अर्कातिर छ।

तपाईले २०७४ मा ओलीबाट ‘म्यान अफ दि इलेक्सन’ पाएर पनि मन्त्री हुन पाउनु भएन। यो पटक कसरी जित्नु हुन्छ? जितको आधार के छ?
मन्त्री हुनै पर्दैन नि! म जनताको शासक होइन, सेवक हो। म अहिले पनि जनतासँगै खटिरहेको छु। हामीले तुलना गर्ने हो क्या। २०७४ देखि अहिलेसम्म आउँदा त्यहाँको गरिबी कति घट्यो त? त्यहाँका जनताको आम्दानी कति बढ्यो त? मैले त्यसबेला अहिले धनकुटामा १८ प्रतिशत गरिबी छ, मलाई चुनाव जिताए ५ प्रतिशत गरिबी घटाउँछु भनेको थिएँ। मैले तपाईहरुको आम्दानी साढे ४ सयदेखि ६ सय छ, त्यसलाई बढाएर ६ सयदेखि ८ सय बनाउँछु भनेको थिएँ। त्यो अनुसार योजना बनएर जनताको गरिबी घट्यो, जनताको आम्दानी बढेको छ।

स्वास्थ्यमा जनताले सेवा पाएको छ। शिक्षामा व्यापक परिवर्तन भएको छ। हिजो मानिसले ५ हजार गोजीमा हाल्थे भने अहिले १० हजार पर्न थालेको छ। त्यसको नेतृत्व मैले नै गरेको हो।

बूढीमोरङमा गाडी पुग्यो, त्यहाँका मान्छेले टमाटार हाइवेमा ल्याएर बेच्न पाए। त्यहाँका मान्छेले दाना बेच्न पाए। धनकुटामा मात्रै ३० करोड बढीको दाना बेचियो। एभोकाडो २० करोडभन्दा बढीको बेचिएको छ। अब एभोकाडो प्रशोधन केन्द्र बनाउँदैछौँ। कफी प्रशोधन केन्द्र बनाउँदैछौँ। जनताको जीवनस्तर कसरी उठ्यो? मान्छेको गोजीमा हिजोभन्दा आज कति धेरै पैसा पुग्यो? हिजो २६ सय मानिस विदेशमा थिए, अहिले त्यो २१ सयतिर झरेको छ। हामी विस्तारै रोजगारको व्यवस्था गर्दैछौँ। अनि, मैले नजिते कसले जित्छ त?

यो पटकको चुनावमा लैजाने एजेन्डा तपाईंसँग के के छन्?
अहिले गाउँघरमा बैंकको ऋण तिर्न नसकेर महिला झुण्डिएर मर्न थाले। गाउँ गाउँमा बस्ती बस्तीमा लघुवित्त पुगेका छन्। तिनीहरुबाट महिलालाई कसरी मुक्त गर्ने? मेरो एउटा एजेन्डा हुनेछ। तमाम युवालाई जिल्लामै रोजगारीको योजना ल्याउँछु। कृषिलाई हामी व्यापक रुपमा आधुनिकीकरण गर्दै सानो सानो पकेट क्षेत्रसहितका उद्योगहरु बनाउँछौँ।

यो भएपछि छथर, महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा जनताले उत्पादन गरेका सामानका लागि शीत भण्डार चाहिएको छ। जनताले फलाएका सामान नगरपालिकाले किनिदिनुपर्छ। जनताबाट किनेका सामान गाउ÷नगरपालिकाले अन्यत्र पठाउन सक्छन्।

त्यसका साथै गाँजा खेतीको पनि प्रसंग यहाँ जोड्छु।

संघीय संसदमा शेरबहादुर तामाङ, विरोध खतिवडासहित हामीले गाँजा खेती जनताले लगाउन पाउनुपर्छ, गाँजा ओखतीजन्य वनस्पती हो भन्यौं। गाँजा खेती पहिला पनि थियो, बाहिरबाट आएका हिप्पीहरुले यो खाने चलन थियो। २०३३ सालमा राजा वीरेन्द्रका पालामा अमेरिकाका उपमन्त्री आएर गाँजा खेती बन्द गर, म केही अनुदान दिन्छु भनेछन्। त्यसपछि गाँजामा प्रतिवन्ध लाग्यो।

अहिले हाम्रो इच्छा के छ भने अहिले सदनमा छलफल गर्न विधेयक पेश भएको छ। क्याबिनेटले निर्णय गरेसँगै त्यसमाथि छलफल हुनेछ। हामी गाँजा खेतीबाट जनतालाई धनी बनाउन चाहन्छौँ।

गाँजाबाट पनि जनता धनी हुन्छन्। यो पनि एउटा औषधि हो। यसबाट सेन्टदेखि कपडा र क्यान्सरको दबाई समेत बन्ने रहेछ। गाँजाको एजेन्डा पनि म जनताबीच लान्छु। यसका लागि यो पटक छलफल नभए पनि अर्को पटक पास हुन्छ।

म आमयुवा र जनतालाई गोलबन्द गराउन सक्छु। म जनताको शासक होइन, सेवक हो। जनतालाई शीरमा राखेर काम गर्छु। यो पाँच वर्षभित्र जनताको भोट खेर जान दिएको छैन। अब पनि जान दिने छैन। जनतालाई धनी बनाउने हो, गरिबी हटाउने हो।

तपाईंले पाँच वर्षअघि गरेका वाचा कति पूरा गर्नुभयो?
मैले सबै वाचा पूरा गरेको छु।

रोजगारी बढ्यो, गरिबी घट्यो भन्नुहुन्छ। अर्कातिर फेरि आत्महत्या बढ्यो पनि भन्नुभयो।

आत्महत्याको सवालमा त ऋण जोडिन्छ। त्यो त ऋणको कुरा हो। हामीले सातै स्थानीय तहमा औद्योगिकग्राम खोलेका छौँ। अरु सांसदहरुले त यसो गरेनन्। कच्चा पदार्थ व्यवस्था गरेर हामी गाउँमै डेढ/दुई सय युवालाई रोजगारी दिन सक्छौँ। विकासका कुरामा चार कोठे भवन ७२ लाखका मात्रै २२५ वटा बनाएका छौँ। स्कुल हेर्नुस्, नमुना स्कुल हेर्नुस् हामीले करोड करोडका बनाएका छौँ।

मैले सदनमा भूमिका देखाउने भन्दा जिल्लाको विकास कसरी गर्न सकिन्छ भनेर काम गरिरहेँ। हरेक मन्त्री र प्रधानमन्त्रीको ढोका ढक्ढक्याएर विकास जनताको घर दैलोमा पु¥याएको छु। त्यहीकारण मलाई चुनावमा भोट माग्न समस्या छैन। जित्नेमा ढुक्क छु, अरु कसले जित्छ त मैले नजिते?

अरु दलबीच गठबन्धन भए कसरी जित्नु हुन्छ?
जित्छु। गठबन्धनले जित्ने आधार के हो? एमाले हराउनेबाहेक उनीहरुसँग कुनै एजेन्डा छैन। एमालेसँग विकास, समृद्धिका योजना छन्। जनतालाई शीरमा राखेर हामी उनीहरुलाई धनी बनाउने काममा लाग्छौँ। हाम्रो उद्देश्य यही हो।

तपाईंलाई प्रतिस्पर्धा गर्दा को सजिलो? हेमराज भण्डारी, सुनील थापा या रकम चेम्जोङ?
सजिलो भन्ने कुरै भएन। तर, म लोकतन्त्रवादीहरुसँग प्रतिस्पर्धा होस् भन्ने चाहन्छु। म हेमराज भण्डारी र रकम चेम्जोङहरुसँग प्रतिस्पर्धा गर्न पाए खुसी हुन्छु। सुनील थापा जस्ता विदेशमा जागिर खाएर आएकाहरुसँगका कुरा नगरौँ।

सूर्यबहादुर थापाको लिगेसी.....
भएर के गर्नु? धनकुटामा बाटो हामीले लगेको हो। खानेपानी हामीले दियौँ, स्कुल स्वास्थ्य चौकी हामीले बनायौँ। सूर्यबहादुरले त शिक्षित नरहेका जनतालाई झुक्याएर चुनाव जितेका थिए। सुनील थापासँग के छ? उनलाई अहिले पनि जिल्लाको जनसंख्या थाहा छैन। सुनिलले रहरले राजनीति गरेको हो। तर, हामी समाजप्रति प्रतिवद्ध भएर राजनीतिमा छौँ। उनले सौख र सुविधाका लागि राजनीति गरे हामीले जिल्ला बनाउन राजनीति गयौँ।

तपाईले विकास र समृद्धिका कुरा गर्नुभयो। तर, जनताले भन्लान् नि, तिमीहरुलाई दुईतिहाइ नजिक दिएका थियौँ, टिकाएर खान सकेनौ। अब हामीले फेरि किन भोट दिने?
जनताले त्यसो भन्दैनन्। जनताले ठीक गरेका छौ भन्छन्। दुईतिहाइ भए पनि दुई दलको हो नि त। दुइटा पार्टीको उद्देश्य र विचार मिलेन। खास कुरा प्रचण्डले केपी ओलीलाई चलाउनै दिएनन्। चलाउन नदिएपछि कहाँ हुन्छ त अनि।

तर, एमाले पनि त आफैंमा दुइटा भयो नि?
यो सबै इगोका कारण हो। माधव नेपाल किन गए त? माधव नेपालसँग नयाँ चिज के छ त? इगोले हो नमिलेको। उनी पनि संसदमै विश्वास गर्ने रहेछन्, फरक केही छ त? उनलाई बस्न मन लागेन होला, त्यही भएर उनले एमाले छाडे।

अहिले एमालेमा पनि अन्तरविरोध छ रे। तपाईंलाई पनि असहयोग हुन सक्ला...
छैन, त्यस्तो कुनै अन्तरविरोध, केही समस्या छैन।

प्रदेश १ को टिकट कसरी मिलाउँदै हुनुहुन्छ?
यो त पछि पार्टीले निर्णय गर्छ। केन्द्रीय कमिटीले जसलाई दिन्छ, उनै हुन्छन् उम्मेदवार।

धनकुटाका जनताले तपाईलाई नै भोट दिनुपर्ने कारण के?
मैले जनतालाई भगवान मानेको छु। म उहाँहरुको आशिर्वाद लिएर चुनावमा जान्छु। उहाँहरुको सल्लाह सुझावलाई मैले तलमाथि गरेको छैन। आगामी मंसिर ४ गते मलाई जिताउन अपिल गर्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .