आउने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कञ्चनपुर क्षेत्र नम्बर २ मा २ जनालाई उम्मेदवार टिकट दिएपछि अन्योल सिर्जना भएको छ।
साविक एकीकृत समाजवादीको भागमा परेको यस क्षेत्रमा नेकपाले सुदूरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्कालाई टिकट दिइसकेको अवस्थामा सोमबार बिहान फेरि सोही पार्टीका अर्का नेताले टिकट लिइरहेको भिडिओ सार्वजनिक भएको हो।
साविक एकीकृत समाजवादीका नेता माधव पन्तले आफूलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधव नेपालले टिकट दिइरहेको भिडिओ सामाजिक सञ्जालमा राखेका हुन्।
भिडिओमा प्रचण्ड र नेपालले पन्तलाई शुभकामना पनि दिएका छन्।
पन्तले टिकट लिँदै गरेको भिडिओ सार्वजनिक गरेलगत्तै खड्का पक्षले पनि संयोजक प्रचण्डको हस्ताक्षर भएको टिकट सार्वजनिक गरेको छ।

यसरी एउटै क्षेत्रमा दुई नेतालाई टिकट दिइएपछि नेकपाका नेता-कार्यकर्ता अन्योलमा परेका छन्।
‘हिजोसम्म उहाँ(खड्का) नै उम्मेदवार हुनुहुन्थ्यो। टिकट पनि छ। फेरि आज अर्कै (पन्त)ले पनि टिकट पाएका छन्,’ नेकपा सुदूरपश्चिमका एक नेताले नेपालखबरसँग भने, ‘आधिकारिक उम्मेदवार को हो भन्ने विषय केन्द्रले नै टुंग्याउला।’
Shares

प्रतिक्रिया