कर्णाली


राउटेका मुखियाबाट ओलीलाई कोसी उपहार

राउटेका मुखियाबाट ओलीलाई कोसी उपहार

नेपालखबर
मंसिर १८, २०८० सोमबार १६:१९, दैलेख

लोपउन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन्।

बैतडीको राकमबाट सुरु भएको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जीविकोपार्जनका लागि बनाउँदै आएको कोसी उपहार दिएका हुन्।

‘कोसी’ विशेषत: दही, मही, अचार राख्ने, पिठो मुछ्ने आदि काममा प्रयोग गरिन्छ। यो काठ, माटो वा धातुबाट बनाइन्छ। राउटे मुखिया शाहीले ओलीलाई काठबाट बनेको कोसी उपहार दिएका हुन्।

उपहार ग्रहणपश्चात् एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फूलको माला निकालेर लगाइदिएका थिए। त्यस क्रममा अध्यक्ष ओलीले एमाले राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले सहयोग गर्न तयार रहेको बताएका थिए।

स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नुहोला भन्ने लागेर भेट्न आएको बताएका थिए।

राउटे मुखिया शाहीले भने, ‘हामी प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आको। हामीलाई जंगलमा बस्न समस्या छ। ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग  गर्‍या। अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ।’

अभियानका क्रममा गुराँस पुगेका अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन्।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञावली, सचिव पृथ्वीसुब्बा गुरुङका साथै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, पद्मा अर्याल, योगेश भट्टराई, विष्णु रिमाल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायतका नेता सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .