ad ad

कर्णाली


प्रतिनिधि सभा कर्णाली : वाम–लोकतान्त्रिक गठबन्धनले एमालेलाई ठूलो धक्का

१२ मध्ये ९ क्षेत्रको नतिजा आउँदा एमाले शून्य, राप्रपाको इन्ट्री
प्रतिनिधि सभा कर्णाली : वाम–लोकतान्त्रिक गठबन्धनले एमालेलाई ठूलो धक्का

फाइल तस्बिर


दिनेश बुढा
मंसिर ९, २०७९ शुक्रबार १५:४४, काठमाडौँ

मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा कर्णालीमा एमालेलाई ठूलो धक्का लागेको छ। 

२०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लाका १२ प्रतिनिधि सभाका ६ क्षेत्रमा जितेर एमाले ठूलो दल बनेको थियो। 

तर, यस पटकको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनले एमालेका सबै उम्मेदवारलाई पाखा लगाएको छ। 

१२ क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा एमालेको जित शून्य रहेको छ।  

यी क्षेत्रमा अहिलेसम्म नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र, दैलेख २ गरी तीनवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। 

०७४ मा पाँचवटा क्षेत्र जितेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म रुकुम पश्चिम र जाजरकोटमा जितिसकेको छ। गठबन्धनभित्रकै नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका दैलेख १, सल्यान र डोल्पामा विजयी हासिल गरिसकेको छ। 

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरेका छन्। अब बाँकी रहेका कालीकोट, हुम्ला र मुगुको नतिजा आउँन बाँकी रहेको छ। 

०७४ मा एमाले र माओवादी केन्द्रबीच बनेको बाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने यो पटक लोकतान्त्रिक–बाम गठबन्धनबीच प्रतिस्पर्धाका लागि दलहरु मैदानमा उत्रिएका थिए। 

कुन जिल्लामा कसले कति मत ल्याए? 

जुम्ला 
जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले विजयी हात पार्दा त्यहाँ माओवादीबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवर पराजित बनिन्। गठबन्धनभित्र र स्वंयम माओवादी भित्रको आन्तरिक द्वन्द्वका कारण गोमा पराजित भएकी हुन्।  

गोमा १० हजार ८६० मतान्तरले शाहीबाट पराजित भएकी हुन्। उनी २२ हजार ८ सय १९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९ सय ५९ मत पाइन्।  खासमा माओवादीको प्रतिस्पर्धी मानिएको एमालेका रतन नाथ योगी ६ हजार ५२८, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाएका छन्। 

सल्यान 
सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भएका छन्। 

यस क्षेत्रमा ज्वाला विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहसँग प्रतिस्पर्धा भएको थियो। शाहलाई पनि ज्वालाले १५ हजार ९११ मतान्तरले पराजित गरेका छन्। 

ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ। स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ। विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे। 

दैलेख–१
दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पूर्वसहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे। थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन्।

एमालेका उम्मेदवार शर्माले १७ हजार ४०७ मत पाएका छन्। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।

दैलेख–२
क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन्। उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए। यो क्षेत्र एमालेको गढ हो।  

पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए। विजयी शाही ०७४ मा २ (ख)मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए। ०७४ मा प्रदेशमा पराजित शाहीले यो पटक गठबन्धनको बलमा चुनाव जिते।

सुर्खेत–१
क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफु पराजित भएका शाहीलाई नै पराजित गर्दै निर्वाचित भएका छन्। एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन्।

खड्का ४२ हजार ६०७  मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे। ०७४ मा ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्काले यो पटक त्यसको बदला लिएका हुन्। 

सुर्खेत–२
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधि सभामा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ। उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे।  

बिसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते। ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले गठबन्धनको बलमा लिएका छन्। थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री भइसकेका नेता हुन्।

रूकुम पश्चिम
रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चस्व कायम गरेको छ। सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन्। 

यहाँ ६० हजार ५६२ मत खसेको मतमा शर्माको पक्षमा  ३९ हजार ५४९ मत आएको छ भने एमालेका देवकोटाको पक्षमा १२ हजार ९६१ मत छ।  शर्माविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाएका छन्। शर्माको यो चौथो जित हो। 

डोल्पा 
हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन्। गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन्। बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। 

यस्तै, राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे। बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन्। उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए। 

जाजरकोट
यस्तै, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरेका छन्। स्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए। बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए। 

कर्णालीबाट  प्रतिनिधि सभामा विजयी उम्मेदवारहरु

कांग्रेस 
सुर्खेत १ –पुर्णबहादुर खड्का
सुर्खेत २ –हृदयराम थानी 
दैलेख २ –दीक्पाल कुमार शाही 

माओवादी 
रुकुम पश्चिम –जनार्दन शर्मा 
जाजरकोट– शक्ति बहादुर बस्नेत 

एकीकृत समाजवादी 
सल्यान– प्रकाश ज्वाला 
दैलेख १–अम्मर बहादुर थापा 
डोल्पा– धनबहादुर बुढा 

राप्रपा
जुम्ला –ज्ञानेन्द्र शाही

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .