कर्णाली


बाघको आक्रमणबाट सुर्खेत र सल्यानमा एक सातामा तीन जनाको मृत्यु

बाघको आक्रमणबाट सुर्खेत र सल्यानमा एक सातामा तीन जनाको मृत्यु

नेपालखबर
माघ १, २०८२ बिहिबार १६:२५, सुर्खेत

पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ। गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। 

गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो। सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए। 

गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए। 

एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास छाएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए। उनले बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेको भन्दै स्थानीय त्रासित बनेका उल्लेख गरे।

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरेर मारेको जानकारी दिए। बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतङ्क फैलाउन थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्दै तत्काल कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरिएको अधिकृत रावलले जानकारी दिए। स्थानीयमा त्रास बढ्नुका साथै दैनिक कामका लागिसमेत घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि पत्राचार गरिएको उनको भनाइ छ।

‘बाघको आतङ्क नियन्त्रण गर्न पालिकासहित स्थानीयको अनुरोध आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसमेत) को दफा १० ‘क’ र ‘ख’ तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधनसमेत) को दफा ३६ क अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ’, वन अधिकृत रावलले भने।

संरक्षित वन्यजन्तुका रूपमा रहेको पाटेबाघलाई नियन्त्रण वा मार्ने आदेश जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालन गर्नका लागि बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad