आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारहरू सिफारिस गर्ने क्रम जारी छ।
समानुपातिकतर्फको बन्द सूची निर्वाचन कार्यालयमा बुझाएर प्रत्यक्षतर्फका उम्मेदवार छनौटका दलहरू व्यस्त छन्।
रुकुमपश्चिमबाट एकल उम्मेदवार सिफारिस भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता गोपाल शर्मा दम्पती प्रत्यक्ष र समानुपातिक गरी दुवैजना उम्मेदवार बनेका छन्।
पूर्वमाओवादी केन्द्रका नेता शर्मा रुकुमपश्चिमबाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस भए भने श्रीमती अञ्जु दहित समानुपातिकको बन्दसूचीमा समेटिएकी छन्।
नेकपाले निर्वाचन कार्यालयमा बुझाएको बन्दसूचीमा अन्जुको नाम थारु क्लस्टरबाट दुई नम्बरमा राखिएको छ।
नेकपाले जेनजी आन्दोलनपछि परिवारवाद हटाएको, युवालाई र नयाँलाई मात्र समानुपातिक बन्दसूचीमा राखेको बताएपनि एकै परिवारका श्रीमान/श्रीमती उम्मेदवार बनेपछि पार्टीभित्रै विरोध भएको छ।
नेकपाभित्र रुकुमपश्चिमबाट अन्य नेताहरु पनि प्रत्यक्षतर्फ उम्मेदवारका लागि आकांक्षी रहेपनि अन्तिममा शर्माको नाम एकल सिफारिस गरिएको आरोप लागेको छ।
प्रतिनिधि सभा समानुपातिकमा समेटिएकी अञ्जु २०७९ सालको प्रदेशसभा निवार्चनमा प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भएकी थिइन्।
श्रीमान श्रीमती दुवैजना उम्मेदवार बनेपछि शर्मा दम्पतीको पार्टीभित्र आलोचना भएको हो।
नेकपाकी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘श्रीमान प्रत्यक्षतर्फ र निर्वाचन हारेकी श्रीमती समानुपातिकमा वा रे पावर।’
अन्जु गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा मओवादी केन्द्रबाट बर्दियाको बारबर्दिया नगरपालिकाको नगर उपप्रमुखमा ११ हजार ११ मत ल्याएर निर्वाचित भएकी थिइन्। बारबर्दियाको प्रमुखमा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
त्यसपछि उनी २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन्। उनी बर्दिया निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवारी बनेकी थिइन्। प्रदेशसभा निर्वाचनमा उनी ११ हजार ४९० मत प्राप्त गरेर तेस्रो भएकी थिइन्।
यस्तै, गोपाल शर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुकुमपश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सोही कार्यालयकालमा शर्मा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री समेत बने।
Shares

प्रतिक्रिया