कर्णाली


कर्णालीका १२ मध्ये ६ निर्वाचन क्षेत्रमा एमालेले टुङ्गायो प्रतिनिधिसभा उम्मेदवार

कर्णालीका १२ मध्ये ६ निर्वाचन क्षेत्रमा एमालेले टुङ्गायो प्रतिनिधिसभा उम्मेदवार

नेपालखबर
पुस २०, २०८२ आइतबार २१:५९, सुर्खेत

नेकपा एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ।

कर्णाली प्रदेशमा रहेका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्र मध्ये हालसम्म ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागेको हो। 

एमालेले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र २, दैलेख–२, जुम्ला, रुकुमपश्चिम र सल्यानमा उम्मेदवारका लागि नेताहरुको नाम सिफारिस गरिएको छ। 

नेकपा एमाले कर्णाली प्रदेश कमिटिका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट ध्रुकुमार शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, सल्यानबाट गुलावजंग शाह, जुम्लाबाट शान्तिलाल महत र रुकुमपश्चिमबाट नन्दाराम देवकोटाको नामा एकल सिफारिस भएको छ। 

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेको उम्मेदवार सिफारिस भएका शाही २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई पराजित गरेका शाही २०७९ मा भने खड्कासँग पराजित बनेका थिए। 

आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि खड्का र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। शाही अहिले एमाले कर्णाली प्रदेश कमिटीको सचिव छन्। 

पहिलो पटक संसदीय चुनावको अभ्यासमा होमिन लागेका नन्दाराम देवकोटा एमाले सुर्खेत जिल्ला अध्यक्ष हुन्। 

यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर–२ मा भने चुनाव गरेर उम्मेवार सिफारिस गरिएको छ। पाँच वटा स्थानीय तहहरु मिलेर बनेको निर्वाचन क्षेत्रमा ४ जना नेता आकांक्षी थिए। 

निर्वाचनबाट एमालेका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालको नाम एक नम्बरमा सिफारिस भएको छ। उनले सर्वाधिक ६७ मत प्राप्त गरेका थिए। यस्तै, एमाले पूर्व पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, कर्णाली प्रदेशका पूर्वसभामुख राजबहादुर शाही र एमाले केन्द्रीय सदस्य राजबहादुर बुढाले क्रमश ६६, ६१ र ५० मत प्राप्त गरेका थिए। 

साथै दैलेख निर्वाचन क्षेत्र नम्बर–१मा भने उम्मेदवारहरु धेरै भएपछि नेताहरुको नाम केन्द्रमा पठाइएको छ। आकांक्षी धेरै भएर सर्वसम्मतीको प्रयास असफल भएपछि उम्मेदवार छान्ने जिम्मेवारी पार्टी केन्द्रलाई दिइएको हो। यस क्षेत्रबाट पूर्वप्रतिनिधिसभा सांसद रविन्द्रराज शर्मा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का र सुनिता बिसीको नाम सिफारिस भएको छ। 

शर्मा यसअघि २०७४ मा प्रतिनिधिसभामा विजयी भइसकेको व्यक्ति हुन्  २०७९ मा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका शर्मा तत्कालिन एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीका अम्बरबहादुर थापासँग पराजित भएका थिए। 

यस्तै, सल्यानबाट एकल सिफारिस भएका शाह २०७४ मा कर्णाली प्रदेशसभामा निर्वाचित भएका थिए। नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहेका शाह २०७९ को निर्वाचनमा पनि प्रदेशतर्फ उम्मेदवार थिए। उनि नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र मिलेर बनेको गठवन्धनका उम्मेदवारसँग पराजित भए। 

जुम्लाबाट उम्मेवार सिफारिस भएका शान्तिलाल महत एमाले जुम्ला जिल्ला अध्यक्ष हुन्। उनि पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका हुन्। 

यस्तै, रुकुमपश्चिबाट जिल्ला कमिटी अध्यक्ष नन्दाराम देवकोटाको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। देवकोटा तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पराजित भएका थिए। एमालेको संगठन कमजोर रहेको रुकुमपश्चिमा यस पटक पनि देवकोटा नै उम्मेदवार बनेका छन्। 

एक वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा एमाले केन्द्रीय सदस्य निरज आचार्य, डम्बरहादुर सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। नेकपा एमाले जाजरकोटका अनुसार आचार्य, सिंह, अनेरास्ववियुका पूर्वकेन्द्रीय उपाध्यक्ष नारायण घर्ती, एमाले नेता गणेश थापा र कर्णाली प्रदेशसभाका पूर्वसदस्य कौशीला खत्रीको नाम सिफारिस भएको छ। 

यस्तै, कालिकोट, हुम्ला, मुगु र डोल्पाबाट हालसम्म पनि एमालेले उम्मेदवार सिफारिस गरेको छैन्। कालिकोटबाट एमाले केन्द्रीय सदस्य नगेन्द्र शाही (नेशनल), हुम्लाबाट दलबहादुर रावल, छक्कबहादुर लामा, दल फडेरा, मुगुबाट एमाले केन्द्रीय सदस्य दानसिंह परियार, राजबहादुर कार्की र डोल्पाबाट गणेशबहादुर शाही, जिल्ला कमिटि अध्यक्ष लंकबहादुर रोकाय लगायत नेताहरुको नाम चर्चामा छ।

यस्तै, नेकपा एमाले डोल्पाले उम्मेदवार छनौट लगायत विभिध विषयमा भोली (पुस २१) गते बैठकको आव्हान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad