कर्णाली


खाडीमा श्रम बेचेर देश धनी हुँदैन, ऊर्जा नै अर्थतन्त्रको मुख्य इन्जिन हो : शाक्य

खाडीमा श्रम बेचेर देश धनी हुँदैन, ऊर्जा नै अर्थतन्त्रको मुख्य इन्जिन हो : शाक्य

नेपालखबर
पुस १९, २०८२ शनिबार १५:२९, सुर्खेत

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनशक्ति वैदेशिक रोजगारीमा पठाएर मात्रै राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘उत्कृष्ट ग्राहक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्न ऊर्जा क्षेत्रको विकास अनिवार्य रहेको उल्लेख गरे।
 
निर्देशक शाक्यले बिजुलीलाई उद्योगधन्दाका लागि सबैभन्दा महत्वपूर्ण र सस्तो कच्चा पदार्थको रूपमा व्याख्या गरे। ‘नेपाल जस्तो विकासोन्मुख देशमा मात्र होइन, युरोप र अमेरिकामा पनि ऊर्जा नै अर्थतन्त्रको सबैभन्दा ठूलो ड्राइभर हो,’ उनले भने, ‘हाम्रो जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन। हामीले आफ्नै माटोमा श्रम गर्नुपर्छ र त्यसका लागि प्राधिकरणले गाउँगाउँमा बिजुली पुर्‍याउनेछ।’

कर्णालीको औद्योगिक विकासका लागि मेरुदण्ड मानिएको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निरीक्षण गर्दै शाक्यले आगामी १५ दिनभित्र उक्त लाइन ‘चार्ज’ गर्न कडा निर्देशन दिए।

३२ केभी लाइन सञ्चालनमा आएपछि कर्णालीमा ठूला उद्योगहरू स्थापना हुने र अर्को वर्षसम्ममा प्रदेशको आर्थिक अवस्थामा ठूलो सुधार आउने उनको दाबी छ।

सुर्खेतको सव-स्टेशन नजिकै मुख्य राजमार्गमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको तयारी गर्न समेत उनले निर्देशन दिएका छन्। 

प्राधिकरणले कोसी प्रदेशबाट सुरु गरेको ‘ग्राहक सम्मान अभियान’ कर्णालीमा आएर सम्पन्न भएको छ। उपभोक्ताले १ रुपैयाँको बिजुली खपत गर्दा त्यसको ५ गुणा बढी उत्पादन गर्ने हुनाले ग्राहक नै प्राधिकरणको मुख्य स्रोत र राज्यका खम्बा भएको शाक्यको तर्क छ।

यद्यपि, कर्णालीमा अझै पनि भरपर्दो विद्युत् आपूर्ति हुन नसकेको कुरा उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले स्वीकार गरे। ‘हामीले ग्राहकको मन अझै जित्न सकेका छैनौँ, तर भरपर्दो बिजुलीका लागि हामी रातदिन खटिरहेका छौँ,’ श्रेष्ठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad