कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न अनुरोध गरेका छन्।
मंगलबार सभामुख नन्दा गुरुङ र प्रदेशसभा सचिवालय सचिव जीवराज बुढाथोकीसँग भेटघाट गर्दै मुख्यमन्त्री कँडेलले पुनर्निर्माणमा जुट्न अनुरोध गरेका हुन्।
कँडेलले प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै शीघ्र मर्मत र सरसफाइ अभियान सुरुगर्न आग्रह गरे।
उनले भने, ‘बजेटको अभावलाई कारण नबनाई तत्काल काम सुरु गर्नुपर्छ, आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ।’
मुख्यमन्त्री कँडेलले सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापन जस्तै प्लास्टिकका कुर्सी, सामान्य सरसफाइ सहित १० दिनभित्र प्रशासनिक भवनको पुननिर्माण व्यवस्थापन गर्न निर्देशन दिए।
उनले भने, ‘कर्मचारी हुनुहुन्छ, तर ढलेका बोर्ड, फोहर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान दिइएको छैन्। अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ।’
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेश सभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए।
Shares

प्रतिक्रिया