कर्णाली


जेनजी आन्दोलनको भावनालाई बुझेर काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन

जेनजी आन्दोलनको भावनालाई बुझेर काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन

नेपालखबर
असोज २५, २०८२ शनिबार २०:३४, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भाद्र २३ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन्। 

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग बसेको बैठकलाई सम्बोधन गर्दै उनले सुधारलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे। 

अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको बताउँदै मुख्यमन्त्री कँडेलले  सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिए। 

‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’ उनले भने। 

मुख्यमन्त्री कँडेलले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उल्लेख गरे। उनले भने, ‘हामीले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्छ।’

उनले सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पारे। 

मुख्यमन्त्री कँडेलले वर्तमान संघ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन लगायतका काममा पहल गर्ने सचिवहरूलाई अनुरोध गरे। 

यस्तै, मुख्यमन्त्री कँडेलले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad