कर्णाली प्रदेशमा पनि राष्ट्रिय कोदो दिवस–२०८२ मनाइएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार प्रथम कोदो दिवसलाई भव्य रुपमा मनाएको हो।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई कोदोको पिठो लगायतको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।
संघीय सरकारको गत साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गतेका दिन राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विविध कार्यक्रम गरेर मनाएको छ।
मन्त्रालयले मानव सेवा आश्रममलाई कागुनो २० किलो, कोदोको पिठो ५० किलो, दूध ५० लिटर, चिनी १० किलो, आलु एक सय किलो, खीर मसला, बन्दा, काँक्रा गरेर जम्मा २८ हजार ६०० रुपैयाँ बराबरको समान हस्तान्तरण गरिएको मन्त्रालयका सचिव परशुराम रावतले जानकारी दिए।

कर्णालीमा २१ हजार ४५५ टन कोदो उत्पादन
सचिव रावतका अनुसार कर्णाली प्रदेशमा १७ हजार ८४ हेक्टर जमिनमा खेति भएर २१ हजार ४५५ टन कोदो उत्पादन हुने गरेको छ। कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्लामा कोदो जन्य बालि प्रथम खाद्य बाली र जुम्लामा दोस्रो खाद्य बालीको रुपमा रहेको उनले बताए।
कोदोमा सुक्ष्म पौष्टिक तत्वहरू क्याल्सियम, आइरन, पोटासियम पाइन्छ भने रोग किरा प्रतिरोधी क्षमता, जलवायु अनुकुलित (सुख्खा, कम मल आवश्यक पर्ने) जस्ता गुणहरुले गर्दा खाद्य सुरक्षा, पोषण, आयआर्जन र जीविकोपार्जनमा यसको विशेष महत्त्व रहेको सचिव रावतले बताए।
‘कर्णाली प्रदेशमा खाध्य सुरक्षाको दृष्टिकोणले २८ हजार ३६५ मेक्ट्रिक टन बचतमा रहेको भएतापनि हिमाली जिल्लाहरू डोल्पा, हुम्ला, मुगु र कालिकोटमा २२ हजार ६७३ मेक्टिटन खाद्यान्न अपुग भएको तथ्यांक छ। कृषि मन्त्रालयको २०१९ को तथ्यांकअनुसार, नेपालमा १८०.१ मिलियन रुपैयाँ बराबरको कोदोजन्य बाली खाद्यान्न, बेकरी, मादक पदार्थ, र उद्योगका लागि आयात भएको छ’ सचिव रातवले भने।
यस्तै, उनले कर्णाली प्रदेशमा कोदो खेतीका लागि उपयुक्त जमिन, हावापानी रहेको बताए। ‘कर्णाली प्रदेशमा भूगोल बनावट, हावापानी र खेती अभ्यासहरू हेर्दा कोदो बालीको निकै सम्भावना रहेको छ। यस क्षेत्रमा लामो समयदेखि खेति हुँदै आइरहेको हुनाले धेरै जातीय विविधता पाइने गरेको छ।

विभिन्न संघ/संस्थाको समन्वयमा हुम्ला जिल्लाको दुधे चिनो, जुम्ला जिल्लाको रातो कोदो राष्ट्रिय बिऊ प्रणालीमा बिधिवत दर्ता भई गुणस्तरीय बीऊ उत्पादन कार्य अगाडि बढिरहेको छ’ उनले भने, ‘कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय, रैथाने बालीहरूको प्रवर्द्धन र संरक्षणमा ध्यान दिँदै आफ्ना बार्षिक नीति तथा कार्यक्रम मार्फत योगदान पुर्याउँदै आइरहेको सबैमा जानकारी नै छ।’
मन्त्रालयले संघीय कार्यक्रम अन्तर्गत प्रांगारिक खेति प्रवर्द्धन, रैथान बाली प्रवर्द्धन कार्यक्रमहरू प्रदेशकै १० जिल्लाहरूमा कृषि विकास कार्यालय र स्थानीय तहहरु संगको समन्यव र विभिन्न विकास साझेदारहरु संगको सहकार्यमा संचालन गर्दै आइरहेको छ।
यस्तै, मन्त्रालयले कर्णालीका स्थानीय बालीहरू कोदो, चिनो, कागुनो, सिमि, मार्से, फापर, स्याउ, ओखर आदि उच्च मूल्य बस्तुहरुको सहज बजार र मूल्यका लागि मापदण्ड तयार गरि कार्यन्वयन गरिरहेको जनाएको छ।
कोदोजन्य लगायत रैथाने बालीहरूको खाद्य परिकारको विविधता र प्रवर्द्धन गर्न मेला महोत्सव जस्तो क्रियाकलाप निरन्तर रुपमा गर्दै आइरहेको सचिव रावतले जानकारी दिए।
उनले भने, ‘कर्णालीलाई थाह छ कि कर्णालीको सम्वृद्धि यहाँको स्थानीय र रैथाने बस्तुबाट हुन्छ। जो भूगोल सुहाउँदो, जलवायु अनुकुलित हुने क्षमता भएको र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण छन्। यी बालीहरूको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरण गर्न अनुसन्धान, स्थानीय बीउ प्रणाली सबलीकरण, महिला मैत्री कृषि औजार र उपकरण र मूल्यशृंखला सवलीकरण कृषक प्रोत्साहन कार्यक्रम र उपभोक्ताको चेतना अभिवृद्धि थप सहयोग गर्नुपर्ने आवश्यक देखिन्छ।’
Shares

प्रतिक्रिया