ठूलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ। जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार जलसतह उच्च हुँदै गएको हो।
जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ।
मंगलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’ सूचनामा भनिएको छ।
यस्तै, जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांक अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।
यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईबस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ।
जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको छ।
Shares

प्रतिक्रिया