कर्णाली प्रदेशभर ४० प्रतिशत बढी धान रोपेर सकिएको छ। असार १५ सम्म ४० प्रतिशत बढी धान रोपेर सकिएको हो।
कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अन्तरगतको कृषि विकास निर्देशनालयले प्रदेशका केही जिल्लाहरुमा धान रोपाइँ अन्तिम चरणमा पुगेको जनाएको छ।
कृषि विकास निर्देशक तिलक पाण्डेले कर्णाली प्रदेशमा कुल २ लाख ९९ हजार ३३९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४० हजार ८८४ हेक्टरमा धान खेती गरिँदै आएको बताए।
उनकाअनुसार हालसम्म १६ हजार हेक्टर क्षेत्रफल अर्थात ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।

निर्देशक पाण्डेका अनुसार धान रोपाइँमा जुम्ला, हुम्ला र डोल्पा जिल्लाहरूको धान रोपाइँ अन्तिम चरणमा पुर्याएका छन्। यी तीन जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ।
यस्तै, जुम्ला जिल्लामा २,८९० हेक्टर खेतियोग्य जमिन मध्ये २,६०१ हेक्टरमा, हुम्ललामा ५८५ हेक्टरमध्ये ५२६।५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
डोल्पामा ९० प्रतिशत, सल्यानमा ६५ प्रतिशत, रुकुमपश्चिम ५५ प्रतिशत, कालिकोटमा ४२ प्रतिशत, मुगुमा ४० प्रतिशत र दैलेखमा ३२ प्रतिशत रोपाइँ सकिएको निर्देशक पाण्डेले बताए।
यस्तै, जाजरकोट जिल्लामा १७ प्रतिशत र कुल १४,९२१ हेक्टर धान खेतीयोग्य जमिन रहेको सुर्खेत जिल्लामा हालसम्म २,९८४ अर्थात २० प्रतिशत रोपाइँ सकिएको छ।
Shares

प्रतिक्रिया