कर्णाली


पाँच वर्षदेखि सम्बन्धमा थियो खटपट, पल्टनबाट फर्किएको डेढ घण्टामै श्रीमतीको हत्या

पाँच वर्षदेखि सम्बन्धमा थियो खटपट, पल्टनबाट फर्किएको डेढ घण्टामै श्रीमतीको हत्या

दिनेश बुढा
बैशाख २२, २०८२ सोमबार २१:४०, सुर्खेत

आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा एक महिलाको शव फेला पर्‍यो। भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा बिहान ५ बजे शव फेला परेको थियो।

बिहानै थाकलको खजुरी टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे। इलका प्रहरी कार्यालय छिन्चु भेरीगंगाबाट गएको प्रहरी टोलीले शवको बारेमा अनुसन्धान थाल्यो। दिनभर अनुसन्धान गरेको प्रहरीले शवको पहिचान समयमै गर्न सकेन। त्यसपछि घटनाको बारेमा गाउँभरी हल्ला फैलिएपछि आफन्तले शव पहिचान गरे। शव थियो, सुर्खेतकै गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको।

घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का, डीएसपी मोहनजंग बुढा, ईलाका प्रहरी कार्यालय छिन्चुको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर थप अनुसन्धान थाल्यो। प्रेमाको आत्महत्या नभएर हत्या भएको प्रहरी अनुसन्धानले देखायो। 

त्यसपछि आइतबार साँझ नै उनका श्रीमान २८ वर्षीय दर्शन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खत्रीले आफ्नो श्रीमती प्रेमाको हत्या गरेको स्वीकार गरिसकेका छन्।

पल्टनबाट फर्किएको डेढ घण्टामा हत्या
शनिबार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारमा खत्रीले श्रीमती प्रेमा ओलीलाई आफूले सामानहरू पठाएको भन्दै बोलाए। प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइतीमा छाडेर हिँडेको उनका मामा नाता पर्ने ईश्वर खड्काले जानकारी दिए।

मामाका अनुसार श्रीमानले सामान साथीसँग पठाएको र लिन जान लागेको माइतीलाई जानकारी गराएकी थिइन्। त्यसपछि प्रेमा छिन्चु बजारतिर लागिन्।

उनका श्रीमान खत्री नेपाली सेनाको वीरदल गणमा कार्यरत थिए। उनी बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगे। उनले प्रेमालाई आफू केही दिनपछि आउने तर सामान साथीसँग पठाएकाले तिमी बाहेक अरु कसैलाई नपठाउनु भन्दै छिन्चु बोलाएका थिए।

प्रेमा घरबाट सामान लिन भनेर छिन्चु बजार पुगिन्। साँझ ६ः३० बजेतिर छिन्चुमा श्रीमान र श्रीमतीबीच भेट भयो। खत्रीले सामान साथीसँग पठाएको भनेर ढाँटेका थिए। उनीहरूबीच भेट भइसकेपछि घरतर्फ लागे। विगत पाँच वर्षदेखि सम्बन्धनमा खटपट भएको उनीहरूको बाटोमै झगडा सुरु हुन थाल्यो।

छिन्चुबजारदेखि साँझ ७ बजेतिर उनीहरू दुवैजना झिगेनारा खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ लागे। त्यहाँ उनीहरूको आधा घण्टा बढी झगडा चलेको प्रहरीको भनाइ छ।

उनीहरूबीच भेट भएको केही बेरमा खटपट भएर झगडा परेपछि घटना भएको खत्रीले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी रुपेश खड्काले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा खत्रीको भनाई उद्धत गर्दै प्रहरी प्रमुख खड्काले भने ‘आधा घण्टासम्म हामी दुवै जनाको झगडा भयो। सम्झाउने अनेक प्रयत्न गर्दा प्रेमाले नमानेपछि कुटेँ। झण्डै आधा घण्टासम्म जंगलमै बस्यौँ। पछि प्रेमाको टाउकोमा ढुंगाले हानेर लडाएँ।’

विगतदेखि एक अर्कामाथिको शंकाले यो घटना घटेको निष्कर्ष प्रहरीको छ। 

एसपी खड्काले भने, ‘प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्ने भनिरहने र श्रीमान खत्रीले पनि प्रेमामाथि शंका गर्दा हत्या जस्तो गम्भीर अपराध भयो।’

रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफैँ मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन्।

प्रेमालाई खोल्सामा फालिसकेपछि खत्री राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ। खत्रीले आफू पल्टनबाट फर्किर श्रीमती प्रेमासँग भेट भएको करिब डेढ घण्टामै हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रेमाको हत्या आफू एक्लैले गरेको र प्रेम सम्बन्ध नै मुख्य कारण भएको बयान खत्रीले दिएका छन्। खत्रीले प्रेमासँग विवाह भएको शुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र विस्तारै बढी शंका गर्दा पाँच वषैदेखि सम्बन्ध राम्रो नभएको बयान प्रहरीलाई दिएका छन्।

प्रहरीका अनुसार प्रेमाको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ।

गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीया छोरीसहित प्रेमा एक्लै बस्दै आएकी थिइन्। उनको माईती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो। खत्री र प्रेमाबीच विवाह भएको सात वर्ष भयो। यसअघि २०८१ भदौ असोजतिर खत्री बिदामा घर आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad