कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइन विस्तारमा विवाद उत्पन्न भएपछि सुरक्षाकर्मीको सहायतामा काम थालिएको छ। बाँकेको कोहलपुरबाट सुर्खेत जोड्ने विद्युतको १३२ केभी प्रशारण लाइन विस्तारमा पटक-पटक स्थानीयले अवरोध गर्दै आएका छन्।
शनिबार बाँकेको बैजनाथ गाउँपालिका-४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गरेपछि सुरक्षाकर्मीको सहायकतामा काम थालिएको कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका इन्जिनियर कृष्ण खड्काले जानकारी दिए।
उनकाअनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निर्माणस्थलमा सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) खटाएर विस्तारको कामलाई निरन्तता दिएइको छ। बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेको हुँदा पनि स्थानीयले पटक-पटक अवरोध गर्दा सुरक्षाकर्मीको सहयोगमा काम गर्नुपर्ने परिस्थिति निर्माण भएको इन्जिनियर खड्काले बताए।
उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेर अहिले जंगल क्षेत्रमा तीन वटा टावर निर्माणको काम भइरहेको छ। अबको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने तयारी छ। बानियाभारमा स्थानीयले अवरोध गरेका कारण तीन टावर निर्माण गर्न बाँकी थियो।’
यस्तै, उक्त क्षेत्रका नागरिकहरुले कर्मचारी र मजदुरलाई गाउँ प्रवेशमा रोक लगाउँदा लामो समयदेखि टावर निर्माणको काम रोकिएको थियो। प्रशारण लाइन तथा जिल्ला प्रशासन र स्थानीयबीच पटक-पटक छलफलहुँदा पनि सहमति हुन सकेपछि सुरक्षाकर्मीको घेरामा लाइन विस्तारको काम थालिएको हो।
यस्तै, यसअघि स्थानीयले लाइन विस्तारमा विकल्प खोज्नुपर्ने भन्दै अदालत पुगेका थिए। तर, अदालतले रिट खारेज गरिदिए पनि अवरोध कायमै राखेका थिए।
उक्त ठाउँ वरपर करिब २ सय रुख कटान गर्नुपर्ने र बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण हुनेछन्। तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन तथा केही स्थानीयको घरहरु प्रभावित हुने आयोजनाले जनाएको छ।
०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो। तर, ०७९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न ठाउँमा भइरहेको अवरोध, सरकारी प्रक्रियामा ढिलासुस्ती, कोरोना महामारी (कोभिड-१९) का कारण ढिलाइ भएको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए। 
उनका अनुसार बाँकेको कोहलपुरबाट शुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ। प्रशारण लाइनको १४ किलोमिटर क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ।
जेठसम्ममा कोहलपुर-सुर्खेत प्रशारण लाइनमा निर्माण गर्नुपर्ने १६१ ओटा टावर मध्ये १५७ टावर निर्माण र तार तानेर सकिने लक्ष्य आयोजनाको छ। हर्रे-छिन्चु-सुब्बाकुना यसअघि नै टावर निर्माण सकेर तार तानेर सकिएको छ।
Shares

प्रतिक्रिया