कर्णाली


नवराज विकसहित ६ जनाको हत्यामा उच्च अदालतबाट २३ अभियुक्तको जन्मकैद सदर

नवराज विकसहित ६ जनाको हत्यामा उच्च अदालतबाट २३ अभियुक्तको जन्मकैद सदर

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २२:१६, सुर्खेत

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेको हो। उनीहरूविरुद्ध जातीय छुवाछुत अभियोगको कसुरमा भने सबैलाई सफाइ दिँदै 'केही उल्टी' हुने फैसला भएको छ।

नवराज विककी प्रेमिका भनिएकी किशोरीकी आमालाई उच्च अदालतले पूर्णरुपमा सफाइ दिएको छ। जिल्ला अदालतले उनलाई जातीय छुवाछुत मुद्दामा दोषी ठहर गरेको थियो।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी हत्या गरेको ठहर गर्दै वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याउँदै जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूबाट जनही ४० हजार रूपैयाँ जरिवाना भराई मृतकका परिवारलाई १ लाख ५३ हजार ३३३ का दरले क्षतिपूर्तिवापत दिने फैसला पनि भएको थियो।

यस्तै १७ जना मल्ल थरका प्रतिवादीलाई जातीय छुवाछुतमा पनि दोषी भनेको अदालतले प्रत्येकलाई थप २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो।

यस्तै किशोरीकी आमालाई जातीय छुवाछुत कसुरमा मात्र दोषी ठहर गर्दै २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

जिल्ला अदालतबाट ८ जनाले सबै कसुरमा पूर्णतः सफाइ पाएका थिए। जिल्लाको यो निर्णय उच्चबाट पनि सदर भएको छ।  

जाजरकोटको भेरी नगरपालिका-४, सानागाउँका २१ वर्षीय नवराज विक साथीहरूसहित प्रेमिकालाई लिन जाँदा गाउँलेसँग विवाद भएको थियो। त्यसक्रममा नवराज विक र उनका साथीहरू सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो।

उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

यस घटनामा प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाएको थियो।

जिल्ला अदालतले २३ जनालाई कर्तव्य ज्यानमा दोषी ठहर गर्दा तीमध्ये १७ जनालाई जातीय छुवाछुतमा पनि कसुरदार मानेको थियो। ज्यान मार्ने उद्योगलाई भने कुटपिटमा परिणत गरी सजाय तोकिएको थियो। यो सजाय पाउने पनि १७ जना नै थिए।

उच्च अदालतबाट जन्मकैद सदर भएकाहरू:
परिवर्तित नाम ५४ रूकुम पश्चिम ३६ (१) (किशोरी),
परिवर्तित नाम ५४ रूकुम पश्चिम ३६ (३) (किशोरीका बुवा),
टोपबहादुर मल्ल,
मानबहादुर मल्ल,
विनोद मल्ल,
सन्तोष मल्ल,
डिल्ली मल्ल ठकुरी,
डम्बरबहादुर मल्ल,
प्रेमबहादुर ठकुरी,
नेत्रबहादुर मल्ल,
विष्णु मल्ल,
हर्कबहादुर मल्ल,
तिलक चन्द,
इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी,
लिपेन्द्रकुमार मल्ल,
रेशम बहादुर मल्ल,
मोहन पुन मगर,
सर्वजित भन्ने सविन पुन,
धनाराज राना,
भीमबहादुर पुन मगर,
रमित पुन मगर,
विराज पुन मगर र नवीनकुमार घर्ती (जीएम) 

जिल्लाले जातीय छुवाछुतको कसुरमा दोषी ठहर गरेकामा उच्चबाट सफाइ पाउने:
परिवर्तित नाम ५४ रूकुम पश्चिम ३६ (१) (किशोरीकी आमा)

जिल्लाबाट पूर्ण सफाइ पाएर  उच्चबाट पनि सदर भएकाहरू:
तुलबहादुर मल्ल,
दीपेन्द्र चन्द,
तुलाराम घर्ती,
डिल्ली घर्ती
क्वापे भन्ने लोकेन्द्र घर्ती,
सौरभ पुन,
भीमबहादुर बुढा,
इन्द्रबहादुर मल्ल 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad