सुर्खेतको मेहेली र सल्यान जिल्लाको कालाखोलाका स्थानीयहरु जंगली जनावरको त्रासमा बस्नु परेको छ।
जंगली जनावर बाघले पशुचौपायमाथि आक्रमण गर्दै गएपछि यहाँका बस्तीहरु त्रासैत्रासमा रात बिताउन बाध्य छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक नै मच्चाउन थालेको छ।
मेहेली र कालाखोलावासी बाघको त्रासले दिउँसै एक्लै हिड्न डराउन थालेका हुन्। पछिल्लो ३ महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायहरु मारेपछि स्थानीयहरु आतंकित छन्।
वीरेन्द्रनगर नगरपालिका–१६ का वडाध्यक्ष डण्डबहादुर विकले एक हप्ताअघि मात्रै गोठमा बाधिएको गोरु बाघले मारेको जानकारी दिए।
उनले भने, ‘बाघले हाम्रो वडाको सबै भन्दा धेरै मेहेली लगायत डाँडा खोरिया, तीनघरे, काफलगैरी, देवस्थल, लेकछडा, भित्रीगैरी बस्तीमा पशुचौपाया मार्ने गरेको छ। जंगलमा चराउन लगिएका बाख्राहरु जंगलमै मार्ने गरेपछि स्थानीय नागरिकहरुलाई समस्या भएको छ।’
वडाध्यक्ष विकका अनुसार खोच र जंगल क्षेत्र धेरै भएकाले बाघ देखिदैन्। तर, चराउन लगिएका पशु चौपायमा क्षती पु¥याउने गरेको छ। केही दिनको फरकमा बाघले धमाधम पशुधनमा क्षती पुर्याउन थालेपछि स्थानीय पीडामा छन्।
बाघको व्यवस्थापनका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरेपनि प्रभावकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ। बाघलाई नियन्त्रणमा लिन कठिन भूगोलका कारण समस्या भएको र एकै ठाउँ नबस्नेहुँदा स्थानीय कृषकले पालेका पशुहरु सखाप पार्ने गरेको वडाध्यक्ष विकले बताए।
उनका अनुसार पछिल्लो १ वर्ष यतादेखि मेहेली क्षेत्रमा बाघ देखिदै आएको छ। बाघले आतंक मच्चाएको मेहेली क्षेत्र वीरेन्द्रनगर नगरपालिका–१६ र लेकवेशी नगरपालिका–८ नम्बर वडा बीचमा पर्दछ।
खोरमै पसेर बाघले बाख्रा मार्दा स्थानीय त्रासमा
यस्तै, सल्यानको कालिमाटी गाउँपालिका–२ कालाखोलामा बाघले बस्तीमा पसेर गत आइतबार २ किसानका ४ बाख्रा मारेको छ।
साथै एउटा बाख्रालाई घाइते बनाएको छ। रातिको समयमा कालाखोलाका धामप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारीको घरसँगै जोडिएको खोरमा पसेर बाघले बाख्रा मारेको हो।
किसान धामप्रसाद अधिकारीले बाघले खोरमा पसेर ३ वटा बाख्रा मारेर खाएको र एउटालाई घाइते बनाएको बताए।
यस्तै, अर्का किसान कृष्णप्रसाद अधिकारीको पनि एउटा बाख्रा मारेर खाएको छ। बस्तीमै छिरेर घरसँगै सटेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि सिंगो बस्ती नै त्रसित बनेको हो।
‘बाघको त्रासका कारण स्थानीय एक्लै घरदेखि टाढा जान सकेका छैनन्। बाघबाट पशुचौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन्,’ वडा नं २ का सदस्य अमरबहादुर ओलीले भने, ‘बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने कालिमाटी गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको छ। ३ महिनाअघि मात्र बाघले कालाखोलाकै एक स्थानीयका धेरै बाख्रा मारेर खाएको थियो।’
बाघ बस्तीमा पस्न थालेपछि राती शौचालय जानका लागि बाहिर निस्कन र दिउँसो घरमा स–साना बालबालिकालाई एक्लै छाडन नसकिने अवस्था सृजना भएको स्थानीयको भनाइ छ।
स्थानीय टीका अधिकारीले बस्तीका सबै मिलेर चारैतिरबाट धपाउन खोजेपनि बाघलाई भगाउन नसकिएको जानकारी दिइन्। उनले भनिन्, ‘अहिले गाईबाख्रा चराउन, घाँसदाउरा गर्न जंगल जान सकिदैन्। जंगल नजिकै बस्ती भएकाले बस्तीमा बाघ पस्न थालेको छ। विगतमा बेलाबेलामा मान्छेलाई पनि आक्रमण गर्दै आएकाले पशुपालन गर्न पनि डर छ।’
स्थानीय लोकबहादुर केसीले निकुञ्जको सीमा क्षेत्र खुला भएकाले जंगली जनावरले मान्छेलाई दुःख दिँदै आएपछि बसाईँसराईँ गर्नेक्रम बढेको बताए।
Shares

प्रतिक्रिया