कर्णाली


उच्च अदालत सुर्खेतअगाडि धर्ना बसेकी निर्मला शाहीलाई प्रहरीले यसरी गर्‍यो लछारपछार (भिडिओ)

उच्च अदालत सुर्खेतअगाडि धर्ना बसेकी निर्मला शाहीलाई प्रहरीले यसरी गर्‍यो लछारपछार (भिडिओ)

दिनेश बुढा
चैत २२, २०८१ शुक्रबार १२:२०, सुर्खेत

उच्च अदालत सुर्खेतको गेटमा धर्ना बसेकी एक महिलालाई प्रहरीले लछारपछार गरिरहेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा छाएको छ। 

उक्त भिडिओ हो- पति हत्याका अभियुक्तलाई धरौटीमा छाडेपछि उच्च अदालत गुहार्न पुगेकी जुनीचाँदे गाउँपालिका-६, मइपकी निर्मला शाहीको। 

सोमबारदेखि उच्च अदालतअगाडि धर्नामा बसेकी उनलाई प्रहरीले बिहीबार निन्त्रणमा लिइरहेको दृश्य भिडिओमा कैद गरिएको हो। 

प्रहरीले भने निर्मला र उनकी बहिनी शर्मिला शाहीले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि नियन्त्रणमा लिइएको दाबी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले धर्नामा बसेकी निर्मलाले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेपछि नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘उहाँ आफ्नो मागसहित ४/५ दिनदेखि धर्नामा हुनुहुन्थ्यो। आफ्नो शरीरमा आफैँले पेट्रोल छर्केर आगो लगाउन खोजेपछि उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका हौँ।’

गत माघ १८ गते निर्मलाका पति रामबहादुर शाहीको हत्या गरिएको थियो। शाही अघिल्लो दिन माघ १७ गते जुनिचाँदे गाउँपालिका-५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए।

खेलकुद हेरेर फर्किने क्रममा काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएका थिए। 

अनुसन्धानका क्रममा रामबहादुरको हत्यामा संलग्न आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

रामबहादुरको हत्यामा संलग्न आरोपमा स्थानीय तुलाकुमारी शाही, वीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप-१ का नाबालकलाई पक्राउ गरेको थियो।

फागुन ११ गते दर्ता कर्तव्य ज्यान मुद्दामा फागुन १३ गते थुनछेक बहसपछि अदालतले ५ जनालाई धरौटी र साधारण तारेखमा छाड्यो भने ४ जनालाई मात्र पुर्पक्षका लागि कारागार चलान गरेको छ।

अदालतले तुलाकुमारी, वीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गरेको हो भने २ लाख ५० हजार र १ लाख रुपैयाँ धरौटीमा क्रमश: रत्न र मैसरालाई रिहा गरेको हो भने रेशम, राम र नाबालकलाई साधारण तारेखमा छाडेको हो। 

रामबहादुरकी श्रीमती निर्मलाले भने धरौटीमा छाडिएकाहरूलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी छन्।

यसपछि आठबुँदे माग राख्दै निर्मला सोमबारदेखि उच्च अदालतअगाडि धर्नामा बसेकी थिइन्।

‘जिल्ला अदालतको आदेश चित्त नबुझेपछि धरौटी छुटेकाहरूलाई थुनामा राखी पाऊँ भनेर ७३ नम्बरअन्तर्गत मुद्दा अहिले उच्चमा विचाराधीन छ,’ उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले भने, ‘उहाँले दिनुभएको निवेदन प्रक्रियामा छ, जिल्ला अदालतबाट कैफियत माग भइसकेकाले प्रक्रियामा गइसकेको छ।’

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad