कर्णाली


कर्णाली प्रदेशसभामा ओली: कांग्रेस-एमाले सहकार्य चुनावसम्मै, संविधान परिमार्जन आवश्यकताअनुसार

कर्णाली प्रदेशसभामा ओली: कांग्रेस-एमाले सहकार्य चुनावसम्मै, संविधान परिमार्जन आवश्यकताअनुसार

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १७:१९, सुर्खेत

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट पारेका छन्।

कर्णाली प्रदेश सभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको पनि उल्लेख गरे।

‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ,’ उनले भने, ‘जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ। यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ।’

प्रधानमन्त्री ओलीले व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब विकासका सन्दर्भमा आधुनिक ढंगले अगाडि बढ्नुपर्ने धारणा पनि प्रदेश सभामा राखे।

‘अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरलरुपमा सुविधान उत्पन्न होस् भन्नेमा छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ । सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ।’

उनले ठूला दुई दल र अन्य सहयोगी दलको समर्थनमा संसद्मा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरू समझदारीका साथ काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने उद्घोष गरे।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरू ढुक्क रहनुहोला–यो सरकार भिजनसहितको स्थिर सरकारको हो। यही बाटोमा यो सरकार अघि बढ्छ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको सुन्दर सम्भावना बोकेको प्रदेश भएकाले यहाँका माथिल्लो कर्णाली, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, राकम कर्णाली, भेरी बबइ, दैलेखको पेट्रोल खानी, आदि आयोजना निर्माण, विस्तार सञ्चालनका क्रममा रहेको अवगत गराउँदै स्रोत सुनिश्चितताबिना नयाँ आयोजना बनाउने बेथितिमा सुधार ल्याइएको दाबी पनि गरे।

उनले कुनै अरोप-प्रत्यारोपमा नलागी तीनै तहका सरकरको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आह्वा गर्दै नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो संकल्प रहेको बताए।

प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूराका पूरा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गरेर नेपालीको सभ्यता र संस्कृतिलाई मास्ने प्रवृत्तिले जनताका बीचमा फाटो ल्याउने भएकाले नियन्त्रित अस्थिरताको प्रयास सफल नहुने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad