कर्णाली


कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु

नेपालखबर
फागुन १०, २०८१ शनिबार २०:४५, सुर्खेत

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न सुरु भएको छ। गत आर्थिक वर्षदेखि स्थापनाको काम सुरु गरिएकामा चालु आवमा निर्माण थालिएको हो।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको निर्देशनालयले जनाएको छ।
 
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य राखी तरल नाइट्रोजन प्लान्ट निर्माण सुरु भएको हो। प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्य पुरा हुने उनले बताए।

गत आवमा रु ४० लाखका विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर चालु आवमा रु चार करोड ८५ लाख बजेट विनियोजन भएपछि कर्णाली प्रदेशमा पहिलोपटक प्लान्ट निर्माण सुरु भएको प्रवक्ता कठायतले जानकारी दिए। प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनका चालु आवमा सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले सम्झौता भई काम अघि बढाइएको उनले बताए।

‘पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट आवश्यक पर्ने गर्दछ। नश्ल सुधारका लागि अहिले कर्णाली प्रदेशले पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ’, प्रवक्ता कठायतले भने।

बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने उनले विश्वास व्यक्त गरे। उनका अनुसार पशुपन्छी विकास निर्देशनालयले यहाँका दुई सय ५० किसानले पालन गरेका पशुचौपायामा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ।

दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी भएको मन्त्रालयले जनाएको छ। हाल एक हजार पाँच सय भन्दाबढी कृतिम गर्भधानको माग किसानबाट आइरहेको मन्त्रालयका प्रवक्ता कठायातले जानकारी दिए।

प्लान्ट स्थापना भएपछि तीन वर्षसम्म प्राविधिक पक्ष निर्माण व्यवसायले हेर्ने सम्झौता भएको छ। प्लान्ट स्थापनापछि नाफा र घाटा हिसाब आठ वर्षपछि मात्र आउने उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad