ad ad

कर्णाली


आमा कुरिरहेकी ८ महिने दिव्यान्सी

आमा कुरिरहेकी ८ महिने दिव्यान्सी

दिनेश बुढा
बैशाख ७, २०८१ शुक्रबार २०:१९, काठमाडौँ

कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका लागि आएकी दैलेखकी भीमा तामाङ (बलामी) को गत चैत २९ गते मृत्यु भयो।

दैलेखको आठबीस नगरपालिका–९, पिपलकोट घर भएकी २२ वर्षीया भीमाको उपचारकै क्रममा मृत्यु भएपछि शुक्रबार बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको थियो।

चैत २८ गते दिउँसो पाठेघर सफा गर्न भनेर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकहरूले भीमाको स्वास्थ्य जाँचपछि पाठेघरमा रगत जमेको र पानी फोकाजस्तो फोहर देखिएपछि सफा गर्नुपर्ने बताएका थिए।

भीमालाई भर्ना गराएर २४ वर्षीय श्रीमान नमराज बलामी पनि अस्पतालमै बसेका थिए।

आफन्तका अनुसार, चिकित्सकले भीमाको पाठेघर सफा गर्ने तयारी गरे। दिउँसो करिब २ बजेतिर उपचार सुरू भयो। उनका श्रीमान र केही आफन्त बाहिर कुरेर बसे। तर, दिउँसो तीन बजेतिर भीमाको मृत्यु भएको खबर चिकित्सले सुनाए

हिँडेर उपचारका लागि अस्पताल पुगेकी भीमाको पाठेघर सफा गर्ने क्रममा मृत्यु भएको खबर सुनेपछि अस्पतालले लापरबाही गरेको आरोप आफन्तले लगाए।

सोही कारण प्रदेश अस्पतालसमेत तनावग्रस्त बन्यो।

भीमाले आफ्नो पेट दुखेको कुरा घरमा सासुआमालाई भनेकी थिइन्। उनका ससुरा धनबहादुर बलामीले भने, ‘दुई दिनअगाडि बुहारी (भीमा)ले पेट दुखेको कुरा घरमा भनेकी रहिछन्। श्रीमतीले मलाई भनेपछि उपचारका लागि अस्पताल जाने सुझाव दिएँ।’

धनबहादुरले थपे, ‘भीमा मेरो जेठी बुहारी हुन्। छोरो नेपाली सेनामा कार्यरत छ। उसको पल्टन बुटवल हो। घरमा उपचारका लागि सल्लाह गरिसकेपछि नोकरीमा रहेको छोरालाई पनि बोलाउने, अनि सुर्खेत गएर उपचार गर्ने निधो भयो।’

धनबहादुरका अनुसार भीमाले नै नेपाल सेनाका जागिरे श्रीमान नमराजलाई बुटवलबाट सुर्खेत आउन खबर गरिन्। त्यसपछि आफू पनि सुर्खेत झरिन्।

भीमा पेटको उपचारको लागि ८ महिने छोरीलाई काखमा च्यापेर चैत२७ गते सुर्खेत झरिन्। उनका श्रीमान नमराज पनि श्रीमतीको उपचारका लागि भनेर बुटवलबाट रात्रिबस चढेर बुधबार दिउँसो मात्रै सुर्खेत पुगे।

सुरूमा नमराज र भीमाको भेट भएपछि उपचारका लागि वीरेन्द्रनगरमै रहेको राना मेडिकलमा पुगे। उनीहरूले पेटको जाँच गरे। मेडिकलले उपचार सम्भव नहुने भन्दै प्रदेश अस्पताल रेफर गर्‍यो।

त्यसपछि बुधबार दिउँसो प्रदेश अस्पताल भर्ना भएका थिए। उनीहरूबीच विवाह भएको तीन वर्ष मात्रै भयो।

आमाको मृत्यु भएपछि आठ महिने छोरी दिव्यान्सीको विजोग भएको छ।

बिहीबार प्रदेश अस्पताल पुग्दा बालिका दिव्यान्सीलाई हजुरआमा लक्ष्मी रिजालले भैँसीको दूध खुवाइरहेकी थिइन्। आमा गुमाएकी दिव्यान्सी हजुरआमाको काखमा आमा कुरिरहेकी छन्।

लक्ष्मी भीमाकी सानी आमा अर्थात् भीमाकी आमाकी बहिनी हुन्।

लक्ष्मीले भनिन्, ‘पाठेघर सफा गर्नुअघि दूध खुवाएर भित्र पसेकी छोरी फर्केएर आइन। नातिनी टुहुरो बनिन्। भैंसीको दूध खुवाएका छौँ।’

अस्पतालको लापरवाहीका कारण भीमाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले उनको शव बुझ्न मानेका छैनन्।

यसबीचमा उनका आफन्त र अस्पताल प्रशासन बारम्बार छलफलमा बसे पनि कुनै निष्कर्ष निस्किएको छैन।

उनको मृत्यु भएको भोलिपल्ट मृतकका श्रीमान नमराज बलामी, ससुरा धनबहादुर, सोही क्षेत्रका कर्णाली प्रदेश सभा सांसद विनोदकुमार शाह, सांसद गमता विक, अस्पतालका निर्देशक डा डम्बरबहादुर खड्का र उपचारमा संलग्न डाक्टरहरूबीच छलफल भएको थियो। उक्त छलफलबाट कुनै सहमित भएन।

भीमाका ससुरा धनबहादुरले भने, ‘हामीले न्यायको लागि बच्चाको पालनपोषणको माग गरेका थियौँ। उहाँहरूले सरकारी अस्पतालले राहत दिन नसक्ने र बच्चाका लागि व्यक्तिगत सहयोग गर्ने कुरा मात्रै गर्नुभयो।’

अस्पताल स्रोतका अनुसार, भीमालाई मोलार प्रिगेन्सी भएको थियो। उनको गर्भमा करिब तीन महिनाको भ्रुण हुर्किरहेको, सालनाल ठूलो भएको र पाठेघरमा रगत जम्मा भएको थियो।

भीमाको मृत्यु भइसक्यो। अस्पताल र परिवारबीच सहमति होला नै। त्यसपछि मृतकको अन्त्येष्टि पनि गरिनेछ।

तर, यी आठ महिने अबोध बालिकाले अब कहिल्यै आमाको माया पाउने छैनन्। मातृवियोगमा परेकी बालिका आमाको पर्खाइमा छिन्। बेलाबेला उनी आमाको दूध खोजिरहन्छिन्। उनलाई के थाह, अब आमासँग कहिल्यै भेट हुँदैन भनेर।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .