ad ad

कर्णाली


हुम्लाको पीडा : जहाज कर्दाकुर्दै गयो चार बालकको ज्यान

हुम्लाको पीडा : जहाज कर्दाकुर्दै गयो चार बालकको ज्यान

फाइल तस्बिर


रासस
साउन ३१, २०८० बुधबार ११:१९, सिमकोट (हुम्ला)

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार बालकको ज्यान गएको छ। 

विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन्। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्। 

सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन्। 

‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन’, उनले भने। नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। बर्खाका बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन्। 

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो गरे। आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले दुःखेसो पोखे। 

अस्पतालका चिकित्सक डा रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरिएको थियो। निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो। ‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन’, उनले भने। सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .