कर्णाली प्रदेश प्रहरीले घरघरमा स्टिकर टाँस अभियान थालेको छ। शीघ्र खबर संकलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति नागरिक मैत्री सेवाको अपरिहार्यतालाई प्रभावकारी बनाउने उदेश्यले यो अभियान लागू गरेको हो।
अभियानले सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ। आइतबार अभियानको रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकालले शुभारम्भ गरेका छन्।
प्रदेशको जुनसुकै क्षेत्र वा भूगोलमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफूले असुक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरुको सहरा लिन नपरोस् र आफैँ टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पुर्याउन सहयोग हुने अपेक्षा प्रहरीको छ।
नागरिकहरूको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुरर्याउन सकियोस्, आपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस् र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए।
उनले कतिपय नागरिकहरुले प्रहरीको फोन नम्बर थाहा नभएका कारणले गर्दा तत्काल जानकारी दिन नसक्ने र ढिलो खबर गर्ने बाध्यताका कारण अपराधी भागि सकेको हुन सक्ने तथा नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई १० वटै जिल्लामा लागू गरिएको बताए।
कर्णाली प्रदेश भित्रका दश वटै जिल्लामा रहेका ३ लाख ७१ हजार भन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिनेछ। स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानीय तह र प्रदेश सरकारसँग आवश्यक समन्वयबाट गरिएको उनले बताए। अभियानमा तीन हजार प्रहरी खटिने कार्यालयले जनाएको छ।
यस्तै, प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले युवापुस्ता र समाजमा हुने हरेक खालका अशान्तिको अवस्थालाई नियन्त्रण गरी नागरिकहरूलाई अपेक्षा गरे अनुसारको सुरक्षा अनुभूति प्रदान गर्न प्रहरीलाई चुनौती थपिएको बेला यो अभियानको थालनी भएको हो।
सुरक्षित कर्णाली बनाउने उदेश्य लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले पहिलो पटक प्रहरीको विवरणसहितको स्टिकर टाँस अभियान थालेको हो।
प्रहरीले थालेको यो योजनामा समावेश गरेका मुख्य मुद्दाहरुमा प्रहरी आफैं समस्याको कारण नहुने, प्रहरीमा आन्तरिक शुद्धीकरण गर्ने, प्रहरी सेवालाई नागरिकमैत्री बनाउने, अपराध पीडितलाई विशेष संरक्षण गर्ने, भरसक अपराध हुनै नदिनेतर्फ सक्रियता देखाउने, अपराध रोकथाम र अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड दिने प्रहरीले जनाएको छ।
सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँच पुर्याउन प्रत्येक घरधुरीमा नजिकका प्रहरी कार्यालयको विवरणसहितको स्टिकर टाँस्ने अभियान वीरेन्द्रनगरबाट शुरु भएको हो। यो अभियान कर्णालीका ७९ वटै पालिकामा लागू भएको छ। प्रदेश कार्यालय मातहत रहेका ३७४ वटै युनिटहरुबाट तीन जनाको प्रहरी टोलीले सम्पूर्ण विवरणसहितको स्टिकर नागरिकहरुका घर–घरमा टाँस गर्नेछन्।
स्टिकर टाँस अभियान स्थानीय तह र प्रदेश सरकारसँग समन्वयबाट सञ्चालन गरिएको छ। अभियान अन्तरगत प्रहरीले कर्णालीका तीन लाख ७१ हजार घरधुरीमा आफ्नो विवरण खुल्ने स्टिकर टाँस गर्नेछ।
प्रदेशका १० वटै जिल्लामा रहेका ७९ वटै स्थानीय तहमा रहेका प्रहरी युनिटले नागरिकका घर–घरमा प्रहरीको फोन नम्बर भएको स्टिकर तीन महिनाभित्र टाँसी सक्नेछन्।
Shares

प्रतिक्रिया