ad ad

कर्णाली


ज्यानकै जोखिम मोलेर यार्सा टिप्नेको भीड, कति हुन्छ कमाइ?

ज्यानकै जोखिम मोलेर यार्सा टिप्नेको भीड, कति हुन्छ कमाइ?

मुगुमा यार्सा टिप्न तम्तयारहरू। तस्बिर : रासस


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:५६, मुगु

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ। 

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश गर्न अनुमति दिइएको हो। वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए। 

यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेको छ। 

गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ। यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौँ मानिस आउने गरेका छन्। 

दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा सङ्कलन तथा बिक्री बन्द भएकाले स्थानीयले आर्थिक समस्या झलिरहेका छन्। चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्ण रुपमा खोल्न प्रयास नगर्दा सङ्कलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन्। एक महिनासम्म यार्सा सङ्कलन गरे पनि सङ्कलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि  चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ। 

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा १२ जनाभन्दा बढीको मृत्यु हुने भएकाले यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने सङ्कलक दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बिमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समयमै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। 

यो याममा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० वर्षसम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिने गर्दछन्। पाटनमा पाइने यार्सागुम्बा तीन गुणस्तरका हुने भएकाले तिनलाई छुट्याउन एक, दुई र तीन नम्बरका भन्ने गरिन्छ। यो वर्ष पाटनमा एक नम्बरका लागि रू सात सय, दुई नम्बरका लागि रू चार सय र तीन नम्बरका लागि रु दुई सय मूल्य तोकिएको स्थानीय यार्सा व्यापारी र्छोतेन लामाले बताए। उनले भने, ‘यो मूल्य पाटनमा यार्सा सङ्कलकबाट खरिद गर्दा पर्ने मूल्य हो, यहाँबाट व्यापारीले काठमाडौँ, पोखरा, नेपालगन्ज र दोस्रो देशतिर पुर्‍याउँदा कति मूल्यमा बिक्री गर्छन् त्यो आफूहरुलाई थाहा हुँदैन।’

पाटनमा यार्सा सङ्कलन गर्न पुगेका सङ्कलकले सङ्कलन अवधि (एक महिना) भित्र यार्सा सङ्कलनबाट न्यूनतम रु एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .