कर्णाली


हिमपहिरो गएको हप्ता बित्यो, भेटिएनन् ३ बेपत्ता

हिमपहिरो गएको हप्ता बित्यो, भेटिएनन् ३ बेपत्ता

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार ११:४०, मुगु

हिमपहिरामा परी बेपत्ता भएको हप्तादिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा बेसक्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिनछिनमा हिउँ परिरहँदा प्रत्येक दिनको प्रयास निरर्थक भइरहेको छ। खटिएका सुरक्षाकर्मी एकपछि अर्को बिरामी हुन थालेकाले उनले आज जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र बिरामी परेकालाई फिर्ता बोलाइएको जानकारी गराए। 

बेपत्ता भएको हप्ता दिन बितिसकेकाले बेपत्तामध्ये कोही जिउँदो होलान् भन्ने आश मरिसकेको छ। अब जेठ ४ गते पाटनमा यार्सागुम्बा टिप्न प्रवेश खुला हुने भएकाले त्यो बेला सुरक्षाकर्मी सुरक्षा दिन जाने र सङ्कलक पनि सयौँ सङ्ख्यामा पाटन पुग्ने भएकाले बेपत्ताको खोजी त्यो बेला सहज हुनसक्ने प्रनाउ बस्नेतले बताए। 

उनले भने, “खोजीको टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिका दुई आफन्त पनि घर फर्किसक्नुभएको छ, पाटनको अवस्था, परिस्थिति, कठिनाइ सबै उहाँहरूले बुझेर अब खोजी गर्न गाह्रो छ, हामी पनि बिरामी भयौँ, पाटन खुला भए सुरक्षाकर्मी वा यार्सा सङ्कलक कोहीले बेपत्ता भेट्टाए खबर गरिदिनुहोला भन्दै घरतर्फ फर्किसक्नुभएको छ।”

यही वैशाख २२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिउँपहिरो आउँदा यार्सा टिम्न मुगुका पाटनमा पुगेका जुम्ला पातारासि गाउँपालिका–२ तल्फीगाउँका १५ जनामध्ये तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरो बेपत्ता भएका छन्। 

बेपत्ताको सूचना पाउनासाथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम गमगढीबाट बेपत्ता भएका व्यक्तिका दुई आफन्तसहित २३ जनाको टोली घटनास्थलतर्फ खोजीका लागि गएको थियो। घटनास्थलनजिक हेलिकोप्टर अवतरण गर्न अनुकूल मौसम नभएपछि  सिरानी चौरमा अवतरण गरी फर्किएको थियो भने टोली त्यहाँबाट तीन घण्टामाथि र घटनास्थल च्याखुलेकभन्दा चार घण्टा तल रहेको छापाखोला भन्ने स्थानमा बास बसी प्रत्येक बिहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरि प्रयास गर्ने र साँझ बासस्थान फर्किने गर्दै आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad