कर्णाली


राकम आधारभूत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

राकम आधारभूत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपालखबर
फागुन ८, २०७९ सोमबार १६:३९, सुर्खेत

दैलेखको आठबीस नगरपालिका राकममा रहेको राकम आधारभूत अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन भएको छ। 

सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले अक्सिजन प्लान्टको उद्घाटन गरे। 

त्यसक्रममा मन्त्री शाहले अस्पताल निर्माणका लागि हृदयदेखि काम गर्ने प्रतिबद्धता जनाए। 

उनले भने, ‘तपाईंहरु कामको थालनी गर्नुहोस्, म प्रदेश सरकार र मन्त्रीको तर्फबाट गर्न सक्ने सहयोग गर्नेछु। अहिले १०० बेडको भनिएको छ। यसलाई ३०० बेडको अस्पताल बनाउन मेरो पहल हुनेछ।’ 

मन्त्री शाहले अस्पताल स्थापनाका लागि प्रदेश सरले सक्दो सहयोग गर्ने, थप कामका लागि संघ सरकारसँग पहल गरिने र आवश्यक बजेटको व्यवस्थापन गरिने बताए। 

शाहसँगै प्रतिनिधि सभा सदस्य सोविता गौतम, कर्णाली प्रदेश सभा सदस्य गमता विक, आठबीस नगरपालिका प्रमुख तर्कबहादुर बडुवाल र उपप्रमुख कल्पनाकुमारी थापाको उपस्थिति रहेको थियो। 

गैर आवासीय संघ (एनआरएनए) ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग गरेको थियो। 

उक्त अक्सिजन प्लान्टको उद्घाटन प्रश्चाप आठबीसमा आधारभूत अस्पताल ओटी सेवा, विशेषज्ञ सेवा सञ्चालन र १०० बेडको अस्पताल सम्बन्धित अन्तरक्रिया समेत भएको छ। 

यो प्रतिष्ठान राकमा बनेसँगै, सूदुरपश्चिम प्रदेशको अछाम, बाजुरा, साविक कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकोट र दैलेख लगायतका नागरिकलाई सेवा लिन सहज हुने आठबीस नगरपालिकाले जनाएको छ। 

उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा अक्सिजन प्लान्ट मात्रै उद्घाटन गरेर मात्रै नहुने र यसको नियमित प्रयोग गरेर फाईदामा पुर्‍याउनुपर्ने नागरिकहरुले माग राखेका छन्। यस्तै, डीपीआर बन्नका लागि तीन वर्ष बितेको र अब तत्काल अस्पताल स्थापना गर्नुपर्ने माग स्थानीयको छ। 

अस्पताल निर्माणका लागि ४३ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएका हुन्। 

यो अस्पताल सञ्चालनका लागि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग तीन वर्ष पहिला सम्झौता भएको थियो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. मंगल रावलले उक्त अक्सिजन प्लान्टले १७० देखि २०० सिलिन्डर उत्तपादन गर्ने क्षमता रहेको बताए। 

उपकुलपति डा. रावल अब बन्ने १०० श्ययाको अस्पताल सञ्चालन भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने र त्यसमा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने बताए। 

उनले सरकारले सहयोग गरेको खण्डमा सुर्खेत र नेपालगन्जका रिफर बिरामी आठबीस आउने खालको स्वास्थ्यसेवा दिने दाबी गरे। 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सोविता गौतमले यस अस्पताललाई सफल पार्नका लागि सबै लाग्नुपर्ने बताइन्। 

कर्णालीमा देखिएका समस्याहरु संसदमा अवश्य पनि बोल्ने र आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरिन्।

कार्यक्रममा नगरपालिकाले अस्पताल स्थापनाका लागि जग्गा दान गर्ने दातालाई सम्मान समेत गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad