ad ad

कर्णाली


कर्णालीका पदाधिकारीको गाडी मोह, पदावधि सकिए पनि गरेनन् फिर्ता

कर्णालीका पदाधिकारीको गाडी मोह, पदावधि सकिए पनि गरेनन् फिर्ता

दिनेश बुढा
असोज ९, २०७९ आइतबार १८:२९, सुर्खेत

कर्णाली प्रदेश सभाका पदाधिकारीमा गाडी मोह देखिएको छ। पदावधि सकिए पनि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहलगायतले गाडी बुझाएका छैनन्। 

हाल काठमाडौंमा रहेका सभामुख शाहीले कर्णाली प्रदेश ०२–००१ झ ००९३ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन्। नेकपा (एमाले)का प्रमुख सचेतक गुलावजंग शाहले पनि गाडी बुझाएका छैनन्। उनले चढ्ने कर्णाली प्रदेश ०२–००१ झ ००३९ नम्बरको गाडी हो। 

यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक गोपाल शर्माले पनि गाडी फिर्ता गरेका छैनन्। उनले कर्णाली प्रदेश ०२–००१ झ ०१३० नम्बरको गाडी चढ्दै आइरहेका छन्। उनी पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत हुन्। 

नेपाली कांग्रेसकी सचेतक अमृता शाहीले पनि हालसम्म गाडी फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ। उनले कर्णाली प्रदेश ०२–००१ झ ००४२ नम्बरको गाडी प्रयोग गर्दै आएकी छन्।

प्रदेश मामिला तथा विधायन समितिका अध्यक्ष दानसिंह परियारले समेत गाडी फिर्ता गरेका छैनन्। हाल मुगुमा रहेका परियारले कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन्। यस्तै, सार्वजनिक लेखा समितिका अध्यक्ष करविर शाहीले पनि गाडी फिर्ता गरेका छैनन्। उनले कर्णाली प्रदेश ०२–००१ झ ००४५ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन्।

सामान्यतया पदावधि सकिएपछि सरकारी गाडी र निवास नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने प्रचलन भएपनि पदावधि सकिएको सात दिन वित्दासम्म यि पदाधिकारीले गाडी बुझाउनेतर्फ चासो नदेखाएका हुन्। 

यस्तै, कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती चढ्ने गाडी भने केही दिन अगाडि कोहलपुरमा दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२–००१ झ ००४१ नम्बरको गाडी उनका चालक हरिराम थारुले चलाउँदै आइरहेका थिए। बाँकेका डीएसपी ऐनबहादुर मल्लले चालकले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण गाडी दुर्घटनामा परेको बताए। 

चालकले अत्याधिक मदिरा सेवन गरेको अवस्थामा नियन्त्रणमा लिएको र उपसभामुख आएपछि गाडी दिने मल्लले जानकारी दिए।  उक्त गाडीको साँचो प्रहरीले अर्का चालक मनोज अधिकारीको जिम्मा लगाएको छ। यता, प्रदेश सभा सचिवालयले पदाधिकारी तथा समितिका अध्यक्षहरुले चढ्ने गाडी खराब अवस्थामा भएको खण्डमा मर्मत गरेर बुझाउनुपर्ने जनाएको छ। 

कँडेल​ र ओलीले मात्रै बुझाए
असोज १ गते राति १२ बजेदेखि पदावधि सकिएपछि आइतबार मात्रै नेकपा (एमाले) स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश सभामा गाडी फिर्ता गरेका छन्। उनले एमाले संसदीय दलका नेताको हैसियतमा प्रदेश सभाको लु १ झ ४२६ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका थिए।

यस्तै, सामाजिक विकास समिति अध्यक्ष एवम नेकपा (एकीकृत समाजवादी)की नेतृ देवि ओलीले शुक्रबार नै गाडी प्रदेश सभामा बुझाएकी प्रदेश सभाका स्टोरप्रमुख सुरेन्द्र थापाले जानकारी दिए। ओलीले कर्णाली प्रदेश ०२–००१ झ ००४३ नम्बरको गाडी सामाजिक विकास समितिको अध्यक्षको हैसियतमा प्रयोग गर्दै आइरहेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .