कर्णालीका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका हुन्।
कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्याउन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो।
शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन्।
मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनीहरूलाई मुख्यमन्त्री शाहीले आज वा भोलि मन्त्रीमा नियुक्त गर्ने छन्।
Shares

प्रतिक्रिया