ad ad

कर्णाली


मंसिरमा कर्णालीबाट को–को छिर्लान् सिंहदरबार?

मंसिरमा कर्णालीबाट को–को छिर्लान् सिंहदरबार?

केशव सावद
भदौ १, २०७९ बुधबार २०:७, काठमाडौँ

देश संघीयतामा गइसकेपछि तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्ला समेटेर कर्णाली प्रदेश बनाइयो। यस प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्ला पर्छन्। यो प्रदेशबाट प्रत्यक्षतर्फ १२ जना सांसद सिंहदरबार छिर्न पाउँछन्।

दैलेख र सुर्खेतमा दुई–दुईवटा निर्वाचन क्षेत्र छन् भने अन्य ८ जिल्लामा एक–एकजना प्रतिनिधिसभा सदस्यका सीट छन्। हाल प्रतिनिधिसभामा कर्णाली प्रदेशबाट प्रत्यक्षतर्फ नेकपा एमालेका ६, नेकपा माओवादी केन्द्रका ५ र एकजना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका भएकाले प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रतिनिधित्वमा ‘ब्रेक’ लागेको थियो। यहाँबाट कांग्रेसका एक जनाले पनि प्रतिनिधिसभाको चुनाव जितेका थिएनन्।

एमाले–माओवादीबीचको तालमेलका कारण कांग्रेसका तत्कालीन महामन्त्री पूर्णबहादुर खड्कादेखि भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसम्म पराजित हुन पुगेका थिए।

तत्कालीन अवस्थामा एमालेसँग तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर ४ मा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनमा भने नेपाली कांग्रेससँग गठबन्धन गरेको छ। र, यो गठबन्धनले ०७४ को चुनावलाई उल्टाउने सत्तापक्षका नेताहरुको दाबी छ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच अहिले सत्ता गठबन्धन छ। यो गठबन्धनसँगै कर्णाली प्रदेशबाट कुन दलको कति प्रतिनिधित्व होला भन्ने चासो बढेको छ।

चुनावी तालमेल गरेर निर्वाचनमा गएपछि प्रतिपक्षमा रहेको एमालेको यसपालि प्रतिनिधिसभामा प्रतिनिधित्व कम हुने अनुमान सत्ता गठबन्धन दलहरुको छ। यद्यपि, कुन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कसको भाग पर्ने भन्ने विषयमा भने उनीहरुले टुंगो लगाइसकेका छैनन्।

आगामी प्रतिनिधिसभामा कुन दलका कुन नेताको प्रतिनिधित्व रहन्छ भन्ने अहिले नै अनुमान गर्न सहज नभए पनि २०७४ को प्रतिनिधिसभा र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मत परिणाम विश्लेषण गर्दा भने केही पूर्वानुमान गर्न सकिन्छ।

हुम्ला
विसं. २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए। उनी कांग्रेस नेता मंगलबहादुर शाहीलाई झिनो मत (४७) ले पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका हुन्। उक्त निर्वाचनमा माओवादी उम्मेदवार छिमी दोर्ची लामाले २ हजार ८५६ मत ल्याएका थिए।

अहिले छक्कबहादुर माओवादी केन्द्रसँग निकट देखिन्छन्।  

स्थानीय तह निर्वाचन २०७९ मा हुम्लामा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा माओवादी बलियो देखिएको छ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय चुनावमा हुम्लामा माओवादीको पक्षमा ६ हजार ४९३, एमालेको पक्षमा ६ हजार १४७, कांग्रेसको पक्षमा ४ हजार ७६४ र एकीकृत समाजवादीको पक्षमा ८८८ मत देखिएको छ।

मुगु
गत प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट एमाले उम्मेदवार गोपालबहादुर बम विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार हस्तबहादुर मल्ललाई झण्डै ५ हजार मतले पराजित गरेका थिए।

बम १३ हजार ३४ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मल्लले ९ हजार ८६१ र तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार राजबहादुर भामले ९९ मत पाएका थिए।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार मुगुमा एमाले कांग्रेसभन्दा झण्डै हजार मतले मात्रै अगाडि छ। वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतले एमालेको पक्षमा ९ हजार ८९४ र कांग्रेसको पक्षमा ८ हजार ९४९ मत देखिन्छ।

मुगुमा माओवादीको ३ हजार ८७६ र एकीकृत समाजवादीको १ हजार ४८५ मत छ। चुनावी तालमेल गर्ने भएका कारण मुगुमा सत्ता गठबन्धन बलियो छ।

जुम्ला
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट माओवादी नेता गजेन्द्रबहादुर महत विजयी भएका थिए। उनी कांग्रेसका उम्मेदवार देवेन्द्रबहादुर शाहीलाई झण्डै ८ हजार मतले पराजित गर्दै विजयी भएका हुन्।

२२ हजार १७३ मतले माओवादी नेता महत विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १४ हजार १४९ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार डिल्लीप्रसाद काफ्लेले २ हजार ७१८ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनअनुसार जुम्लामा कांग्रेस बलियो देखाएको छ। वडाध्यक्षहरुले प्राप्त गरेको निर्वाचन आयोगको वेबसाइटमा राखिएको मत परिणामले कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२ र एकीकृत समाजवादीको ६ हजार १९५ छ। 

डोल्पा  
डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका एमाले नेता धनबहादुर बूढा अहिले एकीकृत समाजवादीका नेता छन्। उनी पनि कांग्रेस नेता अंगदकुमार बुढालाई ८ हजार मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीमा रहेका बूढाले ११ हजार ७६१ र कांग्रेस नेता बुढाले ३ हजार १६७ मत ल्याएका थिए। स्थानीय तह निर्वाचनको मत परिणामअनुसार डोल्पामा माओवादीको ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९, एकीकृत समाजवादीको १ हजार ३३४ मत छ।

कालिकोट
गत प्रतिनिधिसभा निर्वाचनमा कालिकोटमा माओवादीले जितेका थियो। कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीलाई झण्डै ५ हजार मतले पछि पार्दै माओवादी नेता दुर्गबहादुर रावत विजयी भएका थिए।

रावतले २१ हजार ११२ मत ल्याउँदा कांग्रेसका शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए। स्थानीय तह निर्वाचनको अन्तिम मत परिणामले कालीकोटमा माओवादीको पक्षमा १८ हजार ३४७, कांग्रेसको पक्षमा १२ हजार ८२०, एमालेको पक्षमा १२ हजार ६१३, एकीकृत समाजवादीको पक्षमा ३ हजार ५०३ मत देखिन्छ।

दैलेख–१ 
दैलेखमा प्रतिनिधिसभाका दुई सिट छन्। गत प्रतिनिधिसभा निर्वाचनमा दुवै सिटमा एमाले विजयी भएको थियो। निर्वाचन क्षेत्र नम्बर १ बाट रवीन्द्रराज शर्मा र क्षेत्र नम्बर २ बाट राजबहादुर बुढाक्षेत्री एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

क्षेत्र नम्बर १ मा शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपककुमार शाही र क्षेत्र नम्बर २ मा बुढाक्षेत्रीले कांग्रेसका शिवराज जोशीलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा दैलेखका दुवै क्षेत्रमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल थियो।

क्षेत्र नम्बर १ मा शर्मा २३ हजार ७७३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शाहीले १७ हजार २५२ र क्षेत्र नम्बर २ मा बुढाक्षेत्री २३ हजार ३२३ मतसहित विजयी हुँदा कांग्रेसका जोशीले १६ हजार ६३४ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार दैलेख १ मा कांग्रेसको २० हजार ३४४, एमालेको १९ हजार ६१, एकीकृत समाजवादीको ५ हजार ५२९, माओवादीको ३ हजार १७५ र राप्रपाको ९७६ मत छ।

दैलेख २ मा एमालेको क्षमा २१ हजार ७६, कांग्रेसको पक्षमा १९ हजार ७८६, माओवादीको पक्षमा ५ हजार ७५५, एकीकृत समाजवादीको पक्षमा ८३० र राप्रपाको पक्षमा ३२१ मत देखिन्छ।

जाजरकोट
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट माओवादी नेता शक्तिबहादुर बस्नेत विजयी भएका थिए। उनी कांग्रेस नेता राजीवविक्रम शाहलाई ९ हजार मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

आयोगका अनुसार बस्नेतले ३२ हजार २८१ मत प्राप्त गर्दा शाहको पक्षमा २३ हजार २८९ मत खसेको थियो। पछिल्लो निर्वाचनबाट जाजरकोटमा एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ।

रुकुम पश्चिम
रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा विजयी माओवादी नेता जनार्दन शर्मा अहिले अर्थमन्त्री छन्। उनी २०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार गोपालजीजंग शाहलाई दोब्बर मतले पछि पार्दै विजयी भएका थिए।

प्रतिनिधिसभा निर्वाचनमा शर्मा ३४ हजार ४०२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले १५ हजार ६५९ मत प्राप्त गरेका थिए। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि रुकुम पश्चिममा माओवादी बलियो देखाएको छ।

निर्वाचन आयोगका अनुसार रुकुम पश्चिममा माओवादीको पक्षमा ३७ हजार १०२, कांग्रेसको पक्षमा २६ हजार ६२०, एमालेको पक्षमा ६ हजार १२४, एकीकृत समाजवादीको १३० र राप्रपाको पक्षमा १०८ मत छ।

सल्यान
सल्यानबाट प्रतिनिधिसभामा माओवादी नेता टेकबहादुर बस्नेतको प्रतिनिधित्व छ। उनी कांग्रेसका राजेन्द्रबहादुर शाहलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

बस्नेत ४० हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले २९ हजार ७६७ र स्वतन्त्र उम्मेदवार उमाकान्त शर्माले २ हजार ९२१ मत पाएका थिए। तर, स्थानीय तह निर्वाचनको परिणामले सल्यानमा अहिले कांग्रेस बलियो देखाएको छ।

सल्यानमा कांग्रेसको ३३ हजार ६१६, माओवादीको २६ हजार ७१३, एमालेको २६ हजार ६२८, एकीकृत समाजवादीको ९ हजार ४६७, राप्रपाको २ हजार ११७ मत छ।

सुर्खेत
कर्णाली प्रदेशको सदरमुकाम रहेको सुर्खेतमा दुई प्रतिनिधिसभा क्षेत्र छन्। गत प्रतिनिधिसभा निर्वाचनमा सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट एमाले विजयी भएको थियो।

सुर्खेत १ बाट कांग्रेसका तत्कालीन महामन्त्री पूर्णबहादुर खड्कालाई पराजित गरेर ध्रुवकुमार शाही र सुर्खेत २ बाट कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गर्दै नवराज रावत विजयी भएका थिए।

सुर्खेत १ मा ३६ हजार ७५९ मतले शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ र सुर्खेत २ मा ३७ हजार ४४७ मतले रावत विजयी हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सुर्खेत १ मा कांग्रेस र सुर्खेत २ मा एमाले बलियो देखाएको छ। सुर्खेत १ मा कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३ र माओवादीको ५ हजार ७५ मत छ। यस्तै सुर्खेत २ मा एमालेको पक्षमा ३० हजार ४६९, कांग्रेसको पक्षमा २९ हजार ५४०, माओवादीको पक्षमा ११ हजार ६६१, राप्रपाको पक्षमा ३ हजार ४९७ र एकीकृत समाजवादीको पक्षमा २ हजार ६२ मत छ।

०७४ को चुनावमा कर्णालीबाट सिंहदरबार प्रवेश गर्ने प्रत्यक्षतर्फका १२ सांसदहरुमा छक्कबहादुर लामा, गोपालबहादुर बम, जनार्दन शर्मा, गजेन्द्रबहादुर महत, धनबहादुर बुढा, दुर्गबहादुर रावत, रवीन्द्रराज शर्मा, राजबहादुर बुढाक्षेत्री, शक्तिबहादुर बस्नेत, टेकबहादुर बस्नेत, ध्रुवकुमार शाही, नवराज रावत थिए।

यीमध्ये आगामी चुनावमा माओवादी नेता जनार्दन शर्मा र शक्ति बस्नेत पुनः दोहोरिएर उम्मेदवार बन्ने निश्चित छ। माओवादीसँग गठबन्धन गरेको अवस्थामा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेतबाट पुनः चुनाव लड्ने निश्चित छ। एकीकृत समाजवादीमा लागेका धनबहादुर बुढाले पनि गठबन्धनबाट टिकट पाउने निश्चित देखिन्छ।

एमालेका तर्फबाट भने विगतमा कांग्रेसले भोगेको चुनौती व्यहोर्नुपर्ने खतरा टड्कारो देखिन्छ।

एमालेका युवा नेता एवं पत्रकार विष्णु रिजाल पनि यसपालि कर्णाली (दैलेख)बाट चुनाव लडेर सिंहदरबार छिर्ने योजनामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .