ad ad

अन्तर्वार्ता


एमालेले एक्लै ६० प्रतिशत पालिका जित्छ : विष्णु पौडेल (अन्तर्वार्ता)

एमालेले एक्लै ६० प्रतिशत पालिका जित्छ : विष्णु पौडेल (अन्तर्वार्ता)

फाइल तस्बिर


रुपक चौलागाईं
बैशाख १६, २०७९ शुक्रबार ९:३०, काठमाडौँ

सधैँजसो काठमाडौं वरपरै भेटिने राजनीतिक दलका शीर्ष नेताहरुलाई हिजोआज काठमाडौंमा फेला पार्न सहज छैन। स्थानीय निर्वाचनको रौनकले नेताहरुलाई यसरी छोपेको छ कि भन्नेबित्तिकै शीर्षस्थ उनीहरुसँग टेलिफोनमा कुराकानी गर्न पनि हम्मे छ।

आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएका नेताहरु सहज जितको दाबी गरिरहेका छन्। निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर पार्टी सर्कुलर अनुसार रुपन्देहीमा खटिएका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि ६० प्रतिशत नतिजा एमालेकै पक्षमा आउने दाबी गर्छन्। 

निर्वाचन क्षेत्रमा तय भएका कार्यक्रममा व्यस्त पौडेलसँग हामीले टेलिफोन वार्ता गरेका छौं।

बुधबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरूलाई ‘तास र बालुवाको घर’को संज्ञा दिएका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यसअघि गठबन्धनका दलहरूलाई एक किलोका ‘ढक’ भन्दै एमाले भने क्विन्टल नै भएको दाबी गरिसकेका छन्।

सत्ता गठबन्धनको चर्को चुनावी प्रतिस्पर्धामा रहेको र फुटको पीडा भोगिरहेको एमालेले किन गठबन्धनलाई कमजोर देखिइरहेको छ? हामीले पौडेलसँग कुराकानीको सुरुआत पनि यही विषयबाट गरेका थियौं। जवाफमा उनले अहिलेको दृश्यले बोलेको बताए। 

प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रममा तपाईंले सत्तारुढ गठबन्धनलाई ‘तास र बालुवाको घर’ भन्नुभएको रहेछ। गठबन्धनलाई किन यति धेरै कमजोर देखिरहेको छ एमालेले?
त्यो त यहाँहरु सबैले लेख्नुभएको समाचारले नै बताइरहेको छ। बिचरा गठबन्धन, निरीह गठबन्धन, समस्याग्रस्त गठबन्धन, ओरालो लागेको गठबन्धन भनेर नै आइरहेका छन्।

गठबन्धनका नेताहरुले पसिना पुछ्ने गरेको, टाउको समाउने गरेको, ‘उफ्’ गरेर सुस्केरा फेर्दै गरेको सबै देखिरहेकै छौं। त्यो दृश्यले नै गठबन्धनको असली अवस्था के छ भन्ने बताइरहेको छ। तिनै कुरालाई मध्यनजर गरेर मैले ‘तास र बालुवाको घर’ को संज्ञा दिएको हुँ।

एमाले विभाजनपछि पहिलोपटक एमालेको जनमत परीक्षण हुँदैछ। यसअघि भएको राष्ट्रियसभाको निर्वाचनलाई पनि जनमतको परीक्षणका रुपमा यहाँहरूले स्वीकार गर्नुभएको छैन। अबको एमालेको ‘कमब्याक’ चाँही कसरी होला ?
एउटा कुरा, यहाँको भनाइमा मैले थोरै परिमार्जन गर्न आवश्यक ठान्छु। एमाले विभाजन भएको छैन। मिडियाले विभाजन भयो भनेर प्रचार गर्नु एउटा कुरा भयो, एमाले विभाजित भएको कुरा कम्तीमा नेपाली जनतालाई थाहा छैन।

केही स्वार्थी तत्वहरु पार्टीबाट अलग भए होलान्। सुकेको बोक्रा रुखबाट बाहिर निस्के जस्तै केही मान्छे पार्टीबाट निस्किए होलान्। तर, एमालेमा विभाजन भएको छैन।

जहाँसम्म राष्ट्रियसभा निर्वाचनको कुरा छ, मतदाताहरूको प्रत्यक्ष मतबाट हुने निर्वाचन थिएन। त्यसका आधारमा जनमतको मनोविज्ञानको अध्ययन हुन सक्दैन। 

आसन्न स्थानीय तहको निर्वाचनमा एकातिर सत्ता गठबन्धन छ, अर्कोतिर एमाले । यो अवस्थामा एमालेलाई जित निकाल्न कसरी सहज देख्नुहुन्छ ?
एमालेले कम्तीमा ६० प्रतिशत स्थानीय तहमा जित हासिल गर्छ। यसमा कुनै द्विविधा छैन। हामीले सूर्य चिह्न लिएर लड्छौँ भनेका कतिपय दलहरूलाई ठाउँ दिएका छौं। यो कुनै एमालेका विरुद्ध बनाइएको भनिएजस्तो गठबन्धन होइन। सूर्य चिन्हबाट लड्छौँ भनेका सकारात्मक पात्रहरूलाई हामीले ठाउँ दिएका मात्र हौं। 

महानगरपालिकाहरुमा सत्ता गठबन्धन बलियो छ भनेर मूल्यांकन हुन थालेको छ। खासमा महानगर र उपमहानगरमा यहाँहरुको हिसाब के छ ?
हामीले ६ वटामध्ये ५ वटा महानगरपालिकामा जित निकाल्ने कुरा निश्चित छ। छैठौंमा पनि जित्ने गरी हाम्रो कोसिस जारी छ। कदाचित् चिप्लिएछ भने एउटा कतै गुम्यो भने मात्र हो, नत्र ५ वटा महानगरपालिकामा एमालेले जित्ने निश्चित छ। 

यहाँले भन्नुभयो नि, एउटा महानगरमा अलिकति समस्या छ भनेर। कुन हो त्यो महानगर?
त्यो अहिले भन्नुपरेन। म समयक्रममा पछि यहाँलाई पुनः भन्नेछु। ६ मध्ये एमालेले जुन ५ वटामा जित्छ, त्यही नै हो जित। एउटामा आएन भने बेग्लै कुरा हो। 

अहिलेसम्म त स्थानीय तहमा एमाले पहिलो दल नै छ । त्यसलाई जोगाउने र बढाउने आधार के छ?
जोगाउने आधार भनेको एमालेलाई प्राप्त जनमत हो। एमालेले मुलुकको नेतृत्व गर्दा धेरै राम्रा काम गरेको छ। हिजो गरेका राम्रा कामहरु नै एउटा आधार हो। त्यसका आधारमा बनेको जनमत अर्को आधार हो। एमालेको व्यवस्थित संगठनात्मक आधार र प्राप्त गरेको जनाधार अर्को कारण हो। 

आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धी भनिएको कांग्रेसले आफ्नो घोषणापत्रमा एमालेले नेतृत्व गरेको ४२ महिना खेर गयो भनेर टिप्पणी गरेको छ। यहाँहरुको ४२ महिना साँच्चै खेर गएको हो?

यो गठबन्धन सरकार जसरी बन्यो, यसले नेतृत्व गरेपछि मुलुकको अर्थतन्त्र र समग्र सामाजिक आर्थिक विषयवस्तुप्रति जुन कल्पना थियो, त्यो सबैलाई धकेल्दै अहिले मुलुक संकटको बाटोतर्फ अग्रसर छ। यसले बताउँछ कि एमालेको नेतृत्व कालमा होइन, यो गठबन्धनको नेतृत्व कालमा मुलुकले समय बर्बाद गरेको छ। 

एमालेको नेतृत्वमा सरकार थियो भने अहिलेसम्म निर्वाचन भइसक्थ्यो। अदालतमा मुद्दा हालेर परमादेशका आधारमा यो सरकार बनेको छ। तर, राष्ट्रको महत्वपूर्ण समय भने बर्बाद भएको छ। 

यहाँहरुको घोषणापत्रमा रेल र पानीजहाजको विषयले मात्रै प्राथमिकता पायो भनेर आलोचना सुरु भएको छ । एमालेको उडन्ते प्रतिवद्धता भयो भनिन्छ नि?
दीर्घकालीन महत्वका विकासका योजनाहरुलाई उडन्ते भन्नेहरु पनि छन्। तर, त्यसले देशलाई कतिको दुरगामी रुपमा फाइदा हुन्छ भन्ने कुरा जनताले थाहा पाएका छन्। यी सबै कुरा विरोधका लागि विरोध भएका हुन्। जनताले हाम्रा योजनालाई बुझेका छन्। यसबारे मैले यहाँभन्दा बढी टिप्पणी गरिनँ।

तपाईं आफैंले पनि अर्थ मन्त्रालय चलाउनुभयो। अहिलेको अवस्थामा ३ महिनामा ७० प्रतिशत बजेट खर्च गर्न बाँकी छ। यहीबेला अर्थमन्त्रीसँगको विवाद र निर्वाचनको रौनक सुरु भएको छ। देशको अर्थतन्त्रलाई यहाँले कसरी ब्याख्या गर्नुभएको छ?
वर्तमान सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्र ध्वस्त हुने कुरामा कुनै शंका रहेन। हामी कोभिड महामारीका बीचमा पनि देशलाई अगाडि बढायौं। हामीले सरकार छाड्दा सबल अर्थतन्त्रका रुपमा हस्तान्तरण गरेका थियौं।

लगातार ३ वर्षसम्म ७ प्रतिशतको हाराहारीमा देशको आर्थिक वृद्धिदरलाई अघि बढाएका थियौं। मुल्यवृद्धि नियन्त्रणमा थियो। विकास निर्माणका कामहरूले गति लिइरहेको थियो। आम

जनतामा आत्मविश्वास बढ्दै गएको थियो। अहिलेको सरकार आएपछि सम्पूर्ण आर्थिक गतिविधिहरु ध्वस्त गरिदियो। यसमा टिप्पणी गर्न सक्ने केही आधार गठबन्धनको सरकारले प्रस्तुत गर्न सकेको छैन। 

यो अर्थतन्त्र सबल बनाउन सकिने योजना एमालेसँग के छ?
यो अर्थतन्त्र सुधारका लागि निर्वाचनका माध्यमबाट नेकपा एमालेको सरकार अपरिहार्य छ। नेकपा एमालेको नेतृत्वमा सरकार बन्नु नै एकमात्र विकल्प हो। अरु कुनै विकल्पबाट अर्थतन्त्र सुध्रिने लक्षण मैले देखेको छैन।

निर्वाचनको माध्यमबाट एमालेको नेतृत्वको सरकारबाट मात्र समस्या समाधान हुन्छ। अहिलेको परमादेशी सरकारलाई सुझाव दिएर केही पनि काम छैन। 

अलिकति प्रसंग बदलौँ, कम्युनिष्टहरू विभाजित भएको फाइदा कांग्रेसले उठाउन थाल्यो भनिन्छ। कम्युनिस्टहरु मिल्ने सम्भावना केही देख्नुभएको छ ?
पहिलो त हामी कांग्रेस र दक्षिणपन्थी शक्तिका पछाडि लाग्न सक्दैनौं। रुख चिन्हमा चुनाव लड्नेहरूलाई कम्युनिस्ट भन्नुहुन्छ भने म त्यो मान्दिनँ। कम्युनिस्ट हामी (एमाले) हौं र हामी विभाजित पनि छैनौं, एकतावद्ध नै छौं।

त्यसकारण कम्युनिस्ट विभाजित भयो भन्ने कुरा नै म मान्दिनँ। रुख चिन्हमा चुनाव लड्नेहरूलाई पनि कम्युनिस्ट भन्न सकिन्छ र? रुख चिन्ह र कांग्रेसका पछाडि लाग्नेहरूलाई कम्युनिस्ट, वामपन्थी भन्नु नै व्यर्थ छ। 

दोस्रो कुरा, नेपालमा कम्युनिष्ट आन्दोलन विभाजित छ भन्ने कुरा पनि मान्न सकिँदैन। हामी कम्युनिष्ट हौं, हामी एकतावद्ध छौं। हामी अरु कोहीसँग मिल्नुपर्ने बाध्यता नै छैन।

स्थानीय तहको निर्वाचन हामी शानदार ढंगले जित्दैछौँ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत सुनिश्चित गर्नुपर्ने तिर छौं। त्यसकारण हामीलाई कोहीसँग पनि मिल्नुपर्ने अवस्था छैन। 

तपाईंले यसो भनिरहँदा कताकता माओवादीसँग पुनः वार्ता अघि बढाइयो भन्ने पनि सुनिन्छ नि?
त्यो भनेको एमालेलाई कमजोर पार्नका निम्ति गरिएको भ्रमपूर्ण प्रचार मात्रै हो। त्यसमा कुनै आधार छैन। हामी माओवादीसँग कुनै वार्तामा पनि छैनौं र वार्ता गर्नुपर्ने कुनै आवश्यकता पनि छैन। 

तर, तपाईंकै पार्टीका महासचिवले त केही समयदेखि दुई पार्टी अभ्यासको कुरा उठाइरहनुभएको छ। अहिलेको दृष्य पनि एमाले एकातिर, बाँकी दल अर्कोतिर देखिन्छ। दुई पार्टी अभ्यास भनेको यस्तै हो कि अरु केही भन्नुभएको हो?
अब अहिले त्यतातिर नजाऔँ। मुख्य कुरा चाँहि हामी बहुदलीय लोकतन्त्रमा विश्वास गर्छौं। संविधानसम्मत ढंगले पार्टी खोल्न र चल्न पाउँछन्। नेपालमा धेरै पार्टीबीच प्रतिस्पर्धा गर्ने लक्षणचाँहि भेटिन्न। 

अन्तिममा, स्थानीय तहको निर्वाचनमा एमालेले कतिवटा पालिका जित्ला?
संख्यामा भन्दा पनि प्रतिशतमा मैले अघि नै भनिसकेँ, हामी ६० प्रतिशत स्थानीय पालिका र जनप्रतिनिधि न्यूनतम जित्छौँ। एमाले एक्लैले जित्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .