ad ad

अन्तर्वार्ता


प्रदेश १ मा हामीले गरेको सहमतिबाट सिकेर केन्द्रमा पनि पार्टी विवाद सुल्झाउन सकिन्छ : हिक्मत कार्की

प्रदेश १ मा हामीले गरेको सहमतिबाट सिकेर केन्द्रमा पनि पार्टी विवाद सुल्झाउन सकिन्छ : हिक्मत कार्की

मणि दाहाल
जेठ ३१, २०७८ सोमबार ९:५०,

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की सो प्रदेशमा एमालेको आन्तरिक विवाद मिलाउन सक्रिय छन्। पार्टीका दुई पक्षबीच आपसी समझदारी बनाएर आइतबार प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट निर्वाचित र ओलीसँग निरन्तर निकट रहँदै आएका कार्कीसँग पछिल्लो परिस्थितिबारे नेपालखबरले गरेको संक्षिप्त वार्ताः

तपाईंले प्रदेश १ र वागमतीमा एमालेलाई एकीकृत राख्नका लागि एक एक कदम अघि बढ्यौँ भन्नुभएको छ। प्रदेश १ मा सहमति पनि जुटाउनुभयो। यो कसरी संभव भयो?
मलाई व्यक्तिगतरुपमा पहिलेदेखि नै एमाले र माओवादीबीचको एकता चाहिँ त्यति प्राकृतिक लागेकै थिएन। कार्यगत एकतासम्म ठिकै हुनसक्छ तर पार्टी एकता गरेर जाने समय भएको छैन भन्ने मेरो विचार थियो। हामी दुई नितान्त फरक स्कुलिङबाट आएका थियौं। हाम्रो व्यवहारमा आनका तान फरक छ। सैद्धान्तिक र कार्यनीतिक प्रश्न पनि मिलेका छैनन्। यो हतारो भयो भन्ने थियो। पार्टीको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले फागुन २३ गते दिएको आदेशले दुई पार्टीलाई अलग गर्ने परमादेश जारी गर्‍यो। त्यसप्रति मैले खुशी व्यक्त गरेको थिएँ। त्यसको मतलव पार्टी फुट्दा खुशी भएको होइन। माओवादीसँग कार्यगत एकता र भोलिको संभावना सबै बाँकी नै छ। पहिले जे सोचेको थिएँ त्यहि स्थानमा पार्टी पुग्यो। एमालेबीचको एकता अहिलेको मुलभूत र प्रमुख प्रश्न हो। त्यसलाई हामीले बिगार्नु हुन्न भन्ने थियो। सर्वोच्च अदालतको फैसलापछि पार्टीमा दुई पक्षबीच अस्वस्थ खालको गतिविधि देखियो। त्यसले आमरुपमा पार्टी कार्यकर्ता, मतदातामा एउटा चिन्ता व्यक्त भइराखेको थियो। म पनि चिन्तित थिएँ।

त्यसपछि एमाले एकीकृत राख्न हामीले धेरै प्रयास गर्‍यौं। बाहिरबाट हेर्दा हाम्रो पार्टीमा दुईवटा पक्ष रहेको देखिन्थ्यो। केपी पक्षका सबै सहमत र माधव पक्षका सबै असहत भन्ने बुझाइ रहेको देखिन्थ्यो। त्यो सत्य थिएन। माधव र केपी पक्ष दुवैतर्फ रहेका धेरै साथी आमरुपमा पार्टी एकतावद्ध भएर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। दुवै पक्षको सिद्धान्त र कार्यशैली एउटै छ। कतिपय व्यवहारिक अप्ठ्यारा र नेताहरुबीचको व्यक्तिगत टकराव हो। गाउँले भाषामा भन्दा जुँगाको लडाइँ राम्रो होइन भन्ने कुरामा हामी स्पष्ट थियौं।

प्रयास गर्दागर्दै हामी यस्तो अवस्थामा पुग्यौं कि हाम्रा केही प्रदेश सरकार ढलिसके। अस्वस्थ गतिविधिहरु भए। एकले अर्कोलाई कारबाही गर्ने प्रक्रिया सुरु भयो। राष्ट्रिय सभा निर्वाचनमा हार्‍यौं। प्रदेशको सरकार गुमायौं। यो अवस्थाले हामीलाई अलिकति खिन्न बनायो। यसको अर्थ सधैँ सरकारमा रहनु पर्छ। हामी सधै सरकारमा बस्न वा मन्त्री वा मुख्यमन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्रै जन्मेका हौं भन्ने होइन। तर जनताले हामीलाई दिएको भूमिका र इतिहासलाई सम्मान गर्दै हामीप्रति गरेको मतमाथि नै हामीले कुठाराघात गरिरहेका छौं भन्ने बुझाइ हो।

यस विषयमा प्रदेश सभामा रहेका पार्टीका सांसदहरु, अन्य दलका नेता, पार्टीका अन्य वरिष्ठ नेताहरुबीच संवाद छलफल गरिरहेका थियौं। यसबीचमा हामीले के सहमति गरेका छौं भने सर्वोच्च अदालतको फैसलाले मुलुकलाई चुनावतर्फ जान प्रेरित गर्‍यो भने एकतावद्ध भएर चुनावमै जाने र संसद पुनस्र्थापना भयो भने पनि एकतावद्ध भएर पार्टीको सरकार जोगाएर अघि बढ्ने। यसलाई एउटा सामान्य बटमलाइन जस्तो बनाएका छौं। यस विषयमा कुनै प्रकारको औपचारिक सहमति वा सम्झौता भने गरिएको होइन। तर त्यसरी जान सकिन्छ भन्ने हो। पार्टी बिग्रने, फुट्ने वा सरकार ढाल्ने काममा एक आपसमा नलागौं भन्ने हो। हाम्रो कमिकमजोरीलाई यही रोकौं, छलफल गरौं र अघि बढौं भन्ने प्रकारको अभ्यासमा वागमती र प्रदेश १ मा समझदारी भएको छ। त्यहिअनुसार नीति तथा कार्यक्रम बहुमतले पारित गर्‍यौं। यसले पार्टी एकता र पछिल्लो समय देखिएका समस्या समाधान गर्दै एकतावद्ध भएर अघि बढ्ने आधार तयार गरेको छ। हामी प्रदेशबाट एक कदमअघि बढेका छौं। अहिलेसम्म जेजति कमिकमजोरी भएका छन्, त्यसलाई यहीँ स्थगित गरेर अब एकतावद्ध भएर अघि बढौं भन्ने सन्दर्भमा हामीले व्यवहारिक रुपमै देखाएको यो एउटा घटना हो। प्रदेशको सरकार हाम्रो पक्षमा छ र बहुमत हाम्रो पक्षमा रहेको छ। हामी त्यसलाई ढाल्दैनौं र अघि बढ्छौं। भोलि पार्टीको स्थिति एकताबद्ध हुन्छ र एकतावद्ध भएरै यहाँको नेतृत्व, मन्त्रिमण्डलसहितको विषयमा छलफल गर्छौं। अहिले भएको अवस्थालाई टिकाएर अघि बढौं भन्ने विषयमा हामी सहमत भएका हौं।

HikmatKarki side

केन्द्रका नेताहरुलाई तपाईंले प्रदेशमा हामी एक कदमअघि बढेर करा मिलाएजस्तै तपाईंहरु पनि एक एक कदम पछि फर्केर सहमति गर्नुस् भन्नुभएको छ। त्यो भनेको के हो? अझै प्रष्ट्याइदिनुस् न।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका प्रमुख नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रदेशमा यो आधारमा हामी एक कदम अघि बढेर सहमति गर्‍यौं। अब तपाईंहरु पनि आफ्नो हठ, दम्भलाई त्यागेर एक एक कदम पछि हटेमा मात्रै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन सकिन्छ र तपाईंहरुलाई दिन खोजेको एउटा सन्देश चाँही पार्टी एकताका लागि हो है भन्ने मात्रै हो। अहिले जुन प्रकारले गतिविधि अघि बढेको छ, त्यसबाट एक कदमपछि सर्दा सबै कुरा मिल्नसक्छ भनिएको हो।

केपी कमरेडले केही दिनअघि ६ बुँदे प्रस्ताव ल्याउनु भयो। त्यसमा पार्टीलाई २०७५ जेठ २ कि ३ गतेबाट ब्युँताउने भन्ने सानो प्राविधिक विषयमा मात्रै मतभेद बाँकी छ। केपी कमरेडले त्यसमा जानसक्ने संकेत गरिसक्नु भएको छ। पुरानो कमिटीको बैठक बोलाउने र त्यसलाई पुनः सक्रिय बनाउने, पुरानो कमिटीमा रहेका तर अन्यत्र जिम्मेवारीमा भएका कतिपय साथीको हकमा कार्यदलको माध्यमबाट पुनर्व्यवस्थित गर्ने कुरा आएको छ। जेठ २ कि ३ भन्ने विषयमा अल्झिनु आवश्यक छैन। ३ गते भन्नेले २ गतेमा पुग्नका लागि के गाह्रो हुन्छ र? त्यसैको आधारमा केन्द्रीय कमिटीको बैठक डाकेर अघि बढ्दा हुन्छ। रामबहादुर थापा बादलसहित एमालेमा आउनु भएका साथीलाई र अन्यलाई त्यही बैठकले औपचारिकता दिएर अघि बढ्दा पनि हुन्छ भन्ने छ।

त्यसो हुँदा माधव कमरेडले पनि देउवाको सरकार बनाउनका लागि जुन हस्ताक्षर गर्नु भएको छ त्यसबाट पनि एक कदम पछि हट्नुपर्‍यो। प्रधानमन्त्रीले अदालतमा लगिएको मुद्दा फिर्ताको कुरा गर्नुभएको छ भने माधव कमरेडले पनि पुनर्स्थापनको विषय उठाउनु भएको छ। यी विषय अदालतको मुद्दाको विषय बनेका छन्। यो फिर्ता गर्दा पनि टुंगिनेवाला छैन। राष्ट्रपतिबाट विघटनको सिफारिसलाई सदर गरेर अघि बढेपछि हामीले चाहेर मात्रै संसदको पुनर्स्थपना हुँदैन। बरु हस्ताक्षर फिर्ता हुनसक्छ। तर दुवै कुराको लफडामा किन फस्ने? एउटा बटमलाइनमा समझदारी बनाउनुपर्छ। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्‍याे भने एकतावद्ध भएर पार्टीको सरकारलाई चुनावसम्म टिकाएर अघि बढ्नुपर्छ। विघटनलाई सदर गरे पनि हामी एकतावद्ध भएर चुनावमा जानुपर्छ। त्यो बटमलाइनको आधारमा हामी एकै स्थानमा रहौं भन्ने हो। अदालतको विषयलाई हामीले अनादार गर्नसक्दैनौं।

नवौं महाधिवेशनका बेला नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय निकै बहसमा थियो। पछि रोकियो। लामो समयदेखि पार्टी नेतृत्वमा रहेका नेताहरुलाई अब बिदा दिएर नेतृत्व हस्तान्तरणमा जान सकिँदैन?
यो विषय एकदम ठीक हो। तर अहिले हामीभित्र तीव्र विवाद र झगडा छ। पहिले त्यो झगडा मिलाउनुपर्छ। तिमीहरुलाई बाहिर खेदेर झगडा मिलाउँछौं भन्यो भने त्यसले झगडा मिलाउने बाटो पक्रिँदैन। पहिले सबैका कमी कमजोरीको विश्लेषण गरेर पार्टीलाई एकतावद्ध बनाऔं। त्यसपछि त्यो विषय हामीले भन्नै पर्दैन। त्यहाँ आफै आउनु पर्ने स्थिति बन्छ। केही नेताहरु बोलिरनुभएको छ तर यो बोलाइ केही हतारो भयो कि भन्ने मेरो बुझाइ छ। पार्टी मिलाउन लाग्ने तर तिमीहरुले छाड र मिलाउँछौं भन्ने हो भने छाड्न नमान्ने स्थानमा पनि पुग्नसक्छ। उनीहरु मिलिदिने अवस्थामा पनि पुग्न सक्छन्। आजको काम भनेको पार्टी मिलाउने हो। भोलि तपाईंहरु थान्का बसिदिनुहोस भन्ने हो। हिन्दू अनुष्ठानमा जसरी पूजाआजा गर्दा सुरुमा गणेशको गर्दछौ, त्यस्तै गर्न सकिन्छ। अहिले नै तिमीहरु हट्ने गरी यो पार्टी मिलाउँ भन्दा कसले मान्छ होला र? उल्टै उनीहरु मिलेर हामीमाथि शासन गर्छन्। यो एउटा विवाद मिलाउने समय हो। यतिबेला अर्को विवाद झिक्ने काम गर्नुहुदैन। सबै नेता एमालेमा उभिएर यो मुलुकको समृद्धि र विकासका लागि योगदान हुन्छ भन्ने प्रतिवद्धता भएपछि कसले कुन जिम्मेवारी लिने भन्ने कुरा भोली गरौंला।

प्रदेश १ र वागमतीमा भएका सहमति दिगो हुने आधार छ?
यो दिगो हुनुपर्छ। अर्को विकल्प छैन। यसलाई दिगो बनाउन सकेनौं भने पार्टीलाई समाप्त पारेपछि त्यसको खरानीमा उभिएर हामीले हाम्रो हुँकारको ‘रियलाइजेसन’ गर्ने ठाउँ पनि रहँदैन। धेरै समय बितिसकेको हुनेछ। त्यसले गर्दा सहमतिको विकल्प छैन। वागमती वा अन्यत्रका साथीहरुसँग त त्यति धेरै कुरा गरेको छैन। तर प्रदेश १ का साथीहरुसँग कुरा गर्दा अनौपचारिक सहमति गरेर पार्टी एकतामा जाने विषयले खुशीयाली जागेको छ। कांग्रेससहितको विपक्षी दलले समेत तपाईंहरुको पार्टी एकता हुने कुराले हामी खुशी छांै मिलेर जानुहोस भन्नु भएको छ। एउटा नयाँ प्रकारको माहौल बनेको देखिँदैछ। हाम्रो सहमतिले केन्द्रका नेताहरुलाई दबाब सिर्जना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .