राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरणलाई सहयोग गर्ने निर्णय गरे पनि त्यहाँका प्रदेश सांसदले नमान्दा फरक परिस्थिति बनेको छ।
प्रदेश सांसद कृष्ण थापा र खिमविक्रम शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठवन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका कृष्णचन्द्र पोखरेलको पक्षमा हस्ताक्षर नगर्दा नयाँ सरकार गठनमा हलो अड्केको छ।
जनमोर्चाका २ सांसदले पार्टीको निर्णय नमानेका विषयमा वाशुदेव मिश्रले जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानी :
गण्डकी प्रदेश सांसद कृष्ण थापाले पार्टीको निर्देशन मानेनन्, अब के गर्नु हुन्छ?
सांसद बनाउने पार्टीले भनेको नमाने के गर्छ? तपाईंलाई अलिअलि थाहा छैन, त्यो कुरा? जानि बुझिकन सोध्नुहुन्छ?
पार्टीले गरिहाल्छ। सबैले जानेको कुरा हो, यसमा प्रश्न गर्नै परेन नि। पार्टीले सांसद बनाउँछ। पार्टीको निर्देशन नमान्ने, पार्टी छाडेर बिक्री भएर जानेलाई पार्टीले छाड्छ त्यसै?’
पार्टीले जिल्लाको कुरा बुझेन भन्ने उहाँहरुको गुनासो छ नि?
ए..ए.. त्यसो पो हो त’ हामीभन्दा उनी धेरै जानकार रहेछन् थाहा भयो (व्यङ्ग्यात्मक हाँसो)। ५१ सालदेखि राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो। कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्।
यिनीहरुको हविगत थाहा भयो। यी बिक्री भए। निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे!
त्यस्तो कुरा पनि हुन्छ? पार्टीले सांसद बनाउँछ, नेता बनाउँछ।
पार्टीले भनेको नमान्नेलाई त पार्टीले जे गर्ने हाे गरिहाल्छ नि।
संसारभर कारबाही नै गरिन्छ, यहाँ मात्रै हैन।
तपाईंले गर्ने कारबाहीले संसदको अंकगणितमा फरक पर्छ, कारबाही कहिले हुन्छ?
कारबाहीको पनि प्रक्रिया हुन्छ नि। जिम्बालले पूर्जी काटेजस्तो त हैन नि।
झगडियाको पूर्जी हैन नि। यसको प्रक्रिया होला। स्पष्टीकरणको प्रक्रिया होला।
पार्टीको सम्बन्धित निकायको बैठक बस्नुपर्ने होला। राणा शासन त हैन नि।
उहाँहरुले निहुँ निकालेर गलत नै गर्नुभएको हो त?
तपाईँहरुलाई सोध्छु म! पार्टीले सांसद बनाउँछ, नेता बनाउँछ, पार्टीले भनेको नमानेपछि... हुन त यो जनमोर्चाको मात्रै रोग हैन।
नेपालभरका पार्टी हेर्नुहोस् न, यो पतन हो, यो राष्ट्रको कलंक हो नि।
यो प्रधानमन्त्रीको हेर्नुहोस्, मुख्यमन्त्रीहरुको हेर्नुहोस्। सबै पार्टीको हालत के छ?
अन्य पार्टीमा भएको रोग यता (जनमोर्चा) पनि सर्यो। बनाउने बेला पार्टीले बनाउनुपर्ने? बनेपछि खरिद बिक्री भएर हिँड्ने भएपछि के गर्नुहुन्छ?
तपाईँहरुको इमानमा त प्रश्न थिएन नि?
छवि त थियो तर नहुँदो रहेछ। कहिलेकाहीँ त्यस्ता मान्छे पस्दा रहेछन्।
स्वर्ग देख्ने कि नर्क देख्ने मरेपछि देख्ने त हो। जिउँदै त देखिँदैन।
कृष्ण र खिमविक्रले तपाईंलाई फोन गर्दैनन्?
कहाँ फोन गर्ने उनले? उनले गर्दै गर्दैनन्। उनीहरुले के टेलिफोन गर्ने? तपाईँलाई म प्रश्न गर्छु। कुनै पनि पार्टीले सांसद बनाउन जनताकहाँ गएर कति काम गर्छ!
मेरो मात्र हैन कुनै पनि पार्टीले जिताइसकेपछि पार्टीको नीति नमानेर निजी महत्वकांक्षा पूरा गर्नेलाई पार्टीले छाड्छ?
ठूलै मोहजालमा परेजस्तो छ त?
होला, ठूलै स्वार्थले नगाँजिकन त मान्छे पतन हुँदैन नि।
उसको पतन हुनेको पनि क्षणिक स्वार्थ पूरा हुने हो नि।
दीर्घकालीन रुपले त उसको राजनीतिक जीवन नै बदनाम हुन्छ।
आज हेर्नुहोस् न, टोपबहादुर, रामबहादुर, मणि थापाहरुको के हालत भएको छ?
होला, उनीहरुले सत्तामा जालान्, शक्तिमा बस्लान्, पदमा जालान्, पैसा कमाउलान्। त्यो फरक कुरा हो।
मुख्य कुरा त मान्छेको इमान, इज्जत नैतिकता, नीति हो नि मूल्यवान बस्तु। त्यसैलाई छाडेपछि कसको के लाग्छ?
सर्पलाई दूध खुवाइएछ जस्तो लाग्दैन अहिले?
त्यो त भइरहन्छ। संसार हो, भ्रष्ट हुने, बिग्रने–भत्कने भइरहन्छ।
घर अगाडि फोहर पानीको खाल्डो छ भने मच्छड त आइहाल्छ। यो दुषित राजनीतिको परिणाम हो।
हाम्रो राजनीति कति दुषित छ भने त्यसको प्रभाव हाम्रोमा पनि पर्यो।
तपाईं प्रतिगमन भन्नुहुन्छ, जरा नै गाडेछ कि क्या हो, प्रतिगमनले?
यहाँका नेता त देखा परेका मात्रै हुन्। यहाँ त बाहिरका मान्छे डेरा जमाएर बसेका छन्।
कसलाई भत्काउने, कसलाई किन्ने भन्ने सबै डिजाइन छ। यो दुःखद कुरा हो।
एउटा पार्टी वा व्यक्तिको भन्दा पनि यो राष्ट्रको निम्ति दुर्दशा हो।
यो पनि :
गण्डकी प्रदेश : जनमोर्चाका सांसद थापाद्वारा कांग्रेस नेतृत्वको विपक्षी मोर्चालाई सघाउन अस्वीकार
प्रतिक्रिया