अन्तर्वार्ता


मधेसका ३ जिल्लामा सुरक्षा चुनौती बढी छ, भारतसँग पनि समन्वय गरिरहेका छौँ : डीआईजी थपलिया (भिडिओ)

मधेसका ३ जिल्लामा सुरक्षा चुनौती बढी छ, भारतसँग पनि समन्वय गरिरहेका छौँ : डीआईजी थपलिया (भिडिओ)

मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलिया (फोटो/भिडिओ : सरोज नेपाल जनकपुर)


लोकेन्द्र भट्ट
माघ १८, २०८२ आइतबार १९:१८, जनकपुर

हरेक निर्वाचनमा मधेस प्रदेशलाई सबैभन्दा बढी सुरक्षा चुनौती रहेको क्षेत्रका रुपमा हेरिन्छ। यसको कारण विगतमा भएका घटना र भारतसँगको खुला सिमाना हुन्। त्यस्तै, धार्मिक समूहबीचको विवाद र उम्मेदवारको चर्को प्रतिस्पर्धाले मधेस सधैँ सुरक्षा चुनौतीको केन्द्रमा रहने गरेको छ। 

भारतीय सीमाबाट अवैध रुपमा साना हतियार आयातको जोखिम सधैँ रहने सुरक्षा विश्लेषण छ। यस्तै नेपालमा आपराधिक घटना घटाइसकेपछि लुक्न जाने स्थान पनि भारत नै बन्दै आएको छ। यसपटक केही स्थानमा उम्मेदवारकै कारण पनि चुनौती थपिएको सुरक्षाकर्मीको बुझाइ छ। ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र रहेका मधेसका सर्लाही, रौतहट र सिरहालाई यसपटक बढी सुरक्षा चुनौती रहेको जिल्लाका रुपमा लिइएको छ। 

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, नयाँ र पुराना राजनीतिक दलहरूको मतभेदजस्ता कुरा पनि समग्र सुरक्षा चुनौतीका विषय बनेका छन्। लुटिएका हतियार र फरार कैदीबन्दीको समस्या अन्य जिल्लामा जस्तै मधेसमा पनि रहन्छ नै। मधेसका सुरक्षा चुनौती र त्यसको सामना गर्ने सुरक्षा निकायको तयारीबारे मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग नेपालखबर इलेक्सन एक्सप्रेस टिमले जनकपुरमा गरेको संवाद :

सुरक्षा दृष्टिले मधेस संवेदनशील क्षेत्र हो। यहाँको चुनावी सुरक्षा रणनीति कस्तो छ? 
प्रतिनिधि सभा निर्वाचन सुरक्षाको लागि एकीकृत सुरक्षा योजना तयार भइरहेको छ। नेपाल सरकारले नै एकीकृत निर्वाचन सुरक्षा योजना २०८२, तयार गरेर जारी गरेको छ। त्यसै अन्तर्गत हामीले प्रदेशस्तरीय एकीकृत सुरक्षा योजना तयार गरेका छौँ। 

मधेस प्रदेशका ८ वटै जिल्लाहरूले पनि आआफ्नो जिल्लाको समग्र शान्ति सुरक्षा र त्यसमा हुने चुनौतीहरूलाई विश्लेषण गरेर सुरक्षा योजनाहरू तयार गरेका छन्।

यहाँ चुनावसँग सम्बन्धित सुरक्षा चुनौती चाहिँ के हो? अनि, तयारी कसरी अगाडि बढिरहेको छ?
अहिलेको जुन निर्वाचन छ, यो विगतको भन्दा अलिकति फरक प्रकृति, फरक परिवेशमा गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। त्यसको पृष्ठभूमिलाई मध्यनजर गरेर अहिले आम नागरिकले अपेक्षा गरेका कुराहरू र भोलि निर्वाचनपश्चात त्यसको परिणाम आइसकेपछि सुरक्षामा असर पार्ने अवस्थालाई समेत हामीले मध्यनजर गरेका छौँ। 

पुरानो र नयाँको बीचमा अलिक प्रतिस्पर्धाको अवस्था हुन्छ। एउटा त्यो छ चुनौती। अनि अर्को चाहिँ विभिन्न धार्मिक विवादहरू पनि विभिन्न ठाउँमा यो निर्वाचनपूर्व देखिएका छन्। उम्मेदवारहरूले पनि धार्मिक एजेन्डा लिएर अगाडि बढेको अवस्था केही जिल्लाहरूमा छ। त्यसलाई पनि हामीले सुरक्षा चुनौतीका रुपमा लिएका छौँ। यसबाहेक विभिन्न राजनीतिक दलबीच हुने तीव्र प्रतिस्पर्धा, राजनीतिक पृष्ठभूमि, उहाँहरूको जुन व्यक्तिगत व्यवहार, पार्टीगत व्यवहार लगायत कार्यकर्ताबाट हुने चुनौतीहरूलाई पनि हामीले विश्लेषण गरेका छौँ।

त्यसबाहेक अरू समग्रजस्तै जेनजी आन्दोलनपश्चात हातहतियार लुटिएका छन्। कारागारबाट फरार कैदी बन्दीको कुरा छ। मधेसमा खुला सिमानाका कारण घुसपैठ हुन सक्ने अवस्थालाई पनि हामीले विश्लेषण गरेका छौँ। यी सबै विषयलाई हामीले सुरक्षा योजनामा समावेश गरेका छौँ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा फौज संयुक्त रूपमा परिचालन गर्छौँ। 

त्यसमा पनि अहिले निर्वाचनपूर्वको चुनौतीलाई छुट्टै हिसाबले विश्लेषण गरिएको छ। आठ वटै जिल्लामा चारचार वटा निर्वाचन क्षेत्र रहेका छन्। यहाँको सामाजिक, आर्थिक, भौगोलिक अवस्था, त्यहाँको राजनीतिक प्रतिस्पर्धा, त्यहाँ हुन सक्ने धार्मिक लगायत विषयहरूलाई समेत समेटेर हरेक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै सुरक्षा चुनौतीहरूलाई त्यसरी नै विश्लेषण गरेर सुरक्षा योजना तयार गरिएको छ। त्यही अनुसार सुरक्षा फौज थप परिचालन गर्नेदेखि लिएर हामीले सादा पोसाकमा पनि प्रहरी कर्मचारी खटाएका छौँ। निर्वाचनको दिनलाई पनि त्यसरी नै तयारी गरेका छौँ।

मधेसका ३२ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी संवेदनशील क्षेत्र कुन हो?  
संवेदनशील क्षेत्रहरू विभिन्न छन्। जस्तो विगतमा भएका प्रतिस्पर्धा, विगतमा भएका घटनाक्रमहरूलाई हेरिएको छ र अहिले ती निर्वाचन क्षेत्रमा सहभागी हुने उम्मेदवारको पृष्ठभूमि र ती निर्वाचन क्षेत्रहरूमा अहिले नयाँ किसिमका विवादहरू छन्। धार्मिक विवादका कारण पर्न सक्ने चुनौतीहरू र खुला सिमानाका कारणले पारिबाट आउन सक्ने थ्रेटहरू आकलन गरेर त्यो सुरक्षा चुनौतीहरू यहाँ विश्लेषण गरिएको छ। 

यसरी हेर्दाखेरि तीन वटा जिल्लामा अलिक बढी सुरक्षा चुनौती देखेका छौँ। जस्तो विगतका पृष्ठभूमिले पनि सर्लाही, रौतहट र सिरहामा जिल्लाहरू अलिकति चुनौतीपूर्ण मानेका छौँ। ती जिल्लाहरूमा तीव्र प्रतिस्पर्धाको अवस्था छ। त्यसकारण पनि चुनौती अलि बढेको हामीले महसुस गरिरहेका छौँ। 

अरू जिल्लाहरूमा पनि चुनौती छन्, अरूमा नहुने हैन। हाम्रो प्रदेशमा एक हजार २८ उम्मेदवार हुन्। त्यसमध्ये ५५५ जना स्वतन्त्र छन्। पचास प्रतिशत दलका नभई स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवार कतिपय अर्का उम्मेदवार लक्षित छन्, जसले कुनै विवाद सिर्जना गर्ने अथवा निर्वाचनलाई बिथोल्न सक्ने आशंका पनि हामीले गरेका छौँ। ती उम्मेदवारलाई छुट्टै हिसाबले निगरानी गरिरहेको अवस्था छ।

सुरक्षा संवेदनशील क्षेत्र भनेर तय गरेका र सामान्य भनिएका क्षेत्रहरूमा सुरक्षा प्रबन्धमा के फरक हुन्छ? 
अति संवेदनशीलमा सुरक्षाका सम्पूर्ण साधनहरू प्रयोग गरिरहेका हुन्छौँ। 

प्रविधि, प्राविधिकदेखि लिएर त्यसमा सुरक्षा फौज पनि बढी मात्रामा तैनाथ हुन्छ। सबै सुरक्षा निकायले उत्तिकै चासोका साथ काम गरिरहेको हुन्छन्। सादा पोसाकमा सूचना सङ्कलन व्यापक रूपमा गरिएको हुन्छ। ती क्षेत्रमा गस्ती गर्ने, चेकजाँचहरू तीव्रतासाथ गरिएको हुन्छ। 

खुला सिमानाले चाहिँ यो चुनावमा प्रभावित गर्न सक्ने, सुरक्षामा चुनौती थप्न सक्ने सम्भावना कस्तो छ? 
खुला सिमानाको कारणले सुरक्षामा हुने सक्ने भएको एउटा पारिपट्टिबाट हातहतियारहरू, विस्फोटक पदार्थहरू ल्याउन सक्ने सम्भावना भयो। र यहाँ कुनै घटना घटाएर तुरुन्त भाग्न सक्ने सम्भावनाहरू हुन्छन्। अर्को भनेको यहाँ चुनावको दिन त्यस्तै गतिविधि गर्ने हिसाबले उताका मान्छेहरू यहाँ घुसपैठ हुन सक्ने सम्भावनाहरू पनि हुन्छ। त्यसकारण यस्ता विषयहरूलाई हामीले चुनौतीको रूपमा लिएर भारतीय समकक्षीसँग पनि समन्वय गर्ने, मिटिङ गर्ने काम भइरहेको छ।

भारतका सुरक्षाकर्मीको सहयोग कस्तो छ?
भइराखेको छ। 

अहिले तत्कालै कुनै समस्या आएको छ?
अहिलेसम्म त्यस्तो केही पनि समस्या आइसकेको अवस्था छैन। हामीले भोलिका दिनमा हुन सक्ने अथवा विभिन्न परिवेशले गर्दाखेरी त्यहाँ सिर्जना हुन सक्छ कि भनेर पूर्वसतर्कता मात्रै हो। अहिलेसम्म त्यस्तो अप्रिय कहीँकतै केही पनि छैन। 

सबै एकदम शान्तिपूर्ण, सहज रुपमा गइरहेको अवस्था छ। 

जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हातहातहतियार र भागेका कैदीबन्दीहरूको सन्दर्भमा यहाँ कस्तो स्थिति छ? 
मधेस प्रदेशका धेरैजसो हामीले नियन्त्रणमा लिइसकेको अवस्था छ। मधेस प्रदेशबाट भागेका कैदीहरू ११४५ जना थिए। त्यसमध्ये अब तीन सयको हाराहारीमा बाँकी छन्। तिनीहरूलाई पनि हामीले खोजी गरिरहेका छौँ। दैनिक नियन्त्रणमा लिने काम भइरहेको छ। 

हातहतियारको हकमा हामीले सबै फिर्ता गरिसकेका छौँ। जस्ता चुनौती देखिन्छन्, त्यही अनुसार सुरक्षा योजना बदलिन्छ र नियन्त्रण गरिन्छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad